उत्पीडनहरू साटासाट

२०७५ चैत २ शनिबार ०७:५७:००

यति निर्दयी नबन,
यति बैगुनी नहोऊ,
तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरू साटासाट गरौँ
                          – पारिजात/मानुषी

‘पुरुष मुक्ति कसरी ?’
कवि सीमा आभासजीले भनेझैँ धेरैजसो मानिसको टाउको रन्थनाउने खालकै छ यो प्रश्न । झट्ट प्रश्न सुन्दा ‘महिला मुक्तिको सवाल नै हल नभइसकेको वेला कहाँबाट पुरुष मुक्तिको प्रश्न उठ्यो’ भन्ने सोधाइ दिलदिमागमा उठ्नु अनौठो पनि होइन । खासमा टाउकोले टेक्दै आएको प्रश्नलाई खुट्टाले टेकाइएको मात्रै हो, पुरुष–केन्द्रित संरचना, सम्बन्ध र संस्कृतिबाट उत्पीडित महिलाको मुक्तिका लागि । यो प्रत्येक व्यक्ति, परिवार, समाज र राज्यलाई मानवीय र लोकतान्त्रिक बनाउने लक्ष्यका साथ नयाँ बहस थालनी गर्ने काँकडभिट्टाको प्रश्न हो ।

मेरो ठम्याइमा महिलाको मुक्ति भनेकै पुरुषको पनि मुक्ति हो, महिला–पुरुष दुवै लिंगीका लागि समता हो, आत्मसम्मान र परस्पर सम्मान हो, सहअस्तित्व र सद्भाव हो । महिलाको मुक्तिको संघर्ष पुरुषविरुद्ध लक्षित छैन, लक्षित हुनु पनि हुँदैन, बरु पुरुषको वा एउटा लिंगको सत्ताविरुद्ध केन्द्रित छ, हुनुपर्छ । त्यसैले पुरुषलाई सत्ता, शक्ति, सम्पत्ति, शास्त्र, सूचनाको केन्द्रमा राख्ने संरचना, सम्बन्ध र संस्कृतिलाई फेर्न क्रियाशील हुनुपर्छ महिला मुक्तिका पक्षधरहरू । उनीहरूलाई थाहा हुनुपर्छ– कुनै एउटा मात्रै लिंगलाई मालिक बनाउने संरचना, सम्बन्ध र संस्कृतिलाई बदल्न खोज्नुको मतलब अर्काे लिंगका मानिसहरू ‘नयाँ मालिक’ बन्नु कदापि होइन । 

त्यसैले यस्तो समतामूलक संघर्ष कुनै एउटा लिंगको मात्रै सरोकार र दायित्वको विषय पनि हुन सक्दैन । त्यसैले यो महिला र पुरुष दुवै लिंगका समताप्रेमी मानवहरूको समन्यायिक आन्दोलन हो । त्यसैले यस्तो आन्दोलन गर्ने संगठनलाई महिलाहरूको मात्रै सदस्यता र सहभागितामा सीमित गर्नु, पार्टीविशेषको भगिनी संघका रूपमा मात्रै खुम्च्याउनु उचित होइन । 

महिलाको अगुवाइमा हुने समतामूलक संघर्षले कुनै एउटा मात्रै लिंगलाई मालिक बनाउने संरचना, सम्बन्ध र संस्कृतिलाई बदल्ने लक्ष्य लियो भने महिलाको मात्रै मुक्ति हुने होइन । त्यसले लैंगिकताको आधारमा सत्ता, शक्ति, सम्पत्ति, शास्त्र, सूचनामाथि प्रभुत्व र वर्चस्व राख्ने पुरुषलाई पनि मुक्त गर्छ । महिला वा कुनै पनि उत्पीडित वर्ग, वर्ण, तह र तप्काका मानिसले आफूलाई मुक्त गर्ने खालको संघर्ष त चलाउनैपर्छ । तर, उनीहरूको दायित्व यत्तिमै सीमित हुनु उचित होइन, सीमित भयो भने उनीहरू वा अरू कोही नयाँ उत्पीडक बन्ने खतरा हुन्छ । त्यसैले ब्राजिलका चिन्तक पाउलो फ्रेरेले भनेझैँ उत्पीडितहरूको काँधमा दोहोरो दायित्व हुन्छ, एक– आफूलाई मुक्त गर्नु, दुई– आफूसँगै उत्पीडकहरूलाई मुक्त गर्नु । 

यसका लागि मुक्तिदायी संघर्षले कसै न कसैलाई मालिक बनाउने संरचना, सम्बन्ध र संस्कृतिलाई त बदल्नैपर्छ, अर्काे कुनै मध्यमार्ग छैन । यसरी बदल्न सकियो भने मात्रै कोहीसँग उत्पीडन गर्ने शस्त्र–अस्त्र नै बाँकी हुँदैन । यसबारे बुझ्न सजिलोका लागि उदाहरण दिऊँ, दाँत र नंग्रा झिकियो भने बाघ पनि अहिंस्रक र शाकाहारी हुन बाध्य हुन सक्छ । यसको मतलब हो– जजसको आधारमा उत्पीडन हुँदै आएको छ, ती आधार समाप्त पारियो भने उत्पीडकको पनि मुक्ति सम्भव हुन्छ, उत्पीडनको सम्बन्ध असम्भव हुन्छ । र, उत्पीडकहरूलाई पनि मानवीय र लोकतान्त्रिक बन्न प्रेरित गर्ने संस्कृति फैलाउँदै जानुपर्ने हुन्छ । 

नेपालको विशिष्ट सामाजिक–राजनीतिक सन्दर्भमा हामी अधिकांश पुरुष वर्णव्यवस्था र त्यससँग गाँसिएको पितृसत्ताका सिकार छौँ, हामीहरूभन्दा बेसी पीडित छन् महिलाहरू ।

नेपालको विशिष्ट सामाजिक–राजनीतिक सन्दर्भमा हामी अधिकांश पुरुष वर्णव्यवस्था र त्यससँग गाँसिएको पितृसत्ताका शिकार छौँ, हामीहरूभन्दा बेसी पीडित छन् महिलाहरू । हामी दुवै लिंगका मानिसहरू एकसाथ तीन हजार वर्ष पुरानो हिन्दू सामन्तवादका ती दुवै व्यवस्था र सत्तासँगै एक्काइसौँ शताब्दीको पुँजीवादका उत्पीडन र स्वतन्त्रता पनि भोग्दै छौँ, सामन्तवाद र पुँजीवादको मिश्रित थिचोमिचो पनि । पक्कै पनि अन्तद्र्वन्द्वको कारण महिलालाई पुरुषको स्वामित्वको वस्तु बनाउने र घरेलुकरण गर्ने पुरानो व्यवस्था, सत्ता र संस्कृतिमा परिवर्तन आएको छ, स्वतन्त्र र सम्मानित मानिस बन्न नदिने एवं नयाँ ढंगले वस्तुकरण र प्रभुत्व–वर्चस्व कायम गर्ने क्रम पनि जारी राखिएको छ । 

यसले केही वर्ष, केही शताब्दी, केही सहस्राब्दीसम्म पुरुषलाई, विशेषतः अभिजात्य वर्गका शासक मर्दलाई, मर्दवादीहरू पितृसत्तालाई सत्ता–शक्ति–सम्पत्ति–शास्त्र–सूचनामा एकाधिकार, एकाधिकारको सुखभोग, त्यसबाट सुखानुभूति पनि देला, तर त्यसले उनीहरूलाई पनि त्यसबाट मुक्त मानव वा मानवीय र लोकतान्त्रिक मान्छे बन्न दिँदैन । अरूलाई अमानवीय उत्पीडन गर्दै, त्यसमा कुनै न कुनै रूपमा सहभागी वा निस्पृह दर्शक हुँदै, त्यस उत्पीडनको उपलब्धि पनि उपयोग र उपभोग गर्दै कसरी कोही व्यक्ति मानवीय र लोकतान्त्रिक मान्छे बन्न सक्छ ? यो खासमा परपीडन र परतन्त्रताकै दुश्चक्र हो, जसले महिलालाई मात्रै होइन, पुरुषलाई न्याय, स्वाधीनता र समताको आनन्द उपभोग गर्न दिँदैन । 

त्यसैले सबै लिंगका व्यक्तिको समग्र मुक्तिका लागि महिला र पुरुषले एक–अर्कासँग होइन, साथसाथ लड्नुको विकल्प छैन । खासमा सबैभन्दा उत्पीडित वर्ग, वर्ण, लिंगका मानिसहरूले त उत्पीडकहरूलाई पनि मुक्त गर्नु जरुरी छ । जो–जो न्याय, स्वाधीनता र समताका पक्षधर पुरुष छन्, संघर्ष र मुक्तिको बाटोमा उनीहरूले सबै उत्पीडित वर्ग, वर्ण, लिंगका मानिससँग हातेमालो गर्न सके, बाटोमा हिँड्दै आफूलाई पनि फेर्दै जान सके, आफूलाई पनि मानवीय र लोकतान्त्रिक बनाउँदै जान सके मात्रै परिवार, समाज, राज्य पनि मानवीय र लोकतान्त्रिक बन्छन् कि ?