मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विप्लव प्रतीक
२०७५ चैत २ शनिबार ०६:४४:००
Read Time : > 8 मिनेट
ब्लग

क्लोज टु माई हार्ट

Read Time : > 8 मिनेट
विप्लव प्रतीक
२०७५ चैत २ शनिबार ०६:४४:००

नामको अर्थ त मुस्कान हो उसको । तर, मेरा निम्ति ऊ कहिल्यै नओइलाउने फूलहरूको सुगन्धयुक्त मुस्कान हो, जसले संगीतका माध्यमबाट केवल मानवता र स्नेह बाँडिरहन्छ । लिन जान्नेले लिन्छन्, भेउ नपाउनेले लिन पाउँदैनन् होइन, त्यो मुस्कानले त वरिपरिका मानिसलाई त्यसै–त्यसै इन्द्रेणीझैँ बेर्दै लैजान्छ । यो कुरा बेग्लै हो, कसैले त्यसको रेशमी स्पर्श महसुस गर्ने अवसर अञ्जानमा चुकाइसक्छन्, कसैले भने पत्तै नपाई त्यसलाई महसुस गरिसक्छन् ।

न्ह्यूँलाई मैले भेटेको ०४२ सालतिर हो । म एउटा भिडियो फिल्म बनाउँदै थिएँ । संगीतकार थिए गायक किरण प्रधान । संगीत ‘एप्रुभ’ गर्न ‘म्युजिक सेसन’ बस्ने तय भयो क्षेत्रपाटीस्थित एउटा घरमा । किरण र सपनाश्री गाउन तयार थिए । तबलामा थिए डंकन चौधरी, हार्मोनियममा किरण स्वयं र गिटारमा साथ दिन हस्याङफस्याङ गर्दै आएको मभन्दा छ/सात वर्ष जवान न्ह्यूँ बज्राचार्य । 

न्ह्यूँले नेपालभाषामा असंख्य लोकप्रिय गीत बनाइसकेको थियो उतिखेरै । तर, नेपाली संगीतमा उसको उपस्थितिसँग म अनभिज्ञ थिएँ । किनभने म त्यसबखत अंग्रेजी गीत र जगजीत सिंहका गजलको उद्यानमा लठ्ठिएर बसेको थिएँ । मैले न्ह्यूँलाई सायद खासै ‘नोटिस’ गरिनँ त्यतिखेर । उसले पनि ग-यो गरेन, मैले कहिल्यै सोधिनँ । अहिले सोच्छु- के त्यो नोटिस नगर्नु मेरो समाजको प्रतिविम्ब थियो मेरो चरित्रमा, जसले पद, प्रतिष्ठा, शक्ति र सौन्दर्यलाई आँखा झिम्क्याउन नपाउँदै नोटिस गर्छ ?

समय बित्दै गयो । न्युरोडमा बस्थेँ । सरेर जैसीदेवल, पुल्चोक हुँदै घट्टेकुलो बसाइँ सरेँ । एकदिन टिभीमा लासिमित राईको एउटा गीत बज्यो– ‘नआऊ सपनाभरि’ । नेपाली गीतहरूको समकालीन भिडमा छुट्टै स्वरूप थियो त्यो गीत । पहिलो भेटमा ध्यान दिन नपाएको न्ह्यूँले मेरो ध्यान ऊतिर सजिलै तान्यो । त्यसको केही समयपछि मैले दिदी अरुणा लामाको एउटा गीत सुन्ने मौका पाएँ– ‘जानेमाने गीतकार राजेन्द्र थापा रचित – ‘यो मन त तलाउ हो’ । मलाई यतिविघ्न मन प-यो त्यो गीत, म संगीतकारलाई खोज्न थालेँ । यो त्यो सुरुआती समय थियो, जतिखेरदेखि रेडियोमा गीत बजाउँदा संगीतकार र गीतकारको नाम लिन आवश्यक ठानिँदैनथ्यो । केही मिहिनेत गरेपछि संगीतशिल्पीको पहिचान भयो । यसको सर्जक पनि न्ह्यूँ नै थियो । 

प्रतिष्ठित गायक दीप श्रेष्ठसँग मेरो निकै उठबस थियो । एकदिन बेलुकी हाम्रो सत्संग नहुने भयो ।  मैले उहाँलाई सोधेँ, ‘किन ?’‘आज न्ह्यूँको बिहे छ । तिमीलाई बोलाएको छैन र ?’ थिएन । मैले उसलाई  भेट्दा नोटिस गरेको थिइनँ, उसले पनि गरेनछ । 

म हिमाल खबरपत्रिकामा काम गर्थें । रिपोर्टिङ गर्नुभन्दा डेस्कमा काम गर्न रुचाउँथे । तर, ०५६ सालको मंसिरमा नेपाली आधुनिक संगीतबारे ‘कभर स्टोरी’ तयार पार्ने जिम्मा ममाथि आइलाग्यो । स्टोरी तयार भयो । र, त्यो अंकमा ‘ब्लोअप’ पनि छाप्ने निर्णय भयो । जति सकिन्छ कलाकारहरूलाई फोन गरेर पाटनको कृष्णमन्दिरमा बोलाएर तस्बिर खिच्ने योजना बन्यो । मैले सबैजनालाई फोन गरेँ, बोलाएँ । न्ह्यूँसँग सशरीर भेट भएको त्यो सम्भवतः दोस्रोपल्ट थियो ।केही वर्षपछि न्ह्यूँसँग आक्कलझुक्कल भेट हुन थाल्यो । माध्यम थियो नारायणगोपाल संगीत कोष, जसमा म र न्ह्यूँ सदस्यमा छानिएका थियौँ । हामीलाई छान्नुमा लोचन भट्टराई र चक्र खड्काजीको सिफारिसले काम गरेको हुनुपर्छ । 

समय बित्दै जाँदा, पञ्चायतकालमा सुरु भएको हाम्रो चिनारी लोकतन्त्रको संघारसम्म आइपुग्यो । विशिष्ट नेपाली नाट्यशिल्पीमध्ये एक भाइ सुनील पोखरेलले नेपाल लोकतन्त्रमा प्रवेश गरेपछि नगरकोटमा तीन दिने वर्कसप गर्ने निधो गरे, कलाकार, संगीतकार र कविहरूको । ‘अबको नेपाल’ त्यसको शीर्षक थियो । वर्कसप पछि तीनवटा चीज तयार भए । एउटा संगीतको सिडी, अर्को कविता, गीत, लेख र कथाको संग्रह अनि पेन्टिङको सँगालो । सिडीमा मेरो पनि एउटा गीत थियो । गाएका थिए सुगम पोखरेलले । मेरो गीतलाई न्ह्यूँले धुनबद्ध गरेको त्यो नै पहिलो थियो ।  

त्यसपछि म अमेरिका गएँ । मलाई घुम्नु थियो, घुमेँ । विशाल अमेरिकाको विविधतालाई किसिम-किसिमले पिउनु थियो । त्यसैले कहिले गाडीमा, कहिले अठारपांग्रे ट्रकमा, कहिले बसमा, कहिले हवाईजहाजमा, कहिले रेलमा, कहिले साइकलमा त कहिले पैदल मैले अमेरिकी भूमि र समाजको आस्वाद लिएँ । मेरो पहिलो उपन्यास मैले अमेरिकामै लेखेको हुँ । यहाँ हुँदो हुँ त त्यो सम्भव थिएन । व्यस्त जीवनशैलीले यहाँ मेरो एकान्तवास लुटेर लगेको छ । करिब सात वर्षको बसाइपछि आफूलाई चाहिने जति स्मृति बटुलेँ भन्ने मलाई लाग्यो । त्यसपछि म नेपाल फर्किने मनस्थितिमा पुगेँ, तर भनेको कसैलाई थिइनँ । 

मेरो बालसखा रवीन भण्डारीले एकदिन एउटा कुरा सुनायो, ‘न्ह्युँ ड्यालसमा महिना दिन बस्नेगरी आउँदैछ । हामी तीनैजना सँगै बस्ने र घुम्ने !’, मैले पत्याएँ । अनि भन्यो, ‘बीस÷पच्चीसवटा गीत तयार राख्नु । यहाँ बसुन्जेल उसले तिम्रो गीत कम्पोज गर्छु भनेको छ ।’ मैले पत्याइनँ । रवीनले पटक–पटक भनेपछि मैले गीत लेख्न सुरु गरेँ । विशेष न्ह्युँकै निम्ति भनेर । 

र, त्यो दिन पनि आयो, न्ह्यूँ आउने दिन । रवीन र म लिन गयौँ । फर्किँदा बाटोमा एउटा विशाल तालमा एकछिन विश्राम ग-यौँ र घर गयौँ । भोलिपल्टदेखि गीतमा धुन भर्ने काम सुरु भयो । र, पहिलो धुन भर्न भने कवितामाथि हौसियो न्ह्यूँ । त्यसपछि गीतमा धुन भर्ने काम बढ्दै गयो, घुम्दै गयौँ, न्ह्यूँको ड्यालस बसाइ पनि कम हुँदै गयो । र, एकदिन न्ह्यूँ नेपाल गयो । म अमेरिकै रहेँ । 

यहाँसम्मको गाथा हाम्रो औपचारिक सम्बन्धको कथा थियो, एउटा कलाकार र कविको औपचारिक सम्बन्ध । हामी नजिकिँदै थियौँ होला, हाम्रो मनले एकर्काको आत्मालाई महसुस गर्दै थियो होला । तर, त्यसको सुइँको सम्भवतः दुवैलाई थिएन ‘युनिभर्स’ लाई बाहेक । न्ह्यूँबारे के लेखूँ ? कसरी लेखूँ ? यति लेखिसकेपछि मलाई लागेको कुरा हो यो । हामीबीच यति अन्तरंग सम्बन्ध बुनिइसकेको छ कि संसारको कुनै शक्तिले त्यसको विपरीत लैजान सक्दैन । न्ह्यूँ को हो ? श्रीमान, पिता, साथी कि संगीतकार ? ऊ सबै हो र त्योभन्दा ज्यादा असल हृदयको मानिस हो । उसँगको संगतले मलाई त्यसो भन्न सिकाएको हो । उसले मसँग कहिल्यै पनि अभिनय गरेको छैन । ऊ खुला किताब हो मेरा लागि । म खुल्ला किताब हुँ उसका लागि । जुन पन्ना पल्टाऊँ, त्यही पन्नासँग लहसिन्छु म । उसका नराम्रा पक्ष उसले कहिल्यै लुकाएको छैन मसँग । तर, कुन पक्ष नराम्रो भनी म देख्दै देख्दिनँ । 

परिवारलाई उसको कामको प्रकृतिका कारण उसले ज्यादा समय दिन नसक्ला, तर उसको निम्ति उसको परिवार कति धेरै प्राथमिकतामा पर्छ त्यो मलाई थाहा छ । ऊ आमा र दाइभाउजुसँग बस्दैन । तर, ऊनीहरूप्रति उसको कति स्नेह छ त्यो मलाई महसुस छ । दिदी बिहे गरेर गइन्, तर भेउ पाएको छु मैले, उनी उसको मनको निकट छिन् ।मानिसको जीवनमा साथीहरूको ठूलो महत्व  हुन्छ । तर, समय सँगसँगै साथीहरू आ–आफ्ना काम र प्राथमिकताअनुसार छुट्दै जान्छन्, नयाँ साथीहरूले ठाउँ लिँदै जान्छन् । तर,न्ह्युँका पुराना साथीहरू यद्यपि, सँगै भेटिन्छन् अनूकुल समय मिलाएर ।

न्ह्यूँलाई सबै साथीहरूको शक्ति, सीमितता र चरित्रबारे ज्ञान छ । तर, त्यसका कारण ऊ साथीहरूलाई ‘क्रिटिकल्ली’ जोख्दैन । ‘अन्कन्डिसनल लभ’ छ उसको साथीहरूप्रति । सम्झी–सम्झी भेट्छ ऊ साथीहरूलाई । साथीहरू पनि उसलाई बडो प्रेम गर्छन् । उसको सांगीतिक यात्राप्रति गम्भीरतापूर्वक चासो राख्छन् । एकदिन उसको साथी पुरुषोत्तम तुलाधर उसलाई भन्छ, ‘अब तँ सक्किइस् । नेपालमा कस्तो कस्तो गीत बनिसक्यो ! त्यस्तो गीत पो बनाउनुपर्छ ।’ यो उसको न्ह्यूँको संगीतप्रतिको चासो थियो । स्नेह थियो ।

‘कस्तो गीत ?’ न्ह्यूँले सोध्यो । त्यतिखेर ‘आधी बाटो हिँडेपछि’ भन्ने गीतले धुम मच्चाइरहेको थियो । पुरुले भन्यो, ‘आधी बाटो हिँडेपछि सुनेको छस् ? हो,  त्यस्तै गीत ।’ मुसुमुसु हाँस्दै न्ह्यूँले भन्यो, ‘कसको संगीत हो थाहा छ ?’ पुरुले अहँ भनेर शिर हल्लायो । ‘मैले नै गरेको हो’ भनेर न्ह्युँले भनिसकेपछि पुरु एकछिन वाल्ल प-यो अनि मुसुक्क हाँस्यो । 

न्ह्यूँसँग गजबको ‘सेन्स अफ ह्युमर’ छ, अर्थात् ऊ हँसाउने बानी भएको मान्छे हो । कुरैपिच्छे मान्छेलाई हँसाउन पनि सक्छ ऊ । मैले संगत गरेका संगीतकर्मीमध्ये नारायणगोपाल दाइ, फत्तेमान दाइ र अम्बर दाइमा मैले त्यस्तो खुबी भेटेको छु । अरूलाई होच्याउने वा अरूलाई आघात पर्ने सेन्स अफ ह्युमर छैन उसँग । कुनै बखत आफ्नो ह्युमरले अरूलाई आघात प-यो कि भन्ने आफैँले महसुस गरेर ऊ आजको अवस्थामा पुगेको हो । उसको संगीतको यात्रा पनि त्यसैगरी आज अर्कै स्वरूपमा रूपान्तर भइसकेको छ । ऊभित्र संगीतको अद्भुत क्षमता भएको कुरा कुनै दिन ऊ गएपछि सबैले ‘एक्स्प्लोर’ गर्नेछन् । ऊ जिउँदो छँदै या उसमा संगीत गर्ने जाँगर छँदै उसको त्यो ‘हुनर’ सबैले बुझ्नुपर्छ भन्ने आग्रह पनि छैन मेरो ।

संगीत मलाई अचम्मको कला लाग्छ । म सानै उमेरदेखि नेपाली र हिन्दुस्तानी सिनेमाको संगीत सुनेर हुर्केको मान्छे हुँ । मेरो संगीत चयन मैले आफैँ अभ्यास गरेर बनेको हो । यो सुन्ने हकको कुरा भयो । तर,संगीत बुद्धिले भरिएको छ कि आत्माले वा त्यो दुवैको सम्मिश्रण हो भन्ने उसको संगतले गर्दा मैले अलिअलि बुझ्न थालेको छु । संगीत भर्दा ऊ गीतलाई वाद्ययन्त्रमार्फत यति प्रेमले सुमसुम्याउँछ, मानौँ नवजात शिशु आफ्नो आमाको वक्षमा निदाइरहेको छ ।

उसका स्वर्गीय पिता नेपाल भाषामा साहित्य सिर्जना गर्थे र आमा पनि गर्छिन् । उसले मातापितालाई पछ्याउँदै बडो मर्मस्पर्शी गीतहरू लेखेको छ । ‘घा याना’ भन्ने नेपाल भाषाको गीत त्यसको महत्वपूर्ण उदाहरण हो । तर, दाइ दुर्गालाल श्रेष्ठको सान्निध्य पाएपछि ऊ संगीतमै बढी केन्द्रित भयो । गीतको मुहान त दुर्गा दाइमै छ भन्ने उसलाई लाग्यो सायद । फलस्वरूप संगत र काव्य अनुरागले होला गीतभित्र काव्य छ कि छैन भन्ने कुरा तुरुन्तै थाहा पाउने क्षमता ऊभित्र बडो मिहिन रूपमा बुनिएको छ । 

न्ह्यूँबारे के लेखूँ ? कसरी लेखूँ ? यति लेखिसकेपछि मलाई लागेको कुरा हो यो । हामीबीच यति अन्तरंग सम्बन्ध बुनिइसकेको छ कि संसारको कुनै शक्तिले त्यसको विपरीत लैजान सक्दैन । न्ह्यूँ को हो ? श्रीमान्, पिता, साथी कि संगीतकार ? ऊ सबै हो र त्योभन्दा ज्यादा असल हृदयको मानिस हो । ऊसँगको संगतले मलाई त्यसो भन्न सिकाएको हो ।

उसमा ईष्र्या छैन, अहंकार छैन, न छ असुरक्षाको भावना । पुरानाको मान राख्ने मात्रै होइन, नयाँ भाइबहिनीहरूलाई पनि न्यानो अँगालो थाप्ने उसको चरित्र छ । नवप्रवेशीहरूको गायन वा संगीतमा सम्भावना देखिनेबित्तिकै उसका आँखा चम्किएको मैले धेरैचोटि देखेको छु । ऊ कुनै दौडमा पनि छैन, आफ्नै लयमा जीवनको उत्सव संगीतको संसारमा मनाइरहेछ । 

‘सिनेमामा संगीत किन भर्दैन ऊ ?’ मुसुक्क हाँसेर जवाफ टार्छ ऊ । मलाई थाहा छ, अधिकांश नेपाली निर्देशकलाई ‘संगीत’ को खाँचो छैन । मानिसहरू मलाई पनि सोध्छन्, ‘खै त ? खुब संगत छ, न्ह्यूँले गीत गरिदिएन ?’ म उनीहरूलाई हाँसेर टार्न सक्दिनँ । भनिदिन्छु, ‘थुप्रै गीतहरू जन्मिएका छन्, त्यसको स्वाद आनन्दले लिइनसकुन्जेल ती हामीबीच नै रहनेछन् । हुनसक्छ हामी सुनेर नअघाउन पनि सक्छौँ ।’

उसले संगीतबाट कृति कमायो, भौतिक सुविधा पनि कमायो । जुनवेला संगीतमा लागेर शहरमा बाँच्ने सम्भावनै थिएन, न्ह्यूँले जिएर देखायो । सायदउसमा भएको इमान्दारी, आत्मविश्वासले काम ग-यो । ऊ उग्र महत्वाकांक्षी थिएन, उसलाई संगीतमै रहनु थियो र अभिमान ऊभित्र थिएन, सायद यसले पनि काम ग-यो । 

सन् २००८ तिर सुनीलको सिडी गर्दा मैले पैसाको अपेक्षा गरेको थिइनँ । तर, न्ह्यूँले मलाई त्यतिखेर बोलाएर तीन हजार रुपियाँ थमाएको थियो । म छक्क परेको थिएँ । गीत लेखेर पैसा रेडियो नेपालमा मात्र पाइन्छ भन्ने लाग्थ्यो । हजारको के कुरा, अपेक्षा नै नराखेका एकजना गीतकारलाई उसले एउटै गीतबापत लाखौँ रूपैयाँ दिएको मैले प्रत्यक्ष देखेको छु । केको लोभले ऊ त्यसो गर्छ ? उसको गुण गाइयोस् भन्ने ? अहँ, ऊभित्रको असल मानिसले, लोभ-मोहभंग भएको मानिसले त्यसो गर्छ । अरूले विरलै गर्लान् ।

भन्छन्, कसैलाई चिन्नु छ भने सँगै यात्रा गर्नुपर्छ । मैले न्ह्यूँसँग पटक-पटक यात्रा गरेको छु । जतिचोटि गरेको छु, ऊप्रति माया झन् गाढा भएको छ, श्रद्धा जागेको छ । केही समयअघि स्नेही भाइ मनीष पाण्डेको निम्तोमा हामी बर्मा घुम्न गयौँ । मेरो टिकटको पैसा न्ह्यूँले हालिदिएको थियो । फर्केर आएपछि तिर्छु भन्थेँ, पैसाको जोहो हुन सकेन र तिर्न पाइरहेको थिइनँ । पैसा सकेसम्म छिटो तिरिहाल्ने मेरो बानी छ, नसक्दा छट्पटी हुन्छ, औडाहा हुन्छ । न्ह्यूँसँग दिनैपिच्छे भेट गर्नैपर्ने काम थियो, र पैसा तिर्न नसक्दा ग्लानि भइरहेको थियो, २० दिनपछि सहनै नसकेर मुख फोरेँ– केही दिन लाग्छ है भनेर । मेरो कुरा चुहिन नपाउँदै उसले ‘भइहाल्छ’ नि भन्यो । त्यसको दुई हप्तासम्म पनि मैले तिर्न सकिनँ । मैले फेरि अर्को भाखा मागेँ । यसपल्ट ऊ रिसायो, ‘मैले ताकेता गरेको छु ? मागेको छु मैले ?’ म द्रवित भएँ । केही समयपछि मैले पैसा फर्काएँ । तर, मलाई प्रशस्त विश्वास छ, नदिएको भए पनि उसले मसँग कहिल्यै माग्ने थिएन । 

बर्मापछि हामी बन्दीपुर गयौँ । एक रात बस्यौँ अनि भोलिपल्ट पोखरा जाने निधो थियो । पृथ्वी राजमार्ग छिर्नेबित्तिकै गाडी बन्द भयो । ठेलेर आधा किलोमिटर पु-यायौँ । केही घण्टा लाग्यो गाडी बन्न । गाडी बनिसकेपछि न्ह्यूँले मर्मतबापत पैसा ति-यो । गाडीभित्र माओई जिम ब्रान्डको सनग्लास थियो । त्यही ब्रान्डको मेरो चश्मा अन्तरंग कवि भाइ उपेन्द्र सुब्बासँग बडो प्रेमपूर्वक अँगालो मार्दा भाँचिएर थन्किएको थियो ।

मेरो नजर त्यसमा गढेको थियो । मागुँ कि क्या हो न्ह्युँसँग जस्तो लागेको थियो । माग्न लाज लाग्ने भएकाले माग्न बिर्सिदिएँ । बाहिर टन्टलापुर घाम लागेको थियो । न्ह्यूँ यति कृतज्ञ थियो त्यो मधेसी मूलको भाइसँग कि उसले सोध्यो, ‘चस्मा चाहिन्छ ? दिउँसो घाममा काम गर्दा काम लाग्छ ।’ भाइले मुन्टो हल्लायो । गाडीभित्र बस्दै न्ह्यूँले त्यो सनग्लास भाइलाई दियो । यो देखेर हामीलाई ग्यारेजसम्म पु-याइदिने अर्को बन्दीपुरे भाइले त्यो भाइसँग बाह्र हजारमा चस्मा किन्छु भन्ने प्रस्ताव राख्यो । भाइले मानेन । त्यो चस्माको मूल्य ४० हजार पर्छ भन्ने थाहा पाएर होइन, उपहार दिएको भएर होला भन्ने मेरो अनुमान ।  

दुई वर्षअघि म आफूले लेखेको उपन्यास ‘अविजित’ सिध्याउन आफ्नै खर्चमा एकान्त खोज्दै नगरकोट गएको थिएँ, केही हप्ताका लागि । एकान्त खोज्न पनि पैसा चाहिने भएछ, त्यतिवेला मनमा चसक्क बिझेको थियो- समाज कता जाँदै छ भनेर । भीडमा रहे पनि एकान्त आफैँभित्र भेटिनुपर्ने होइन र ? खैर, मैले दिनको एक-डेढ पेगमै चित्त बुझाउँछु भनेर सिंगल मल्ट ह्विस्की एक बोतल लगेको थिएँ । दाइ प्रकाश मानन्धरलाई लिएर न्ह्युँ मलाई भेट्न आयो । मैले मेरो ह्विस्की निकालेँ । बडो रमाइलोसँग बोतल रित्तियो । मैले सोचेँ- भोलि कसैलाई एक बोतल मगाउनुपर्ला बाँकी दिनका लागि । 

मैले आग्रह गरेको थिएँ दुवैलाई एक रात– त्यहीँ बस्न । तर, न्ह्यूँलाई बस्न नमिल्ने थियो । म पु-याउन गाडीसम्म गएँ । जाने वेला न्ह्यूँले मलाई आँखा चिम्लिन लगायो र हातमा केही हालिदिएपछि आँखा खोल्न भन्यो । मेरो हातमा सिंगल मल्टको नयाँ बोतल थियो । मैले जसको कल्पना गरेको थिइनँ । त्यति स्नेही, त्यति ख्याल राख्ने र उदारमना हत्तपत्त भेटिन्छन् र ?

यस्ता धेरै उदाहरण छन्, जसले उसको छवि मेरो मानसपटलमा बनेको छ । हो, यसैले भन्छु, न्ह्यूँ कसैबाट पनि फाइदा लिन नजान्ने मान्छे हो । ऊ दिन जान्ने मान्छे हो । उसको शक्तिमध्ये एक यो पनि हो । ऊसँग पनि पीर छन्, चिन्ता छ । तर, ती आउँछन्–जान्छन् भन्ने पनि उसलाई थाहा छ । त्यसैले ऊ पीर र चिन्ताको जंगललाई पार गरिरहेछ जीवनको गीत गाउँदै, नियतिलाई चकित तुल्याउँदै । उसको शक्तिमध्ये एक यो पनि हो । 

सुन्दर र मानवतावादी कृति जन्माउन शारीरिक मात्र होइन, मानसिक विकारबाट मुक्त हुनुपर्छ स्रष्टा । याने रिस, अहंकार र ईष्र्यारूपी टक्सिनबाट आफूलाई ‘डिटक्सिफाई’ गर्नुपर्छ स्रष्टाले । यो मेरो मान्यता हो । यस सन्दर्भमा मलाई लाग्छ म र न्ह्युँबीच एउटा कुरामा भिन्नता छ । मैले आफूलाई मानसिक रूपमा डिटक्सिफाई गर्न वर्षौँ लगाएँ, न्ह्यूँले त्यसो गर्न कोसिसै गर्नुपरेन । उसको सोच पहिलेदेखि नै पवित्र छ । 

न्ह्यूँ र मबीच एउटा समानता पनि छ- जो भेटिन्छन् ईश्वर भेटिन्छन्, जहाँ जाऊँ न्यानो अँगालो भेटिन्छ । अरूको नजरमा हाम्रा साथीहरू जे होऊन् जस्ता होऊन्, त्यसको हामीलाई परवाह छैन र त्यसको जिम्मा पनि लिन सक्दैनौँ । अलग–अलग नाम होलान् तिनका, तर हामी दुवैको तकदिरमा अन्तरंग र दैवजस्ता साथीहरू नसिब छन् । हामी दुवैले यो जीवनमा यसभन्दा अर्थोक के माग्यौँ होला र ?

(लेखकीय : म न्ह्यूँका बारेमा लेख्न तयार थिइनँ अहिले नै । कहिल्यै नलेख्न पनि सक्थेँ । उसका लागि मैले लेख्ने भनेकै गीत हो । उसले मलाई स्नेह देखाउने उसको संगीत हो । नढाँटी भन्नुपर्दा अर्को वर्ष सायद अन्तर्वार्ता गर्ने योजनामा थिएँ । ऊसहित २० जनाको । दीपक सापकोटाको आग्रहको परिणाम हो यो मेरो आलेख ।)