त्यसपछि किसुनजीले मलाई ६ हजार रुपैयाँ दिनुभयो

२०७५ चैत २ शनिबार ०७:१५:०० | काठमाडौं

नेपाली कांग्रेस पार्टीका संस्थापक नेता र कार्यवाहक सभापति, हामी सबैका प्रिय किसुनजी अथवा कृष्णप्रसाद भट्टराईसँग प्रत्यक्ष भेट हुनुभन्दा अगाडि नै म उहाँको प्राणप्रिय, त्यो ऐतिहासिक राजनीतिक संगठनको दह्रो समर्थक बनिसकेको थिएँ । वि.सं. २०२९ सालको जेठ महिनादेखि २०३१ सालको आधा–आधीसम्मको पोखरा बसाइका क्रममा भएको थियो मेरो राजनीतिक कायाकल्प ।

मेरो दिल र दिमागमा त्यति नै वेला प्रजातान्त्रिक राज्यप्रणालीप्रतिको निष्ठा र विश्वासको बीज रोपिएर अंकुरित र पल्लवित पनि भएको थियो । म काभ्रे कुशादेवी बिहाबर क्षेत्रको प्रभावशाली पञ्च नेता भीमप्रसादको छोरो हरिप्रसाद अधिकारी तिनै दिनहरूमा आफूले पाएको नितान्त नयाँ राजनीतिक दीक्षाका कारण वैचारिक रूपले अविचलित प्रजातन्त्रवादी र अर्थान्तरमा पक्का कांग्रेसी बनेको थिएँ । 

मलाई परिस्थितिले घुमाएर एउटा निष्ठावान् कांग्रेस कार्यकर्ता बनाइदिएको हो । म जन्मजात संस्कारले एउटा ज्याद्रो ब्राह्मण हुँ र राजनीतिक निष्ठाका हकमा पनि त्यही ज्याद्रोपना साथमा लिएर हिँडिरहेको छु । निष्ठावान् कांग्रेस हुँ त्यसैले प्रत्येक प्रजातन्त्र पक्षधरजस्तै म पनि चरम आशावादी छु । आजको घडीमा म जुन राजनीतिक आस्था बोकेर हिँडिरहेको छु त्यसमा टिकिरहेर नेपाली समाजको राम्रो भविष्यप्रति आशावादी पनि रहिरहन सजिलो भने छैन ।

मेरो आस्थाको केन्द्र नेपाली कांग्रेस पार्टीको नेतृत्व नै पथविचलित र दिग्भ्रमित भएका कारण नेपाली जनताले कठोर संघर्षबाट प्राप्त गरेको राजनीतिक स्वतन्त्रताको प्रत्याभूति गर्ने लोकतान्त्रिक राजनीतिक प्रणालीको भविष्य नै धरापमा परेको छ जस्तो देखिएको छ । यो धराप अरू कसैले थापेको भए पनि लोकतन्त्रको प्रतिरक्षा गर्ने अहं जिम्मेवारी अरू कुनै तत्वको भन्दा बढी नेपाली कांग्रेसको काँधमा भएकाले मेरो चिन्ता घनीभूत भएको हो । 

परिस्थिति जतिसुकै विषम भए पनि मैले भने नेपाली समाजको सुखद भविष्यप्रतिको आशावादिताको सम्बल छोडेको छैन । मेरो राजनीतिक दीक्षाले दिएको संस्कारले मलाई निराशावादी हुने अनुमति दिँदैन । मलाई यस्तो राजनीतिक संस्कारमा दीक्षित गराएका हुन् नेपाली कांग्रेसका ती नेताहरूले, खासगरी सकारात्मक सोचका जीवन्त प्रतिमूर्ति किसुनजीले ।

आफ्नो राजनीतिक जीवनयात्राका क्रममा नेपाली कांग्रेसका नेताहरूले जस्तो चरम निराशाजनक घटाटोप अँध्यारो सुरुङमा वर्षौंवर्ष बिताउनुपर्ने यातना अरू कतिजना नेपाली राजनीतिकर्मीहरूले भोगेका छन् ? यस प्रश्नको उत्तरमा कथित झापा विद्रोहका नायकहरूको नाम लिन सकिन्छ जसले लामो जेल सजाय पाएका थिए । त्यस कट्मेरो क्रान्तिका कार्यकर्तामध्ये एकजना चर्चित पात्र अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली पनि हुनुहुन्छ र हुनुहुन्छ त्यस विशेष कालखण्डमा आफूले अंगीकार गरेको भ्रमपूर्ण क्रान्तिको बोझबाट मुक्त हुन अध्यात्मको शरणमा पुग्नुभएका झापा विद्रोहका शीर्ष नेता मोहनचन्द्र अधिकारी । 

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमाथि विहंगम दृष्टि दिँदा राजनीतिक अभियोगमा लामो समयसम्म जेल सजाय भोग्नेमा पुराना क्रान्तिकारीमध्ये खड्गमान सिंहको नाम सर्वोपरि आउँछ जसले आफूले भोग्नुपरेको लामो कारावासको सजायलाई सधैँका लागि अभिलेखमा चढ्ने गरी ‘जेलमा बीस वर्ष’ शीर्षकमा आत्मकथाको पुस्तक नै प्रकाशमा ल्याएका थिए ।

उनीपछि राजनीतिक कारणले लामो जेल सजाय भोग्नेमा ठूलो संख्यामा नेपाली कांग्रेसका एक्टिभिस्टहरू पर्छन् भने थोरै संख्यामा विक्रमको २०२० को दशकको अन्त्यतिर भारतको नक्सलपन्थी उग्रवादको देखासिकीमा पूर्वी सीमान्त जिल्ला झापामा एउटा कम्युनिस्ट जमातले चलाएको व्यक्तिहत्या केन्द्रित विद्रोहको अभियोगमा समातिएका उग्रवादी युवकहरू । त्यस हिंसात्मक क्रियाकलापको आरोपमा जति धेरै जनालाई समातिएको भए पनि लामो जेल सजाय पाउने युवकहरूको कुल संख्या ३० जनाभन्दा बढी थिएन । 

झापा विद्रोह सुरु भएको ४ वर्षभित्रै शिथिल भएको थियो । विद्रोह सुरू भएको पाँचौँ वर्ष २०३३ मा त त्यो सम्पूर्ण राजनीतिक अभियान नै एउटा भूल थियो भनेर त्यो सञ्चालन गर्ने पार्टीले नै वर्गशत्रु सफायाको त्यो बाटो परित्याग गरेको सार्वजनिक घोषणा गरेको थियो । त्यसरी अवसान भएको त्यस आन्दोलनको सिलसिलामा एकजना ठूला जमिनदार धर्मप्रसाद ढकालबाहेक अरू १० जना मध्यम र निम्नमध्यम वर्गीय किसान र सर्वसाधारणले विद्रोहीहरूको हिंसाचारमा परेर ज्यान गुमाएका थिए भने आफ्नो नियन्त्रणमा रहेका ५ जना विद्रोही कार्यकर्ताहरूलाई तत्कालीन पञ्चायती प्रशासनले एकान्त जंगलमा लगी बडो कायरतापूर्वक मारिदिएको थियो । 

शाह राजाको नियन्त्रणमा रहेको तत्कालीन निरंकुश सत्ताले गरेको निरन्तर दमनमा पर्दै आएका नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको कहानी भने यस देशमा सक्रिय रहेका अरू कुनै पनि राजनीतिक दलका नेता–कार्यकर्ताले भोग्नुपरेको दमन र यातनाको कहानीभन्दा कता हो कता भयानक र लोमहर्षक छ । त्यस पार्टीमा नेपालमा राणा परिवारशाहीले चलाएको निरंकुशतन्त्रका विरोधमा उभिएको पहिलो राजनीतिक संगठन नेपाल प्रजापरिषद्को लिगेसी भएका गणेशमान सिंहदेखि २००७ सालको युगान्तकारी क्रान्तिका प्रायः सबै योद्धाहरू सामेल भएकाले राजनीतिक बन्दीका रूपमा लामो समयसम्म जेल बस्नेहरूको संख्या पनि बढी हुने नै भयो । साथै, सरकारी हिंसामा परेर मारिनेहरू पनि सोही संगठनमा अत्यधिक छन् । 

विक्रमको २०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित संसद् र त्यसबाट बनेको सरकार दुवैलाई भंग गरी प्रधानमन्त्री, उनको क्याबिनेटका सम्पूर्ण सदस्य र सत्तासीन दलका महत्वपूर्ण  नेताहरू सबैलाई झ्यालखानामा हालेपछि त जेलनेलको सजाय भोग्न बाध्य कांग्रेसजनको संख्या कता हो कता ठूलो भयो । पुस १ गतेको काण्डको प्रतिकारमा पार्टीद्वारा चलाएको सशस्त्र विद्रोहमा पनि देशभरिमा झन्डै २ सयजना कार्यकर्ताले ज्यान गुमाएको देखिन्छ । यहाँनेर कांग्रेसी र झापालीले पाएको सकसको पिँधमा रहेको आधारभूत भिन्नतालाई पनि हेर्नुपर्ने हुन्छ ।

झापालीहरूले दिशाहीन व्यक्तिहत्याको शृंखला चलाएका कारण प्रचलित कानुनअनुसार जेल सजाय पाएका थिए भने प्रधानमन्त्री बिपी कोइरालासहितका हजारौँ कांग्रेस नेता–कार्यकर्ताले निर्वाचनबाट पाएको जनादेशका आधारमा देशमा प्रजातान्त्रिक शासन व्यवस्थाको जग बसाल्ने प्रयत्न गरेकोमा अराष्ट्रिय तत्वको बिल्ला भिर्नुका साथै विना औपचारिक अभियोगपत्र लामो समय कालकोठरीमा बिताउनुपरेको थियो । 
०००
एक उदीयमान कवि लेखकका रूपमा म अभिव्यक्ति स्वतन्त्रता र उन्मुक्त प्रजातान्त्रिक राजनीतिक वातावरणको पक्षधर त पहिलेदेखि नै थिएँ । तर म, मेरो पोखरा प्रवासभन्दा पहिले, आफ्नो स्थापनाकालदेखि नै प्रजातन्त्रका लागि कठिन संघर्ष गर्दै आएको ऐतिहासिक राजनीतिक संगठन नेपाली कांग्रेसको कार्यकर्ताको त के कुरा, सामान्य समर्थकसम्म पनि बनिसकेको थिइनँ ।

सम्भवतः मेरो पारिवारिक वातावरण र पिताजीको राजनीतिक पक्षधरताले मलाई खुला रूपमा प्रजातान्त्रिक कित्तामा उभिन दिइरहेका थिएनन् । त्यस मनस्थितिमा परिवर्तन आउन थालेको थियो, विक्रमको २०२४ सालमा त्रिचन्द्र कलेजमा भर्ना भएर पढ्न थालेपछि । राजा महेन्द्रले सारा देशलाई फलामे पिँजराभित्र थुनेर राजनीतिक सिद्धान्त र चरित्रविनाको पञ्चायत नामधारी राजनीतिक व्यवस्थाका नाममा दरबारबाट प्रत्यक्ष शासन चलाइरहेको त्यस अन्धकारमय समयमा मसिनु र कमजोर भए पनि समय–समयमा विभिन्न बहानामा असन्तुष्टि र विरोधको आवाज उठाइरहने पूरा देशमा कुनै ठाउँ थिए भने ती थिए उच्च शिक्षाका केन्द्रहरू अथवा कलेजहरू । र, त्यहाँबाट निरंकुशताविरोधी आवाज घन्काउने वर्ग भने थियो विद्यार्थीको । त्यस समयमा कलेजहरूमा पनि राजनीतिक गतिविधिको केन्द्रबिन्दु बनेको थियो देशकै सबैभन्दा पुरानो र ठूलो महाविद्यालय त्रिचन्द्र कलेज । 

त्रिचन्द्र कलेजमा विद्यमान चर्को राजनीतिक वातावरण र साहित्यको विद्यार्थीका रूपमा मैले पढेका अनगन्ती पुस्तकहरूले मेरो दिमागमा आलोचनात्मक निरूपण, जसलाई अंग्रेजहरू क्रिटिकल जज्मेन्ट भन्छन्, त्यसको चेतना भर्न सुरु गरिदिएका थिए । अहिले फर्केर हेर्दा मेरो जीवनमा अनायास नै जोडिन आएका ती दुई तत्व, त्यो राजनीतिक वातावरण र ती पुस्तकहरूसँग मुखातिब हुनुलाई म मेरो अहोभाग्यका रूपमा लिन्छु ।

मलाई पिताजीको राजनीतिक उत्तराधिकारबाट बाहिर निस्कने प्रक्रियामा सघाएका ती दुई अमूर्त कुराहरूले मेरा अगाडि वैचारिक चेतनाको बिल्कुलै नयाँ संसारको ढोका खोलिदिएका थिए । त्यतिवेला नै हो मैले आफ्नो राजनीतिक पक्षधरताको खोज गर्न सुरु गरेको । त्यो खोज पोखरामा पुगेपछि टुंगिएको थियो । मेरो अढाई वर्षको पोखरा बसाइका सिलसिलामा वैचारिक चेतनाको जुन नितान्त नयाँ र अद्भुतझैँ लाग्ने संसार मेरा सामु प्रकट भएको थियो त्यसले त्यसअघि मेरो मानसमा रहेको वैचारिक अलमललाई सधैँका लागि अन्त्य गरिदिएको थियो । 

पार्टीसँग हार्दिक निकटता कायम भएका ती प्रारम्भिक दिनहरूमा नेपाली कांग्रेस पार्टीको नेता भनेपछि अरू धेरै मानिसहरूको जस्तै मेरो दिमागमा आकार लिने विम्ब भने किसुनजीको होइन, बिपी कोइरालाको थियो । प्रायःजसो पोखरा, साँघुमुख पालिखेचोकमा रहेको हिम सन्देश गृह नामक अखबार पसलमा हुने कांग्रेसी साथीहरूको जमघट र कुराकानीमा नेपाली कांग्रेसका ठूला नेताहरूका रूपमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह वा सुवर्णशमशेरको नाम अवश्य पनि लिइन्थ्यो, तर मलाई बिपीको व्यक्तित्वको चमकका सामु ती सबै नाम फिक्का र टाढाका जस्ता लाग्दथे । मजस्तो ती नेताहरूलाई प्रत्यक्ष कहिल्यै नदेखेको र प्रजातान्त्रिक आन्दोलनमा उनीहरूको योगदानबारे खासै सुन्न बुझ्न नपाएको नवकांग्रेसी युवकका लागि बिपी कोइरालाबाहेक अरू कुनै कांग्रेसी नेताको महात्म्य त्यतिवेलासम्म एउटा हलुका जिज्ञाशाको विषय मात्र थियो ।

मेरो जागिरे जीवनको क्रममा संयोगले २०२९ साल जेठ ६ गते म पोखरा नामकी पहाडकी ती अनुपम सौन्दर्यवती रानीको आश्रयमा के पुगेको थिएँ, उनीसँगको बसाउठीको समय १ वर्ष पनि पूरा नहुँदै मेरो राजनीतिक पक्षधरता स्फटिकझैँ प्रस्ट भएको थियो । संगत गुनाको फल थियो त्यो । ईश्वरीय अनुकम्पाले नै हुनुपर्छ, मेरो अफिस पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले कार्यालय सञ्चालनका लागि त्यस्तो ठाउँमा घर भाडामा लिएको थियो जुन प्रतिबन्धित नेपाली कांग्रेस पार्टीका नेता–कार्यकर्ताको भेटघाटको थलोसँग लगभग जोडिएको थियो । त्यो थलो थियो पार्टीका प्रखर कार्यकर्ता, कन्या मन्दिर स्कुलका शिक्षक केशवराज पराजुलीले चलाएको अखबार पसल हिम सन्देश गृह ।

किसुनजीले कम्मरमा बाँधेको धोतीबाट निकालेर ५ सय मूल्यका १२ वटा नेपाली नोट मेरो हातमा राखिदिँदै भन्नुभयो, ‘मै दिन्छु तपाईंलाई पैसा । तर, रक्सी खाएर सिध्याउनचाहिँ पाइँदैन !’ 

नेपाली मात्र होइन, हिन्दी पत्रपत्रिका पनि पाइने हिम सन्देश गृह मजस्तो पढाकु व्यक्तिका लागि आकर्षणको केन्द्र हुने नै भयो । म त्यस अखबार पसलसँग नजिकिएँ भने केशव गुरु पनि थोरै समयमा नै मेरो घनिष्ट मित्र बन्नुभयो । त्यसपछि उहाँको कारणले पोखराको लगभग सबै भद्रलोकसँग मेरो परिचय स्थापित हुन पुग्यो । म थाहै नपाई नेपाली कांग्रेसको झन्डामुनि उभिन पुगेँ । 

हिम सन्देश गृह त्यतिवेला पोखराको बौद्धिक वर्गको मिलनकेन्द्र नै थियो । त्यस पत्रिका पसलका निकट छिमेकी थिए कांग्रेसका पुराना निष्ठावान् कार्यकर्ता दयाशंकर पालिखे र पूरा पालिखे घराना । सन्देश गृहसँग जोडिएको घरमा डेरा गरेर बस्थे २०१५ सालमा देशमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसको टिकटमा लमजुङ क्षेत्रबाट जितेका तर सूर्यप्रसाद उपाध्यायको सल्लाहमा पञ्चायत प्रवेश गरेका श्रीकान्त अधिकारी ।

पञ्चायत प्रवेश गरेको भए पनि श्रीकान्तमा कांग्रेसकालीन धङ्धङ्ती बाँकी नै थियो क्यारे, उनी पञ्चभन्दा कांग्रेसीद्वारा बढी घेरिएका देखिन्थे जहिले पनि । सन्देश गृहको पश्चिमपट्टि थोरै पर घर थियो पूरै क्षेत्रका प्रतिष्ठित नेताद्वय सुन्दरप्रसाद मरासिनी र करुणानिधि कोइरालाको । वयोवृद्ध उमेरका कारण पोखराका महात्मा गान्धी पनि भनिने सुन्दरप्रसाद मरासिनी त अखबार पसलमा त्यति आउँदैनथे, तर लामो दाह्री पालेका कोइराला भने दिनको एकपटक त्यहाँ देखा पर्थे नै । 

त्यसबाहेक कास्की पोखरा क्षेत्रका सबैजसो प्रजातन्त्रप्रेमी नेता–कार्यकर्तासँग केशव गुरु र हिम सन्देश गृहका माध्यमबाट मेरो पहिले सामान्य परिचय र पछि घनिष्ट मित्रता कायम भयो । प्रेमबहादुर कुँवर, तारानाथ रानाभाट, धर्मशिला अनागरिका, धीरबहादुर गुरुङ, खेमराज शर्मा, अमृतप्रसाद शेरचन, तिलकमान गुभाजू, केशवराज रेग्मी, तेजनाथ घिमिरे, सोभियत अधिकारी, रामजी त्रिपाठी, चन्द्रकान्त पौडेल (गोरखापत्रबाजे) आदिसँग गाँसिएको विचारधारागत सम्बन्धलाई मैले आफूले जीवनमा पाएको मूल्यवान् उपहारका रूपमा लिएको छु र हृदयको सन्दुकमा सजाएर राखेको छु ।

हाराहारी जस्तै र नयाँ पुस्ताका अशोक पालिखे, तीर्थ श्रेष्ठ, महादेव गुरुङ, यज्ञबहादुर थापा, देवराज चालिसे आदिसँग कायम भएको मेरो मित्रता पनि पोखराले मलाई दिएको निसर्त प्रेमकै कारण सम्भव भएको हो भन्ने लाग्छ मलाई । मैले यहाँ नाम लिएका पोखरा क्षेत्रका मेरा यी राजनीतिक कुटुम्बमध्ये कति जनाले देहलीला त्यागिसकेका छन् । जीवन नरहे पनि सम्झना रहिरहन्छ भनेर चित्त बुझाउने गरेको छु । 
०००
किसुनजीसँग प्रत्यक्ष भेट हुने वेलासम्म म सिंहदरबारका सञ्चालकहरूबाट बहुदलमा लागेको सरकारी कर्मचारीका रूपमा डामिइसकेको थिएँ र कुनै पनि वेला खोसुवा पुर्जी बुझ्नुपर्नेछ भनेर मानसिक रूपमा तम्तयार भएर बसेको थिएँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रशासकीय अधिकृत थिएँ । प्रजिअ थिए घरैमा शिक्षादीक्षाप्राप्त विद्वान्, व्यवस्थाका अत्यन्त वफादार एकजना पाका मानिस जो मसँग अकारण डराइरहेकाजस्ता देखिन्थे ।

उनी सहायकका रूपमा मलाई गर्नुपर्ने अधिकार प्रत्यायोजन गर्न चाहिरहेका थिएनन्, म कामै गर्नु परेन भनेर हाइसन्चो मानिरहेको थिएँ । त्यस्तैमा उनी केही दिन बिदामा बस्दा आफूमा आएको कायममुकायम प्रजिअको अधिकार प्रयोग गरी ३१ सालको बमकाण्डमा जन्मकैदको सजाय पाएका र राष्ट्रिय जनमतसंग्रहका अवसरमा आममाफी भएर छुटेका पुराना मित्र माथबरसिंह बस्नेतको नाममा मैले भक्तपुर जिल्ला कार्यालयबाट ‘पुनर्जागरण’ नामक पत्रिका दर्ता गरिदिएको थिएँ । ‘पुनर्जागरण’ किसुनजी र माथबरसिंहहरू जेलमा सँगै हुँदा त्यहीँबाट हस्तलिखित रूपमा निस्कन्थ्यो । 


माथबरसिंहको सम्पादनमा निस्कँदा पनि ‘पुनर्जागरण’ले राष्ट्रिय राजनीतिमा हलचल पैदा गर्ने अनेक सामग्री छाप्यो । त्यस्ता सामग्रीमध्ये मुख्य थियो बिपी कोइरालाले दिएको त्यो अन्तर्वार्ता जसमा उहाँले नेपालका कम्युनिस्टहरूले इन्डोनेसियाका कम्युनिस्ट नेता आइडिटले कुनैवेला अपनाएको नीतिजस्तै पञ्चायतभित्र घुसपैठ गरी सत्ता कब्जा गर्ने नीति लिएको र त्यसलाई दरबारको एउटा पक्षले सहयोग गरेको कुराको खुलासा गर्नुभएको थियो । त्यतिवेलासम्म बिपीको स्वास्थ्य धेरै खराब भइसकेकाले हुन सक्छ, त्यस अन्तर्वार्ताका लागि सरकारले उहाँमाथि त कुनै कारबाही गरेन तर माथबरजीलाई पक्रेर त्यस्तै चार महिनाजति थुन्यो । ‘पुनर्जागरण’को म स्वयं पनि नियमित लेखक थिएँ । 

‘पुनर्जागरण’को पहिलो अंकको विमोचन गर्नका लागि डाउनटाउन भक्तपुरको वंशगोपाल टोलको नेपाली कांग्रेसको स्थानीय स्तरका नेता शिवजी श्रेष्ठको घरमा आयोजित समारोहमा मेरो कृष्णप्रसाद भट्टराईसँग पहिलोपटक भेट भएको थियो । मुख्य अतिथि बिपी बाबु आइपुग्नुभएको थिएन, किसुनजी भने गणेशमानजीको ४४०१ नम्बरको जिपमा लिफ्ट लिएर वेलैमा त्यहाँ पुग्नुभएको थियो र त्यहाँ जम्मा भएका पाकापुराना कार्यकर्तासँग गफगाफ गरेर रमाइरहनुभएको थियो । 
म ती दुवै नेताको नजिकै थिएँ ।

आफूले दकसको हदसम्म आदर गरेका र कुनै महाकाव्यका धीरोदात्त नायकयुगलजस्ता नेताहरूलाई छुन सकिने दूरीमा पाएर उठेको अज्ञात उत्तेजनाको रापले हुरुक्कै भइरहेको थिएँ । त्यति नै वेला माथबरसिंहले किसुनजीको ध्यान मतिर खिच्न खोज्दै भन्नुभयो, ‘हजुर उहाँ हरि अधिकारीजी, हाम्रो अत्यन्तै सहयोगी साथी । यहाँको जिल्ला कार्यालयमा अधिकृत हुनुहुन्छ, उहाँले नै गरिदिनुभएको हो पुनर्जागरणको दर्ता ।’

म किसुनजीसँग खर्चपानी नमाग्ने कार्यकर्ता थिएँ । त्यसै पनि उहाँले कार्यकर्तालाई दिने रकम टिठलाग्दो किसिमको हुन्थ्यो । मेरो मामिलामा भने एकपटक आफूले नै गरेको कुराले उहाँ फस्नुभयो र मलाई उहाँको चलनचल्तीका दृष्टिले निकै ठूलो रकम दिनुभयो । 


माथबरको कुरा सुनेपछि किसुनजी गम्भीर हुनुभयो र मतिर हेर्दै नपत्याएको ध्वनित हुने स्वरमा भन्नुभयो, ‘अरे बाफ रे, हो ? हाउ डेरिङ । डज् नट् इट् एडभर्स्ली एफेक्ट योर् केरियर् माई डियर् हरि अधिकारीजी ?’म फिस्स हाँसेँ र शिर निहु-याएको निहु-यायै जवाफ दिएँ, ‘त्यसै पनि मलाई खोस्नै आँटेका छन् किसुनजी । आई डन्ट् थिङ्क आई ह्याभ् मच् टु लूज् इन् दिस् जङ्चर् सर् ।’त्यसपछि उहाँ चुप लाग्नुभयो र क्रीडाकौतुक मिसिएको मीठो सुनिने स्वरमा भन्नुभयो, ‘घरमा आउनोस् न एक दिन, ए माथबर काजी अधिकारीजीलाई ल्याउनोस् है ।’

त्यसपछि सुरु भएको हो मेरो किसुनजीकहाँ जाने, उहाँको सान्निध्य पाउने एकोहोरो प्रयत्नको सिलसिला । समय बित्दै जाँदा उहाँले पनि मलाई मन पराउन थालेको हो कि जस्तो मेरो मनमा भान परेकोचाहिँ हो । तर, उहाँको मनलाई बुझ्न, तौलन लगभग असम्भव थियो । लामो समयसम्म उहाँको नजिक रहेर काम गरेका वासु रिसाल, योगप्रसाद उपाध्याय, ध्रुवराम भण्डारी, राजेन्द्र खरेल, कविता भट्टराई, हरि ढुंगाना, माथबरसिंह बस्नेत, ओमकार श्रेष्ठ, दीपकुमार उपाध्याय, होमनाथ दाहाल, किशोर नेपाल, मनमोहन भट्टराई, मदन अमात्य आदि आदि महाशयहरूमध्ये जो जीवित छन् ती कसैले पनि उहाँको विश्वास पूर्ण रूपमा जितेको दाबी गर्न सक्छन् जस्तो मलाई लाग्दैन । मेरो विचारमा किसुनजी आफ्ना साथी र सहयोगीहरूमा आफ्नै स्तरको योग्यता, क्षमता, स्वच्छता र निष्ठाको अपेक्षा गर्नुहुन्थ्यो, पाउनुहुन्नथ्यो त्यसैले कसैलाई पनि पूर्ण रूपमा विश्वास गर्न सक्नुहुन्नथ्यो । 

म किसुनजीसँग खर्चपानी नमाग्ने कार्यकर्ता थिएँ त्यसले गर्दा पनि म झ्याम्मिँदा रिसाउनुहुन्नथ्यो जस्तो लाग्छ । त्यसै पनि उहाँले कार्यकर्तालाई दिने रकम टिठलाग्दो किसिमको हुन्थ्यो । मेरो मामिलामा भने एकपटक आफूले नै गरेको कुराले उहाँ फस्नुभयो र मलाई उहाँको चलनचल्तीका दृष्टिले निकै ठूलो रकम ६ हजार रुपैयाँ दिनुभयो । 

घटना यस्तो थियो–म त्यतिवेला वसन्त चौधरीले चलाएको अंग्रेजी साप्ताहिक ‘दी इन्डेपेन्डेन्ट’मा काम गर्थें र होटेल याक एन्ड यतीमा आयोजित त्यस पत्रिकाको २०५१ सालको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा आउनुभएको किसुनजीको स्वागत सत्कारमा लागेको थिएँ । २ पेग स्कच लिएपछिका किसुनजीले मैले लगाएको लुगातर्फ गहिरो नजरले हेर्नुभयो र नजिकै उभिएका विनोद चौधरीलाई हातको शानले बोलाएर मतिर देखाउँदै भन्नुभयो, ‘लुक् विनोद योर् इम्प्लोई इज् अटायर्ड इन् सो कल्म्जी ड्रेस् । गेट् ए ड्रेपर् फर् हिम् एन्ड प्रोभाइड विथ् ए प्रपर सुट् ।’

किसुनजीको त्यस व्यवहारका कारण म लाजले पानी पानी भएको थिएँ भने धनाढ्य विनोद चौधरी हतप्रभ । तर, अत्यन्त चतुर चौधरीले किसुनजीका अगाडि धनुषाकारमा झुक्दै दुई हात जोडेर भनेका थिए, ‘हस् हजुर् म तुरुन्तै यसको व्यवस्था मिलाइहाल्छु ।’ अनि मतिर फर्किएर थपेका थिए, ‘हरिजी भोलि नै मेरो अफिसमा पाल्नुहोस् है ।’ 

त्यसपछिको पूरा हप्ता मेरो मुड अफ् रहेको थियो । म घरीघरी बाहिर लगाएर जाने आफ्नो लुगाको सेट हेर्थें र आफैँसँग प्रश्न गर्थेँ– के म साँच्चै किसुनजीले भनेकोजस्तो झल्लु ड्रेस अप्मै हिँडिरहेको हुन्छु त ? आफूलाई भने त्यस्तो लाग्दैनथ्यो । जे भए पनि विनोद चौधरीको अफिसमा फोन गर्ने साहस भने जुटाउन सकिनँ । केही दिनपछि होटेल याक एन्ड यतीको त्यो घटना धमिलो हुँदै मेरो दिमागको कोशबाट बिलाएर गयो ।

अर्को सालको दसैँ । मित्रवत् अग्रज राजेन्द्र खरेलले ‘जाऔँ आज किसुनजीलाई भेटौँ’ भनेपछि म उहाँको साथ लागेर सप्तमीको दिन कोपुन्डोल हाइट भट्टराई निवास गएको थिएँ । त्यस दिन दसैँको दिन भएकाले हुनुपर्छ, किसुनजीकहाँ दर्शनार्थीहरू दुई–तीनजना मात्र रहेछन् । हामीलाई देख्नेबित्तिकै तिनलाई पनि किसुनजीले ‘बाबुहरू अब पाल्नुहोस् मेरो उहाँहरूसँग काम छ’ भनेर पठाइदिनुभयो । हामी उहाँको बैठक कोठामा पसेका मात्र के थियौँ, उहाँले दाहिने हातका चार औँलाको मलाई बेडरुममा आउन इसारा गर्नुभयो । म आज्ञापालन गर्दै बुस कम्पनीको बडेमानको रेडियो भएको लाम्चो आकारको सानो कोठामा गएँ । 

कुरा के हो बुझ्न नसकेर पनि अलमलिएको मलाई छक्कै पार्ने गरी किसुनजीले कम्मरमा बाँधेको धोतीबाट निकालेर ५ सय मूल्यका १२ वटा नेपाली नोट मेरो हातमा राखिदिँदै भन्नुभयो, ‘मलाई थाहा छ विनोदले तपाईंलाई सुट किनिदिएन । मै दिन्छु तपाईंलाई पैसा । तर, रक्सी खाएर सिध्याउनचाहिँ पाइँदैन नि !’ 
म भावोद्वेगले भुतुक्कै भएँ । मेरा आँखा टिलपिल भए । किसुनजीले दिनुभएको पैसाले किनेको त्यो सुट मेरो वार्डरोबमा अझै त्यत्तिकै चमकदार र सुरक्षित छ ।

 

 

 

प्रतिकृया दिनुहोस