मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सीमा आभास
२०७५ चैत २ शनिबार ०७:५५:००
Read Time : > 10 मिनेट
ब्लग

पुरुषको मुक्ति कसरी ?

Read Time : > 10 मिनेट
सीमा आभास
२०७५ चैत २ शनिबार ०७:५५:००

सामाजिक, सांस्कृतिक विषय र कला–साहित्यमाथि व्यापक बहस सुरु हुन थालेका छन् । खासगरी, साहित्यिक महोत्सवले यस्ता बहसलाई स्थान दिइरहेको छ । रिडर्स झापाले तीनदिने साहित्यिक महोत्सवको चौथो शृंखला भर्खरै सक्यो । कविता वाचनसहित २० वटा विभिन्न शीर्षकमा बहस भयो । त्यसमध्येको नयाँ बहसको शीर्षक थियो– ‘पुरुषको मुक्ति कसरी ?’ यो बहसको विषय नौलो थियो । साथै, यस विषयमा बोल्न चुनौती पनि थियो । बहसमा वक्ताका रूपमा प्रणिका कोयू, आहुति र म थियौँ । भावना ओलीले मोडरेड गरेको उक्त बहस रोचक थियो । 

भावनाको ‘के पुरुष मुक्त छैनन् ?’ भन्ने प्रश्न एक हिसाबले अमूर्त थियो । तथापि, बहसका लागि सही प्रश्न थियो । लेखक, चिन्तक आहुतिले उक्त प्रश्नको जवाफ यसरी दिएका थिए, ‘प्रत्यक्ष रूपमा महिला बढी उत्पीडित देखियो । तर, सिंगो मानवतालाई हेर्दा सिंगो पुरुषको प्रगतिलाई अवरोध गरेको छ ।’ पुरुष सत्ताले महिलालाई हरेक कोणबाट डामेर नीलडाम पारेको छ । पुरुषवादले त्यो अत्याचार गर्नका लागि पुरुषलाई प्रयोग गर्छ । गणतन्त्र आइसकेपछि बादशाहको पनाति अत्यन्त पीडित भएको कुरा आफ्ना कवितामा लेखेको प्रसंग कोट्याउँदै आहुतिले भने, ‘राजा–महाराजालाई सुखी छन् भनेर हेर्ने जुन दृष्टिकोण छ, त्यो मान्छेको जीवनको सुन्दर पक्ष श्रमसँग गाँसिएको छ । तर, श्रमलाई नभोगी उनीहरूको जीवन सकिन्छ । साथै, अरूलाई अत्याचार नगरी बाँच्नुपथ्र्यो मानवले । त्यो अवसरबाट राजा–महाराजा वञ्चित हुन्छन् ।’ उनले पुरुष पनि पीडित हुन्छन् भन्ने प्रसंगलाई लक्षित गरेका थिए ।

पितृसत्ताविरुद्धको घनघोर आवाजलाई संकेत गर्दै प्रणिका कोयूले भनिन्, ‘छोरीले बाबु या परिवारका सदस्यसँग संयमित भएर बोल्छन् । कतै त्यो संयमताभित्रको ठूलो आँधीको संकेत त होइन ? ज्वारभाटाअगाडिको सन्नाटा संयमता होइन ।’ ‘महिला आन्दोलन र महिला आवाजलाई अवधारणासँग जोड्नुपर्छ । विदेशी नारीवादीले तयार पारेका अवधारणा पढेर तिनीहरूको जगमा टेक्दै विचार दिनुपर्छ’ भन्ने आशय आहुतिले व्यक्त गरेका थिए । त्यो त ठीक हो । तर, नेपालमा लगभग ४४ प्रतिशत महिला मात्र शिक्षित छन् । त्यसमध्ये आफ्नो आवाज उठाउन सक्ने, पितृसत्तासँग मुकाबिला गर्न सक्ने महिलाको संख्या नगण्य नै छ । पहिले ‘महिलालाई पढायो भने ती पोइल जान्छन्,’ ‘महिला अर्काका सम्पत्ति हुन्’ भनेर व्याख्या गरिन्थ्यो । बल्ल केही महिलाले हातमा कलम लिएर पितृसत्ताविरुद्ध बोल्ने आँट गर्दै छन् । तिनीहरू बल्ल आवाज उठाउने साहस गर्दै छन्।  

हामी अरूले तयार पारेको अवधारणाको जगमा टेकेर बोल्ने अवस्थामा यद्यपि छैनौँ । हाम्रा आफ्नै भोगाइ, देखाइ र गराइहरू अवधारणाभन्दा मजबुत छन्् । हामीलाई सार्वजनिक कार्यक्रममा सोध्ने गरिन्छ– लोग्नेलाई त पेल्छेस् होला ! त्यति राम्रो कपाल किन काटेकी ? तेरो लोग्ने त महान् हो, यसरी हिँड्न बोल्न दिन्छ ! आज त निक्कै राम्री देखिएकी छस् ! आज किन फुंग उडेको जस्तो देखिएकी, एउटा टीको त लाउनु नि नोर नै उज्यालो देखिन्थ्यो !

प्रश्न सोध्नेहरू यस्ता प्रतिक्रियाले कति नकारात्मक असर पार्छ भन्ने आँकलन नै गर्दैनन् । कार्यक्रममा एउटा लक्ष्य बोकेर गइएको हुन्छ, बेप्रसंगका प्रश्नको सामना गर्नुपर्छ । घरबाट निस्कनेलाई यस्तो प्रश्न गरिन्छ– ‘निस्कन चाहनेहरू, तर निस्कन नपाउनेहरूको अवस्था के छ ?’ नेपालको पूर्वी सिमाना काँकडभिट्टाबाट पुरुष मुक्तिको आवाज उठेको छ । यसले पक्कै पनि निरन्तरता पाउला । आशा गरौँ, पुरुष स्वयंले पुरुष मुक्तिका कुरा उठाउलान् । 

पुरुष मुक्तिको बहस नारी मुक्तिको गर्भबाट जन्मिएको हो । पुरुष मुक्ति नारी मुक्तिको अर्को हाँगा हो । दिन र रातको अन्योन्याश्रित सम्बन्ध भएजस्तो नारी मुक्ति र पुरुष मुक्ति एकअर्काका पूरक अवधारणा हुन् । पुरुष मुक्तिको बहस उठ्नु जरुरी थियो । उठ्यो । रिडर्स झापालाई धन्यवाद ! हामीले बुझेअनुसार, मुक्त हुनुपर्ने नारी हो । नारी अधिकारका कुरा नारीले गर्ने हो । तर, पुरुष मुक्त हुनुपर्छ । पुरुष अधिकारका कुरा उठाउनुपर्छ भनेर कमै बहस गरियो । महिलाले महिला अधिकारका कुरा उठाउँछन् । आमपुरुषहरू जंगिन्छन्– ‘नारीवाद भनेको पुरुषविरुद्धको आवाज हो ।’ यो भ्रम हुर्किरहेको थियो । यो भ्रम चिर्नका लागि पनि पुरुष मुक्तिको बहस चाहिएको थियो । बल्ल सुरु भयो । 

पुरुषहरूलाई पितृसत्ताले एउटा दम्भ स्थापित गराइदिएको छ– रुनु हुन्न, पीडा पोख्नु हुन्न, पराक्रम देखाउनुपर्छ, नारीको संरक्षक हुनुपर्छ । र, पुरुषलाई नारी–संरक्षककै भूमिकामा उभ्याइदिएको छ । कमाएर खान–लाउन दिने, धार्मिक र कानुनी परिचय दिने, सुरक्षा दिने दाताको भूमिका पुरुषलाई नै बहन गर्न लगाएको छ । पुरुष मुक्तिका अवधारणा उठ्दै जाँदा सबैभन्दा पहिला पुरुषमाथि बन्देज लगाइएका केही नियम भत्किनुपर्छ । पुरुषहरू क्वाँक्वाँ रुन सकून्, स्वास्नीले दुःख दिई भने पञ्चभलाद्मी बोलाएर बक्न सकून्, कमसेकम आइमाई रोएझैँ सार्वजनिक स्थानमा रुन सकून् । यसरी रुन मात्र सके भने पनि आइमाईप्रतिका कुण्ठा आँसुमा बग्थे । ती  कुण्ठा अमानवीयजस्ता लाग्ने थिएनन् । आइमाई बोल्दा मात्र पनि अनावश्यक जंगिने थिएनन् ।  

त्यति मात्र होइन, जसरी स्वास्नीले लोग्नेलाई चिया–भात–पानी दिन सक्छे, लोग्नेका लुगा धुँदा र पट्याउँदा गर्व गर्छे– त्यसैगरी, स्वास्नीका लुगा धुँदा, पट्याउँदा, चिया–भात–पानी दिँदा गर्व गर्न सकून् । पुरुषहरू स्वास्नीको कमाइमा गर्व गर्न सकून् । पुरुष मुक्तिका अवधारणा क्रमशः बन्दै जालान् । बृहत् छलफल र बहसबाट नयाँ विषय र पुरुषका दुःख आउँदै जालान् । पुरुषले खेपेका दुःख सहजसँग भन्न सक्ने वातावरण पनि बन्दै जाला । सामाजिक सरोकार र राज्यको ध्यान खिच्ला । ती विषय हामीले सार्वजनिक चासोमा बहसमा ल्याउँदै जानुपर्छ ।हिजोका दिनमा महिला घरभित्र मात्र थिए । उनीहरूको कामले आर्थिक आम्दानी गर्दैन थियो । अहिले महिलाहरू आर्थिक आम्दानीका काम गर्न थालेका छन् । यथावत् रूपमा घरको काम पनि गरिरहेका छन् । 

महिलाले पुरुष सोसरह बाहिरको पनि काम गर्ने भए । घरको पनि काम गर्ने भए । केही महिला पूर्ण रूपमा आफैँमा निर्भर रहने भए । तर, पुरुषलाई पितृसत्ताले रोपिदिएको दम्भ छ । त्यो दम्भभित्र ठूलो सकस छ– कुचो लगाउनु, लुगा धुनु, भाँडा माझ्नु, पकाएर खुवाउनु मर्दहीन कर्म हो । मर्दले यी कुनै काम गर्ने होइन । मर्दले कमाउने हो । पालनपोषण गर्ने हो । मर्दको काम जनानाले गरेपछि जनानाको काम मर्दले गर्नु पर्दैन ?पितृसत्ताकै खाँबो समातेर बस्नु त भएन नि । 

हरेक क्षेत्रमा अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको अवधारणा ल्याएपछि महिलाहरूलाई बाहिर आउन अलिक खुकुलो भयो । कुल जनसंख्याको झन्डै ५२ प्रतिशत महिला संख्या छ । आधाभन्दा बढी जनसंख्यालाई जम्मा ३३ प्रतिशत कोटा अनिवार्य भयो । आनुपातिक रूपमा कोटा कम हो । तथापि, समावेशी कोटा राखेपछि केही महिलाहरू सार्वजनिक निकायमा प्रवेश गर्ने मौका पाएका छन् । यसले पितृसत्ताको एकाधिकारलाई धेरथोर तोडेको छ । 

समय परिवर्तन भयो । जागिर खाने श्रीमान्का अधिकांश श्रीमतीले श्रीमान्लाई खाना, चिया, पानी तयार पारिदिन्छन्् । अब त्यही प्रकृतिको काम गर्ने श्रीमतीलाई श्रीमान्ले त्यसरी सहयोग गर्न तयार छन् ? यो प्रश्न मेरो एकजना पुरुष साथीलाई सोधेकी थिएँ । उसले भन्थ्यो, ‘म श्रीमतीका लुगा धोइदिन्छु । भात पकाउँछु । भाँडा माझ्छु । तर, घरबाहिरको धारोमा बसेर धुन सक्दिनँ । छिमेकीले देख्ला भन्ने डर लाग्छ । भित्र धोए पनि बाहिर लगेर श्रीमतीका लुगा सुकाउन सक्दिनँ ।

छिमेकीले कतै न कतैबाट देख्ला भन्ने लाग्छ । साथीभाइलाई सुनाउँदिनँ । जिस्काउलान् भन्ने धक लाग्छ । भात पकाएर भाँडा त माझ्छु । तर, घरपरिवार वा कोही नहुँदा मात्र । अरूका अगाडि गर्न सक्दिनँ ।’ श्रीमतीप्रति उदार । श्रीमतीलाई सम्मान गर्ने । हामी बराबर हौँ भन्ने चेतना भएको पुरुषको प्रतिनिधि भनाइ हो । घरका काम मिली–मिली गर्नुपर्छ भन्ने थाहा छ । तर, छिमेकीले देख्ला भनेर डराउँछ । परिवारका अगाडि जोइटिंग्रे हुन धकाउँछ । त्यो पुरुषको आफ्नै बाध्यता छ । 
उसका थाप्लामा पितृसत्ताको जाँतो घप्लक्क बसेको छ । ऊ पितृसत्ताबाट उम्कन पनि सक्दैन । पितृसत्तालाई नकार्न पनि खोज्छ । अब पुरुषभित्र क्रान्ति चाहिएको छ । पुरुष मुक्तिका अवधारणा चाहिएको छ । 

घरभित्रको काम अर्थसँग जोडिँदैन । घरको काम गरेबापत पदोन्नति पनि हुँदैन । घरभित्रको कामलाई ‘काम’ को परिचय दिइएको छैन । क्षमता र अवसर पाएसम्म महिलाहरू पनि बाहिरकै काम गर्न रुचाउँछन् । आफ्नो मिहिनेतलाई अर्थसँग जोड्न चाहन्छन् । घरलाई घरजस्तो बनाउन आर्थिक हैसियत सप्रिएर मात्र हुँदैन । घरभित्रको ‘गुह्य धन्दा’ कामकाजी महिलाले मात्र गर्न अब भ्याउँदैनन् । हिजो बाहिरी समाज पुरुषको एकलौटी थियो । घरको काम महिलाको मात्र थियो । अब पुरुषले घर र त्यसभित्रका ‘गुह्य धन्दा’ लाई पनि आफ्नो ठान्ने साहस राख्नुपर्छ । 

बाहिरी संसारमा महिलाले निस्कनु थियो । क्रान्तिको बिगुल फुकेर ढोकाका संघारहरू नाघेका छन् । आफ्नो चासो र क्षमताअनुसार बाहिरी क्षेत्रमा आए । यो पितृसत्ताविरुद्धको कदम हो । महिलाहरू घरभित्रका आर्थिक हैसियत नहुने कामले थाकेका छन् । उनीहरूको काँध गलेको छ । महिलाले झैँ पुरुषहरूले पितृसत्ताविरुद्धको क्रान्ति गर्न सक्ने कि नसक्ने ? महिलाले बहन गरेका कामहरू उदारपूर्वक पुरुषले गर्ने कि नगर्ने ? 

पुरुषहरूसँग आफ्नो जात छ । आफ्नो गोत्र छ । आफ्नो वंश छ । आफ्ना पुर्खा छन् । आफ्नो धार्मिक परिचय छ । आफ्ना पितृ छन्् । पूर्ण नागरिक छन्् । समाजका तमाम नियमकानुन उनीहरूको पुरुष स्वाभावसँग मेल खान्छ । समाजको अधिकांश संरचना पुरुष शारीरिक बनावटलाई सहज हुने खालका बनाइएको छ । जन्मजात समाजका नियमको हाकिम बन्न पाउँछन् । यी तमाम विषय विवाहसँग जोडिएर आउने हुन् । 

महिलासँग के छ ? माथि उल्लेख गरेका ती कुनै पनि विषय अहिले पनि महिलासँग छैन । जात फेरिन्छ । गोत्र फेरिन्छ । धर्म फेरिन्छ । पितृवंश जस्तै मातृवंश छैन । स्त्रीहरू पूर्ण नागरिक छैनन् । तमाम नियम कानुनका हाँगाबिँगाहरू स्त्रीका अंगअंगमा आएर धसिन्छन् । अनि स्त्रीलाई कमजोर भनेर व्याख्या गरिन्छ । शरीरलाई हेरेर धर्मले अपवित्र, अपूर्ण भन्छ । कानुनले दोस्रो दर्जा दिन्छ । धर्म र कानुनले स्त्रीजातिलाई उनीहरूकै शरीरभित्र बन्धक बनाउँछ । 

हिजोका दिनमा महिलाहरू उल्लिखित कुरा पत्याउँथे । अब प्रश्न गर्छन् । जब प्रश्न गरिन्छ, त्यो प्रश्नसँगै जवाफ हुन्छ– ‘स्थापित मान्यता अस्वीकृत छन् । यी तमाम कुराका विरुद्धमा महिलाहरू उभिन थालेका छन् ।’ यसलाई कसरी परिमार्जन र व्यवस्थित गर्ने ? पुरुषहरूले चिन्ता लिने विषय हो । पुरुषमुक्तिको अर्को विषय यो पनि हो ।

एउटा गरिबको त धनी हुने सम्भावना हुन्छ । धनी हुने आशा हुन्छ । गरिबी पनि नभएकोसँग के हुन्छ ? महिलाहरूसँग त गरिबी पनि थिएन । दुःख पाएकालाई सुख पाउने सपना हुन्छ । स्त्रीहरूसँग दुःख पनि थिएन । गरिबी र दुःखभन्दा पनि निकै तल थिए स्त्रीहरू । स्त्रीको धर्म संस्कार र राज्य केही पनि छैन ।  केवल छ त आफ्नै शरीर । त्यही आदिम शरीरसँग जन्मन्छन् । त्यही आदिम बनोटलाई हेरेर राज्य र धर्मसंस्कारका नियम र उपनियमहरू स्थापित छन् । तिनै स्थापित मान्यताको लगामभित्र महिला रहन्छे । न उसलाई बोल्न दिइयो । न कतै हेर्न दिइयो । यसरी पितृसत्ताको स्थापना गरिएको छ । 

तर अब त्यही पितृसत्ता पुरुषका लागि पनि खतरा बन्दै छ । पुरुषको तुलनामा महिलाहरूमा आमूल परिवर्तन आएको छ । महिलाले पितृसत्तामाथि धाबा बोलि नै रहेका छन् । तर, पुरुषहरू मौनजस्तै छन् । तीन पुस्ताअगाडिको पुरुष र आजको पुरुषमा खासै अन्तर छैन । मैले मेरो हजुरबा पुस्ताले हजुरआमा पुस्ताको अगाडि भात खान थाल थापेको देखेकी हुँ ।

आफ्नो जीवनकालभरि आफैँले भात पस्केर कहिल्यै नखाएका पुरुषहरू हिजो पनि थिए । आज पनि छन् । आफ्नो कपडा कहिल्यै नधोई जीवन बिताउने पुरुषहरू हिजो पनि थिए । आज पनि छन् । तर, क ख पनि नचिनेका हजुरआमा पुस्ताका नातिनीहरू कार्यालयको कुर्सीमा बसेर काम गर्ने हैसियतमा आइसके । हजुरआमा पुस्ता लोग्नेलाई भगवान् ठानेर गोडाको पानी खान्थे । लोग्नेसँग प्रश्न गर्दैन थिए । नातिनी पुस्ता श्रीमान्सँग चित्त बुझेन भने छोडपत्रको कागत लिएर आउने लाइनमा गए । यो राम्रो या नराम्रो जे भए पनि महिलामा आएको परिवर्तन हो । यो परिवर्तनसँगै पुरुष पनि हिँड्न सक्नुपर्छ । अब पितृसत्ता न त पुरुषका लागि हो । न त महिलाका लागि हो । केवल यो त मानव समाजका लागि विषवृक्ष हो । 

महिलाहरूको धारणा र सामाजिक स्थितिमा परिवर्तन आएपछि पुरुषको सोचमा पनि परिवर्तन आउनुपर्छ । समाज निर्माणको केन्द्रमा विवाहसंस्था आउँछ । यही संस्थाको केन्द्रबाट समाजका जरा र हाँगाबिंगा फैलिएका छन् । हिजोका दिनमा महिलाको लागि विवाह सौभाग्यसँग जोडिएको थियो । अब विवाह सम्झौता मात्र हो भन्ने बुझाइ बढ्दै छ । पितृसत्ताद्वारा स्थापित मान्यता क्रमशः भत्किँदै छन् । खासगरी महिलाहरूले अलिअलि गर्दै भत्काएका छन् । तर, पितृसत्ताले पुरुषमाथि थोपरेका मान्यताका विरुद्धमा पुरुषहरूले आवाज उठाएकै छैनन् । हिजोसम्म पितृसत्ताको हैकम महिलाका लागि मात्र थियो । अब पितृसत्ताको मिसाइल पुरुषतर्फ पनि सोझिएको छ । 

नारीमुक्तिको लय समातेर पुरुषमुक्तिका बारेमा रिडर्स झापाले बहस सुरु गरेर इतिहास रचेको छ । यो बहसले भोलिका दिनमा पनि थप निरन्तरता पाउला । विभिन्न अवधारणाहरू आउलान् । आउनुपर्छ ।नारीमुक्तिको विषयमा कुरा उठाउँदा जहिल्यै पुरुष जोडिएर आउने गर्दछन् । यसरी पुरुष जोडिएर आउँदा उनीहरूलाई नारीवाद सुन्नै नचाहने विषय बन्न पुग्छ । या, नारीवाद भनेको नारीको मात्र चासो र सरोकार हो भन्ने गलत बुझाइ रह्यो । खासमा नारीवादको कुरा उठ्दा पुरुषलाई चासो र उनीहरूले सिरियस्ली लिनुपर्ने थियो । तर, ठीक उल्टो भयो । 

पुरुष मुक्तिका आवाज उठेपछि स्वतः महिलावादले उठाएका सवालहरूलाई बुझ्न उनीहरूलाई सहज होला । उनीहरूले आफ्ना दुःखका बारेमा भन्न थालेपछि महिलाका दुःख पनि बुझ्लान् । पितृसत्ताले पुरुषहरूलाई मर्दको लुगा गुताएर कातर बनाएको हो । जड बनाएको हो । सर्वश्रेष्ठ हौँ, मालिक हाँै, समाजको र ईश्वरको भन्ने भ्रमको जंगल फैलायो । त्यसबाट आजसम्म पुरुषहरू मुक्त हुनै सकेनन् । धर्म रक्षक, कानुन रक्षक, स्त्री रक्षक हौँ भनेर पितृसत्ताको हेमलक खुवाइदियो । त्यही नशामा रहेर पुरुषहरूले आफ्नो खास आवाज निकाल्नै सकेका छैनन् । बोलौँ नामर्द भइएला भन्ने डर । कमजोरी देखाऊँ सर्वश्रेष्ठ नभइएला भन्ने त्रासले गाँजेको देखिन्छ । पुरुषहरूलाई पितृसत्ताले स्त्रीजातिको मालिक होस् भनेर झुटो पाठ पढायो । उनीहरू त्यही बुझिरहेका छन् । समयस्याको जड यहीँ छ ।

आजसम्म पुरुषहरू पितृसत्ताको आवाजमा बोलिरहेका छन् । पितृसत्ताको बाक्लो ज्याकेट लगाएर पुरुष आफूलाई लुकाउन बाध्य 
छन् । जब पितृसत्ताको बर्को निकालेर उनीहरू आफ्नै धरातलमा उभिँदै बोल्न सक्छन्, त्यसपछि मात्र पुरुषको खास अवतार देखिन्छ ।

अब महिलाहरू बोल्न थालेका छन् । जब महिलाहरू बोल्न थाले पुरुषलाई अनौठो लाग्यो । नयाँ आवाज आयो । नयाँ भाषा आयो । नयाँ सोचका कुरा उठ्न थाले । महिलाले पितृसत्ताद्वारा स्थापित कानुनमाथि प्रश्न उठाउने भए । पितृसत्ता सत्ता चालकहरूले राज्यविरुद्धको आवाज भनेर बुझे । नारीले धर्ममाथि प्रश्न गर्न थाले । पितृसत्ताले धर्मविरुद्धको आवाज भनेर बुझ्यो । सामाजिक नियमसँग प्रश्न गर्न थाले । पितृसत्ताले समाज बिगारा भनेर अर्थ लगायो । पितृसत्ताको त्रसित आवाज यसरी सुनिन थालिएको छ ।  

जब महिला मुक्तिको कुरा निकाल्यो पढेलेखेका बौद्धिक भनिएका कतिपय पुरुषहरू बेतुकका तर्क दिएर विरोध गर्ने गर्दछन् । उनीहरूमा पितृसत्ताको कारक हुँ भन्ने मनोवैज्ञानिक असर देखिन्छ । अचेतन रूपमा पितृसत्ताको कारक म हुँ भन्ने भान पुरुषमा रहेको छ । त्यसै कारणले महिला आवाजका कुरा उठाउँदा पुरुषहरू तर्सन्छन् । महिलाका आवाज बेकार लाग्छन् । 

नारी आवाजले आफ्नो सत्ता खोस्न आएको ठान्छन् । आफू शासक भएर चलाएको सत्तामा धाबा बोलेको बुझ्छन् । जब महिला बोल्छन् । उनीहरूलाई चट्याङजस्तो लाग्छ । अनि भन्छन् । त्यो खतरा छे । खतरा भन्छे । उग्र बोल्छे । खासमा त्यो महिलाले उग्र र खतरा केही बोलेकै हुन्न । उसलाई अनौठो लागेको 
मात्र हो । 

आजसम्म पुरुषहरू पितृसत्ताको आवाजमा बोलिरहेका छन् । पितृसत्ताको बाक्लो ज्याकेट लगाएर पुरुषले आफूलाई लुकाउन बाध्य छन् । जब पितृसत्ताको बर्को निकालेर उनीहरू आफ्नै धरातलमा उभिँदै बोल्न सक्छन्, त्यसपछि मात्र पुरुषको खास अवतार देखिन्छ । आजसम्म त हामीले पितृसत्ताधारी पुरुष रूप र आवाज मात्र देखेका, सुनेका छौँ । खास पुरुष देख्नका लागि, खास पुरुष सुन्नका लागि पुरुष मुक्तिको सवाल कोसेढुंगा साबित होस् ।  

पुरुष र पितृसत्ता फरक हुन् । पुरुष जानाजान महिलालाई अन्याय नगर्न चाहन्छ । तर, पुरुषलाई कारक बनाएर पितृसत्ता महिलाको घाँटी निमोठिरहन्छ । अब त पितृसत्ताको वजन पुरुषका शरीरले थेग्न नसक्ने गरी बढेको छ । महिलालाई थिचोमिचो गर्न, शासन गर्न पितृसत्ताको उदय भए पनि त्यसको सिकार पुरुषहरू पनि हुन थालेका छन् । 

समाज विकासक्रमसँगै महिलाको अवस्था त्यति गतिलो थिएन । छैन । विगतमा धर्मले महिलाका शरीरमाथि अपव्याख्या ग¥यो । महिलालाई महिलाकै शरीरभित्र थुनिदियो । आफ्नै शरीरभित्र महिलालाई बन्धक बनायो । अहिलेको आधुनिक समाजले पनि महिलाको शारीरिक अवस्थालाई नियालेर कानुन बनाएको छ । कानुनले पनि महिलालाई उनीहरूको शरीरभित्रै बन्धक बनाएको छ । कानुन र धर्मका नाममा महिलामाथि अमानवीय व्यावहारको अभ्यास भइरहेको छ । त्यो अभ्यासले पुरुष ग्रन्थीलाई कतै न कतै असर गरेको हुन्छ । खासगरी, धर्म र कानुनले महिलाको आवाज सहन सक्दैन । अर्को कुरा महिलाको दिमाग चलेको पनि उनीहरूलाई बिझाउँछ । 

प्राकृतिक हिसाबले हेर्दा महिला विनापुरुष र पुरुषविना महिला पूर्ण मान्छे बन्नै सक्दैनन् । महिला–पुरुष एकआपसमा अनावश्यक लाञ्छना लगाउन, दबाउन, हियाउन बनेका प्राणी नै हैनन् । सामाजिक राजनीतिले महिला र पुरुष अलग हुन् । पूर्ण र अपूर्ण हुन् भनेर काइते व्याख्या ग-यो । त्यही धारलाई समाएर पितृसत्ता अगाडि बढ्यो । पितृसत्ताको रथको डोरी समात्ने पुरुष भयो । अनि पुरुष र नारी दुवैलाई भ्रम भयो, पितृसत्ता र पुरुष एकै हुन् भनेर । खासमा पुरुष र महिला मानव हुन् । यी दुई प्राणीबीचमा खाडल ल्याउने पितृसत्ता हिंस्रक प्राणी हो ।

यतिका वर्ष नारीमाथि हिंसा ग-यो । अब पुरुषतर्फ पनि नंग्रा फिजाउँदै छ । जसरी पितृसत्ताविरुद्ध नारीवादको उदय भयो । त्यसैगरी, पितृसत्ताविरुद्ध पुरुषवाद जरुरी छ । पुरुष मुक्तिको बाटो पुरुषहरूले खनून् । महिला असल मान्छे हुन् । पुरुष असल मान्छे हुन् । तर, पितृसत्ता दुवैको लागि घातक छ । यही बुझौँ । यही मनन गरौँ ।