मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विभु लुइँटेल
२०७५ चैत २ शनिबार ०७:०७:००
Read Time : > 4 मिनेट
साहित्य

बेन्यामिनका स्वीकारोक्ति

‘म आममानिसका कुरा गर्न रुचाउँछु । मेरा पाठक पनि आममानिस नै हुन् । त्यही नै हो मेरो सम्पत्ति, सायद जेसिबी पुरस्कारभन्दा पनि मूल्यवान् ।’

Read Time : > 4 मिनेट
विभु लुइँटेल
२०७५ चैत २ शनिबार ०७:०७:००

सन् १९७० को दशकमा चरम गरिबी भोगेको दक्षिण भारतीय राज्य केरलाबाट ठूलो समूह वैदेशिक रोजगारका निम्ति खाडी मुलुकतिर पस्ने क्रम प्रत्येक वर्ष बढ्दै गयो । सन् २००८ को तथ्यांकअनुसार, मध्यपूर्वी राष्ट्रमा कानुनसंगत रूपमा बसोवास गरिरहेका केरलाका मानिसको संख्या करिब २५ लाख भएको तथ्यांकले देखाउँछ । त्यहीकारण, केही समयपछि खाडी पसेका केरलाका मानिसबाट मात्रै बर्सेनि खर्बौं रेमिट्यान्स भारत भित्रिन थाल्यो । यसले केरलाको गरिबी कम गर्न मात्रै मद्दत गरेन, सिंगो राष्ट्रकै अर्थतन्त्र बलियो बनाउनसमेत सघायो । खाडीमा मलायाली मजदुरले पाएको दुःखमाथि धेरै साहित्यकारले धेरैथोक लेखे । तर, तिनको चर्चा बेन्यामिनको ‘आडुजीवितम्’को तुलनामा कम भयो । 

मलायालम् भाषामा वर्तमानका अब्बल साहित्यकारको नाम लिँदा धेरैले बेन्यामिनलाई अग्रपंक्तिमै राख्छन् । भारतमा मात्र मलायाली भाषीको संख्या करिब चार करोड छ । बेन्यामिन त्यस्ता साहित्यकार हुन्, जसको किताब ‘आडुजीवितम्’ले भारत मात्र होइन, संसारभरबाटै पाठक बटुल्न सफल भयो । बेन्यामिनले दर्जनौँ किताब लेखिसकेका छन् । केही त विश्वविद्यालयका पाठ्यक्रममा समेत समाविष्ट छन् ।

उच्चस्तरीय साहित्यिक विचार–विमर्शमा उनका किताबले स्थान पाउँछन् । ‘तर, यी सबले मलाई खुसी बनाउँदैन,’ उनको स्वीकारोक्ति इमानदार छ । उनी स्वयं मान्छन्– उनलाई सामान्य मानिससमेतका लेखक बन्न सहयोग गरेको ‘आडुजीवितम्’ले नै हो । वैदेशिक रोजगारका लागि केरलाबाट साउदी अरेबिया गएका नजीव मोहम्मद नामका एक पात्र कसरी दलालको फन्दामा परी दाससरह जीवनयापन गर्न बाध्य हुन्छन् र उनको जीवनमा के–कस्ता उतारचढाव आउँछ भन्ने बेन्यामिनको कथा–वाचनले धेरैलाई छोयो । यसको अंग्रेजी अनुवाद ‘गोट डेज’ त प्रख्यात भयो नै, नेपाली अनुवाद ‘खबुज’ले समेत थुप्रै पाठक बटुल्यो । 

‘धेरै मिहिनेत गरेर लेखे“ । तर, छाप्न दिनुअघि निकै डराएको थिएँ,’ बेन्यामिन अनुभव साट्छन् । उनलाई लाग्ने गथ्र्यो, सुखान्त साहित्यको बजार जति ठूलो छ, दुःखान्तको त्यति नै सानो । ‘पढ्नेले के सोच्ने हुन् ?’ उनी सोच्थे । धेरै सोच–विचारपछि प्रकाशक ग्रिन बुक्सलाई पाण्डुलिपि बुझाउनुअघि पुस्तकमा एउटा परिवर्तन गर्न उनलाई उचित लाग्यो । वास्तविक नाम बेनी ड्यानिएलका ठाउ“मा बेन्यामिन लेखे । ‘रिस्क लिन चाहँदैनथेँ,’ उनी भन्छन् । 

तर, केरला साहित्य अकादेमीले हरेक वर्ष विभिन्न विधालाई दिने अकादेमी पुरस्कार यसै किताबका लागि सन् २००९ मा उपन्यास विधामा उनलाई प्रदान गर्ने निर्णय ग-यो । उनलाई आफ्नो  वास्तविक पहिचान खुलाउन करै लाग्यो । भन्छन्, ‘मसँग विकल्प नै थिएनन् ।’ पुरस्कार थाप्ने मामलामा अलि संकोच मान्ने बेन्यामिन यसै वर्षदेखि वितरण गर्न थालिएको २५ लाख भारतीय रुपैयाँ बराबरको जेसिबी पुरस्कार प्राप्त गर्ने पहिलो साहित्यकार हुन् । भारतीय लेखकका अंग्रेजी किताब अथवा कुनै अन्य भाषाबाट अंग्रेजीमा अनूदित किताबले यो पुरस्कार पाउने भनिएको छ । भारतीय मूलका बेलायती लेखक राना दासगुप्ताको टोलीले उत्कृष्ट कृति छनोट गर्छ । 

‘म पुरस्कारमा खासै आस्था राख्दिनँ,’ बेन्यामिन भन्छन् । प्रश्न गर्छन्, ‘भारतमा वर्षभरि कति पुस्तक छापिन्छन् र निर्णायकमण्डलले कतिचाहि“ पढ्छन् ? यस्तोमा सही मूल्यांकन कसरी हुन्छ ?’ यहीकारण, राम्रा पुस्तकले कमै मात्र पुरस्कार पाएको सोच्छन् उनी । यस्तै सोचका कारण विभिन्न सञ्चारमाध्यमले उनलाई ‘हम्बल’ लेखकको ट्याग भिराइदिएका छन् ।

 तर, जेसिबी पुरस्कारले बेन्यामिनलाई खुसी हुने ठाउँ पनि दिएको छ । ‘मुल्लापु निरमुल्ला पकालुकाल’लाई ‘ज्यास्मिन डेज’को नाममा अंग्रेजीमा अनुवाद गर्ने सहनाज हबिबलाई पनि पाँच लाख रुपैयाँको जेसिबी अनुवाद पुरस्कार दिइएको छ । ‘सामान्यतया, अनुवादकले पुरस्कार पाएको मलाई थाहा छैन,’ बेन्यामिन भन्छन्, ‘मलायालम् भाषामा लेखिएको मेरो किताबलाई अंग्रेजीमा अनुवाद गरी ठूलो समुदायमा पु-याउन सहयोग गर्ने सहनाजको मिहिनेतको कदर भएकाले थोरै भए पनि खुसी भएको छु ।’

बेन्यामिनकै कुरा राख्नुपर्दा जेसिबीले उनलाई जीवनभर पुग्ने राशि पुरस्कारस्वरूप दिएको छ । तर, केही समीक्षक भने पहिलेका किताबको तुलनामा उनले यसमा निकै फितलो लेखनी चलाएको जिकिर गर्छन्, ‘भने“ नि, सबै राम्रा पुस्तक निर्णायकसमक्ष पुग्दैनन् ।’ हरेक वर्ष जयपुरमा कुनै चाडभन्दा भव्य आयोजना हुने ‘जयपुर साहित्य महोत्सव’को दोस्रो दिनको दिवा सत्रमा लेखकद्वय सहनाज हबिब र एनएस माधवनसँगैको विमर्श सत्रमा सहभागी बेन्यामिनलाई कार्यक्रमका मध्यस्थकर्ता तथा ‘मातृभूमि’का कार्यकारी सम्पादक पिआई राजीवले केरेलाका उत्कृष्ट लेखक, मलायालम् भाषाका सशक्त लेखक भनी चिनाए । ‘मलायालम् भाषाका कति समालोचक ‘आडुजीवितम्’लाई पछिल्लो दशकमा उक्त भाषामा लेखिएको सर्वोत्कृष्ट कृति भन्न पनि हिच्किचाउ“दैनन्,’ बेन्यामिनको प्रशंसामा राजीवले केही शब्द खर्चे । 

जयपुरको डिग्गी प्यालेसमा ६ स्थानमा एकैसाथ ६ भिन्न विषयमा विमर्श राखिएका थिए । बेन्यामिनकै सत्रको समयमा छेउका अन्य सभामध्ये एकमा भारतका प्रखर गीतकार जावेद अख्तर र अभिनेत्री सवाना आज्मीको सत्र चलिरहेको थियो भने, अर्कोमा प्रसिद्ध उपन्यास ‘द बुक थिफ’का लेखक मार्कस जुस्याक आप्mनो लेखकीय प्रवृत्तिबारे बोलिरहेका थिए । अन्य चार सत्रमा थोरै मात्र आगन्तुकको सहभागिता हुनु स्वाभाविक थियो । सोचेभन्दा निकै कमको उपस्थितिमा उनको साहित्यलेखनको चर्चा गरियो । ‘यस्तै घटनाले मलाई ‘ह्युमिलिटी’ सिकाएका हुन्,’ विमर्शपछिको अन्तक्र्रियामा बेन्यामिनले भने ।

बेन्यामिन प्रश्न गर्छन्, ‘भारतमा वर्षभरि कति पुस्तक छापिन्छन् र निर्णायकमण्डलले कतिचाहिँ पढ्छन् ? यस्तोमा सही मूल्यांकन कसरी हुन्छ ?’ 

धेरैले उनलाई ‘पाठकका लेखक’ उपनामले समेत सम्बोधन गर्ने गरेका छन् । ‘म आममानिसका कुरा गर्न रुचाउँछु । मेरा पाठक पनि आममानिस नै हुन्,’ त्यस उपनाम पछाडिको कारणसँग पनि उनी अनभिज्ञ छैनन् । धेरैले उनलाई मानिसका जीवनमा आइपर्ने दुःख जस्ताको त्यस्तै चित्रण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्छन् । उनी भन्छन्, ‘त्यही नै हो मेरो सम्पत्ति, सायद जेसिबी पुरस्कारभन्दा पनि मूल्यवान् ।’रोजगारीकै सिलसिलामा करिब २० वर्ष बहराइनमा बिताएका बेन्यामिनले त्यहा“ काम मात्रै गरेनन्, मानिसका जीवनसमेत नजिकबाट अध्ययन गरे । यसले उनलाई प्रवासी मानसिकताप्रति थप उत्सुक गरायो । 

‘कसले भन्यो दासत्व अन्त्य भयो भनेर ?’ खाडी मुलुकमा रोजगारीका लागि पुगेका अन्य देशका नागरिकको नाजुक अवस्था देखेर उनी आक्रोश पोख्छन्, ‘जुन देशमा सबै नागरिकले समान हक पाउन हम्मेहम्मे पर्छ, त्यहाँ प्रवासीको अवस्था कस्तो छ भनी अनुमान गर्न गाह्रो नपर्ला ।’बेन्यामिनले जे देखे, त्यही लेखे । तर, लेख्नुअघि प्रत्येक खाडी मुलुकमा आफूले  बनाएका साथीभाइसँग छलफल पनि गरे र ती कथा कत्तिको सत्य छन् भनी विस्तृत अध्ययन पनि गरे । उनलाई लाग्छ, प्रत्येक लेखकले लेख्नुअघि आफ्ना पात्रका स्थानमा आफूलाई  राखेर हेर्नुपर्छ, राम्रो साहित्य त्यसपछि मात्र जन्मन्छ । भन्छन्, ‘तर, मेरो कुरामा समर्थन जनाउनैपर्छ भन्ने छैन । यो मेरो नितान्त व्यक्तिगत विचार हो ।’

खाडीमा उनले दुई प्रकारका प्रवासी भेटे । पहिलो किसिमका प्रवासी कुनै दिन आफ्नो  पुरानो थलो फर्किन चाहेका खण्डमा फर्कन सक्थे । दोस्रो किसिमका प्रवासीको काँधमा जिम्मेवारीको यति ठूलो भारी हुन्थ्यो, उनीहरू चाहेर पनि फर्कन सक्दैनथे । ‘धेरैजसो भारतीय र नेपाली दोस्रो वर्गमा पर्छन्,’ बेन्यामिन भन्छन् । बहराइनमा रहँदा उनले आर्थिक समस्या त खासै भोगेनन् । तर, ‘आइडेन्टिटी क्राइसिस’ले भने उनमा जरो गाड्यो । कति अवस्थामा त आफ्नो  अस्तित्वमाथि प्रश्न गर्नसमेत बाध्य बनायो । ‘म ती सबै कुरा व्यक्त गर्न त चाहन्न“ । तर, यति बुझ्नुहोस् – आज म जे छु, त्यही ‘आइडेन्टिटी क्राइसिस’पश्चात् आफ्नो अस्तित्व सिद्ध गर्न मैले गरेका कार्यका कारण छु,’ उनी स्पष्ट पार्छन् । 

बेन्यामिनका कार्य अहिलेसम्म पुस्तककारका रूपमा मात्र सीमित छन् । अबको केही समयमा उनको पहिलो किताबमाथि फिल्म पनि बन्ने भएको छ । मलायालम् भाषाका सुप्रसिद्ध चलचित्र निर्देशक ब्लेसी ‘आडुजीवितम्’ शीर्षकमा चलचित्र बनाउँछु भनी केही समयअघिदेखि नै बेन्यामिनसँग छलफल गरिरहन्थे । तर, भारतमा मात्र नभएर साउदी अरेबियामा समेत छायाँकन गर्नुपर्ने हुँदा खर्च बढी पर्न आउने देखियो । बीचमा ब्लेसी हच्किए पनि । तर, केही ठूला निर्माताले लगानी गर्ने रूचि देखाएपछि अहिले यो फिल्म बन्ने पक्का भएको छ । दक्षिण भारतका प्रसिद्ध अभिनेता तथा गायक पृथ्वीराज सुकुमारन उक्त फिल्ममा मुख्य पात्र नजीवको भूमिकामा देखिनेछन् । 

यसैगरी, यस चलचित्रमा संगीत ओस्कार पुरस्कार विजेता एआर रहमानको हुने पक्का भएको छ । त्यसैले पनि छायाँकन हुनुपूर्व नै यो खबरले केही हदसम्म बजार तताएको छ । यसमा बेन्यामिन मिश्रित प्रतिक्रिया व्यक्त गर्छन् । पुस्तक नपढ्ने, तर चलचित्रचाहि“ हेर्ने समूहलाई आफ्ना कथा सुनाउन पाइने भयो भनी खुसी त छन् । तर, अहिलेसम्म आफूले पढेका पुस्तक र तिनैमा आधारित भई बनेका चलचित्रमा ठूलो अन्तर देखेकाले पूर्णरूपमा भने उनी सन्तुष्ट देखिँदैनन् ।