मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वैरागी काँइला
२०७५ चैत २ शनिबार ०६:२४:००
Read Time : > 3 मिनेट
साहित्य

नमातेको ठिटोले अस्पतालमा लेखेको थियो– मातेको मान्छेको भाषण...

Read Time : > 3 मिनेट
वैरागी काँइला
२०७५ चैत २ शनिबार ०६:२४:००

मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’ कविता लेखनकोे पृष्ठभूमिबारे सम्झँदा धेरै कुराहरू आँखा अघि आउँछन् । विश्वमा द्रुत गतिमा पुँजीवादी  र साम्यवादी शक्तिहरूबाहेक पनि अर्को धार असंलग्न राष्ट्रहरूको संगठन निर्माण भइरहेको वेला थियो त्यो । उहिलेदेखि चलिआएको गोर्खाली पहिचानको राजनीतिक आन्दोलन दार्जिलिङमा चलिराखेकै थियो ।

हामीले देख्दादेख्दै कहिले घाम कहिले नडुब्ने ब्रिटिस साम्राज्यका सबै उपनिवेश मुक्त हुँदै गइरहेका थिए । ब्रिटिस साम्राज्य भौगोलिक हिसाबले सानो क्षेत्रमा सीमित हुन थालेको समय थियो । विश्वका स–साना राष्ट्रहरूले समेत स्वाभिमान र पहिचानका लागि राष्ट्रियतामाथि गर्व गर्दै शिर ठाडो गर्दै गरेको युग थियो त्यो । ठूला राष्ट्रका होऊन् वा साना राष्ट्रका, सम्प्रभुता सबैको समान हुन्छ भन्ने मूल्य र मान्यता स्थापित भइरहेको त्यस समयमा शासक र शोषकको थिचोमिचो, दलन–मलनको विरोध गर्ने विवेक हुर्किसकेको समय थियो ।

स्वतन्त्रता सबैको आधारभूत चाहना हो,  चाहे व्यक्तिगत हैसियतमा होस् कि नागरिकको हैसियतमा होस् । चाहे सामाजिकस्तरमा होस् कि राष्ट्रिय स्तरमा ।    
वि.सं. २००७ को जनक्रान्तिले ल्याएको प्रजातान्त्रिक माहोललाई हुर्कन नदिई २०१७ साल पुस १ गते राजाले जननिर्वाचित सरकारलाई भंग गरेर निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछिको उकुसमुकुसको अवस्थामा आमनेपाली निस्सासिइरहेको वेला थियो त्यो । 

देशभित्र रहन सक्ने अवस्था नभएपछि प्रजातन्त्र पक्षधर धेरै ठूलो जमातमा स्वनिर्वासित जीवन बिताउँदै नेपालमा प्रजातन्त्रको पुनस्र्थापनका लाथि सशस्त्र आन्दोलन गर्नकै लागि सीमावर्ती भारतीय सहरतिर आश्रय लिएर बसेको र यतैबाट सशस्त्र आन्दोलनसमेतको नेतृत्व गरिरहेको थियो । नेपालको सीमासँग जोडिएको भारतीय नेपालीहरूको बसोबासको सहर दार्जिलिङ तिनको रोजाइ हुन पुग्नु स्वाभाविक थियो ।

पूर्व नेपालतिर हुने शान्तिपूर्ण होस् वा सशस्त्र आन्दोलन, निर्वासित नेपाली कांग्रेसका नेता तथा क्याडरहरूको अगुवाइमा भइरहेको थियो । यो आन्दोलन निरंकुश सत्ताविरुद्ध थियो । लोकतान्त्रिक मूल्यमान्यताको  पुनस्र्थापना र मानवअधिकारको पूर्ण पालनाका लागि भइरहेको थियो । एकातिर बाह्य र पुँजीवादी उपनिवेशवादको अन्त्य हुँदै थियो भने अर्कातिर राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा आन्तरिक उपनिवेशवाद बलियो हुँदैै थियो । यस्तो परिस्थितिमा सम्प्रभुता, व्यक्तिको स्वतन्त्रतापूर्वक बाँच्ने, बोल्ने, हिँडडुल गर्ने मौलिक र आधारभूत मानवअधिकार अकुण्ठित रहोस् भन्ने चाहना र त्यसका लागि संघर्षरत रहनु मात्र विकल्प थियो ।

अहिले सम्झँदा लाग्छ कि यिनै परिस्थितिमा लेखिन पुगेको थियो, ‘मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित ।’ राजा महेन्द्रले पुस १ गते, २०१७ सालमा लोकतान्त्रिक विधिले जननिर्वाचित सरकार र संसद्लाई भंग गरेर पञ्चायती प्रजातन्त्रको खोलले ढाकछोप गरेको निरंकुश राजतन्त्रको एकतन्त्री शासनको अभ्यास प्रत्यक्षतः प्रारम्भ गरेपछि प्रजातन्त्र, मानवअधिकार, आधारभूत मौलिक अधिकारबाट पनि वञ्चित आमनेपाली जनताले व्यहोर्नुपरेको त्रासपूर्ण परिस्थितिको विरोधमा स्वाभिमानी र जागरुक नेपालीहरू त उठेकै थिए । त्यो महान् अभियानमा कविताका रूपमा भावना र विचार सम्प्रेषण गरेर साहित्यकारका नाताले मेरो पनि सानो सहभागिता थियो यो । 

यसअघि पनि निकै मलाई सोधिएका यस्तै प्रश्नहरूका उत्तरमा भनेकै कुरा यहाँँ पनि उल्लेख गर्छु । त्यसो त मेरो परिवारले सात सालको जनक्रान्तिमा पनि एकतन्त्रीय राणा जहानियाँ शासनविरुद्ध सहयोगी भूमिका नै खेलेको छ । राजा महेन्द्रले २०१७ साल पुस १ गते संसद् भंग गरेर जननिर्वाचित सरकार विघटन गरेपछि सुरु भएको निरंकुश राजतन्त्रको एकतन्त्रीय शासनको प्रचारप्रसारमा राजाले जिल्ला–जिल्लामा खटाएको दौडाहामा जानेमध्ये पल्लोकिरातको पाँचथर जाँदै गरेको दौडाहामाथि आक्रमण गरी सुरक्षाकर्मीको हातहतियार खोसेर सायद मेरै परिवारका सदस्यहरूले सबैभन्दा अगाडि २०१८ सालमा सशस्त्र क्रान्ति सुरु गरेका थिए । त्यसमा अग्रणी भूमिकामा रहेका मेरा साइँला दाइ भूविक्रम नेम्वाङ र भाइहरूमा कृष्णविक्रम नेम्वाङका नाम अग्रपंक्तिमा आउँछ । यो कविता लेख्दाताका भूविक्रम नेम्वाङ र उहाँका अन्य सहयोगी  तथा अन्य जिल्लाका सयौँका संख्यामा निर्वासित नेपाली कांग्रेसका कार्यकर्ता र नेताहरूसँग दार्जिलिङमा आइपुगेका थिए ।

कवि वैरागी काइँलाको बहुचर्चित कविता ‘मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’ उनले ०१९ सालतिर लेखेका थिए, जुन ०२० जेठको ‘तेस्रो आयाम’ पत्रिकामा छापिएको थियो । कविता–लेखनको ५५ वर्षपछि काइँलाले उक्त कविताको रचनागर्भ लेखेका छन्  

चोकबजारमा राजाको एकतन्त्रीय शासन र उनले गरेको प्रजातन्त्रको हत्याको विरोधमा भाषण गरेर नेपाल पसेका भाइ कृष्णविक्रम नेम्वाङ धनकुटा जेलमा बन्दी थिए । सशस्त्र क्रान्तिमा लागेर निर्वासित भएको र निर्वासनबाट नै देशभित्र सशस्त्र क्रान्तिका लागि पसेको एउटा अराष्ट्रिय तŒव भनेर घोषणा गरिएको र सर्वस्वहरण भएको छोराका कारण हाम्रो घरमा आमाबाबु, दाजुभाइ, छोरीबुहारीले भोग्नुपरेको ताडना, अपमान, अमानुषिक र अमर्यादित व्यवहार र शब्दहरू बयान गर्न नै सकिँदैन जस्तो लाग्दछ । 

सात सालको जनक्रान्ति सिंहदरबारको राणाको जहानियाँ शासन हटाएर शक्तिको केन्द्र  नारायणहिटी दरबारमा स्थानान्तरण गर्न नभएर प्रजातान्त्रिक मूल्यमान्यताको स्थापना र जनताको शासन जनताका प्रतिनिधिबाट जनताका नै लागि हुनुपर्ने आधारभूत सिद्धान्तमाथि उभिएर आमनेपालीको सहयोगमा सफल भएको थियो । तर, भयो उल्टो । राणाजीहरूले खोपीको देवता बनाएका राजा अब बाघ भएर गर्जंदै टुँडिखेलमा मात्र होइन, मुलुकभर गाउँ–गाउँभित्र पनि पस्न सक्ने गरी बलियो भइसकेका थिए । 

यही निस्सासिँदो वातावरण, अमानुषिक र अमर्यादित व्यवहार र परिस्थितिमा एक मात्र विकल्प आत्मविश्वासहितको संघर्षको बोधले गर्भाधान भयो, ‘मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित ।’  मातेको मान्छे मुक्तिकामी जनताको प्रतीक थियो भने मध्यरात निरंकुशताको चरम अवस्थाको अन्त्यको संकेत । त्यसरी नै रक्सी स्वतन्त्रताको चेतनाबोध र मध्यरातपछिको सडक परिवर्तनका लागि व्यग्र समय र मुक्त जीवनका बिम्ब थिए । स्वतन्त्रताको चेतनाबोधले जागृत मानिसको प्रतिनिधित्व गर्दछ मातेको मान्छेले ।

अन्याय, अत्याचार र असमानताविरुद्ध बोल्ने र मानवअधिकारको पक्षमा उभिने  नागरिक कसरी र कहिलेसम्म शिर झुकाएर शासकहरूको वंशावलीलाई आफ्नो पनि इतिहास भनेर पढिरहन सहमत हुन्छ ?  यही विद्रोहको चेतना र अन्त्यमा त मुक्तिकामी जनताको विजय निश्चित छ भन्ने आस्था र विश्वास जगाएकै कारणले यो कविता सबैको प्रिय पनि हुन पुग्यो होला ।

मूलतः ‘मातेको मान्छेको भाषण’मा वर्गीय समाजभित्रको शोषित र पीडित मान्छेको मात्र पक्षधरताभन्दा पनि समग्र मानवको स्वतन्त्रताको वकालत गरिएको छ । यो कविता मानव जातिकोे स्वतन्त्रताप्रति निष्ठा राख्ने आशावादी हो । जुनै तह वा प्रकारको होस्, निरंकुशता र निरंकुशहरूविरुद्ध उभिएको कविता हो । मानवअधिकार, मौलिक अधिकारजस्ता आधारभूत मूल्यमान्यताप्रतिको प्रतिबद्धताको ठूलो आवाज हो । 

मैले यो कविता वि.सं. २०१९ को अन्त्यतिर लेखेँ जस्तो लाग्छ । म आफू क्षयरोगको बिरामी भएर उपचाररत थिएँ देशबन्धु चेस्टक्लिनिक, कागझोडा, दार्जिलिङमा । अस्पतालमा नै अन्तिम रूप दिएँ जस्तो लाग्दछ । वि.सं. २०२० (सन् १९६३, मे) को जेठ महिनामा प्रकाशित ‘तेस्रो आयाम’को पहिलो अंकमा यो कविता (पृ.६–८, १४) प्रकाशित भयो । 

त्यसो त समसामयिकताको प्रभाव बढी नै हुन्छ लेखनमा, कवितामा पनि । यस कवितामा पनि वि.सं. २०१७ (डिसेम्बर १६, १९६०) मा नेपालको निर्वाचित संसद र सरकार भंग गरेर राजा महेन्द्रबाट निर्दलीय र निरंकुश हुकुमी शासन सुरू भएपछिका दिनका प्रभाव यस कवितामा बढी नै परेको देख्न सकिन्छ । तथापि मानवले मुक्तिका लागि निरन्तर गरिराखेको संघर्षको आशावादी भाव यस कविताको मुख्य भाव हो । मानव जीवन कठिनाइविरुद्ध संघर्षरत छ र कुनै एक दिन स्वतन्त्रताप्रेमी नागरिक अथवा मानिसले विजय प्राप्त गर्नेछन् भन्ने सन्देशलाई यस कविताले अभिव्यक्त गरेको छ जस्तो ठानेको छु ।