मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ १४ शनिबार ०८:२७:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा निर्वाचन : २१ पदका लागि  ५४ जनाको उम्मेदवारी

Read Time : > 3 मिनेट
२०७९ जेठ १४ शनिबार ०८:२७:००
  • चार वर्षअघि चेन्ज एन्फा नारा दिँदै वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ एकै समूहबाट एन्फा निर्वाचनमा होमिएका थिए, यसपटक यी दुवै एक–आपसका प्रत्याशी बने
  • ६ असारमा हुने एन्फाको निर्वाचनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १३ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदै छ, तर २१ पदका लागि ५४ जनाले मनोनयन दर्ता गराए
  • निर्वाचनमा जिल्लाबाट ४३, चार संघ, ए डिभिजनका १४, बी डिभिजनका ११ र सी डिभिजनका नौ क्लब तथा चार राष्ट्रिय लिगमा छनोट भएका मोफसलका क्लबले मतदान गर्नेछन्

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को ६ असारमा निर्वाचन हुँदै छ । एन्फा निर्वाचनका लागि उम्मेदवारी दिने समय सकेको छ । निर्वाचन समितिले ६ देखि १२ जेठसम्मका लागि मनोनयन दर्ताको समय तोकेको थियो । विभिन्न पदका लागि उम्मेदवारीहरूले मनोनयन दर्ता गराएका छन् । 

केन्द्रीय निर्वाचनमा २१ पदका लागि ५४ जनाले मनोनयन दर्ता गराएका हुन् । एन्फाको निर्वाचनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १३ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदै छ । एन्फा निर्वाचन कमिटीका अनुसार एक वरिष्ठ उपाध्यक्षमा दुईजना उम्मेदवार बनेका छन् । यसैगरी, चार उपाध्यक्षमा आठजनाले उम्मेदवारी दिएका छन् । १३ केन्द्रीय सदस्यका लागि ३६ जना उम्मेदवार बनेका छन् । दुई महिला सदस्यका निम्ति पाँचजनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । सुरुमा दुवै समूहले महिला उम्मेदवारमा सर्वसम्मत गरिने जनाएका थिए । 

फरक धारमा 
चार वर्षअघिको तुलनामा यसपटकको एन्फा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने छाँटकाँट देखिन्छ । अध्यक्षदेखि सदस्यसम्मका लागि धेरैजनाले उम्मेदवारी दिएका छन् । एक अध्यक्षका लागि तीनजनाले उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल अध्यक्षका लागि एक–आपसका प्रत्याशी बनेका छन् । 

पौडेल चुनावी माहोलमा शान्त रूपले प्रचार–प्रसार गरिरहेका छन् । कर्मा र पंकज चुनावी मैदानमा निकै आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । रमाइलो पक्ष के छ भने अघिल्लो निर्वाचनमा कर्मा र पंकज एकै प्यानलका थिए । पछिल्लो चार वर्ष एन्फाभित्रका पदाधिकारी समूह–समूह विभाजित हुँदा कर्मा र पंकज यसपटक फरक धारमा उभिएका छन् ।

अघिल्लो निर्वाचनमा कर्मा र पंकजले ‘चेन्ज एन्फा’ नारा दिँदै निर्वाचनमा होमिएका थिए । निर्र्वाचनमा कर्माको प्यानलले क्लिन स्विप गरेको थियो । अहिलेको वातावरण फरक छ । कुनै समय एक–आपसका सहयोगी बनेका यी दुवै अहिले चुनावी सरगर्मीमा एक–आपसविरुद्ध विभिन्न माध्यमबाट टीकाटिप्पणी गरिरहेका छन् । दुवैले चुनावी अभियान बलियो बनाउन सामाजिक सञ्जाललाई मुख्य हतियार बनाएका छन् । 

सामाजिक सञ्जालमा कर्मा र पंकजबीच वाक युद्धझैँ भइरहेको छ । आफूलाई बलियो दाबेदारी प्रस्तुत गर्ने कर्माले आफ्नो चार वर्षको कार्यकालमा भएका कामहरूको जस लिने प्रयास गरेका छन् । त्यहीँ नै वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजले अध्यक्ष कर्माको कामको विरोध गरिरहेका छन् । शुक्रबार एन्फा अध्यक्ष कर्माले विभिन्न रंगशाला आफ्नै कार्यकालमा बनेको दाबी गरेका छन् । ‘हाम्रो नेतृत्वमा भएका काम’ कर्माले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

कर्माले पोस्ट गरेका पोस्टमा पंकजले कमेन्ट्स मात्र गरेका छैनन, एन्फाभित्र भ्रष्टाचार कसरी भइरहेको छ भनी उल्लेख गरेका छन् । अध्यक्षका दुई प्रत्याशीले जस लिने होडबाजी गरिरहँदा नै अहिले एन्फा निर्वाचनले खेलकुद बजार नै तातेको अवस्था छ ।

सबै पदमा उम्मेदवारी
अर्को महिना हुने एन्फा निर्वाचनका लागि कर्मा र नेम्वाङले निकै तामझामका साथ उम्मेदवारी घोषणा गरेका छन् । गत शुक्रबार नेम्वाङले एन्फाभित्र आर्थिक अनियमितता हटाउन आफूले उम्मेदवारी दिएको जनाएका थिए । यसै साता कर्माले चार वर्षमा पूरा गर्न नसकेका काम गर्न आउने, चार वर्षमा गर्ने वाचा गर्दै उम्मेदवारी घोषणा गरेका थिए । वर्तमान अध्यक्ष कर्माले आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्षदेखि सदस्यसम्मका उम्मेदवारहरूको नाम सार्वजनिक गरेका थिए । यद्यपि, दुवै समूहले आफ्नो जितको दाबी गरेका छन् । 

कर्मा र पंकको समूहले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यसहितको प्यानल बनाएका छन् । कर्माले वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुलीलाई उठाउँदा पंकजले वीरबहादुर खड्कालाई उभ्याएका छन् । पंकजले आफ्नो समूहबाट चार उपाध्यक्ष उभ्याएका छन् । उनको समूहबाट उपाध्यक्षमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका पूर्वकोषाध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, एनआरटीका सुन्दरनरसिंह जोशी र धादिङ एन्फाका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराए । 

कर्मा समूहको प्रतिनिधित्व गर्दै एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, सदस्यहरू दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र पूर्वअन्तर्राष्ट्रिय खेलाडी विज्ञानराज शर्माले उम्मेदवारी दर्ता गराए । पंकजलाई समर्थन गर्दै भोजपुर एन्फा प्रवीण सुवाल, ललिपुर एन्फा अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षत्री, मनाङ–मस्र्याङ्दी क्लबका अध्यक्ष तथा एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत र काभ्रेका विकासनारायण श्रेष्ठले सदस्यमा उम्मेदवारी दर्ता गराए । 

कर्मा समूहबाट मणिकुमार लिम्बू, मणिराज विष्ट, तपेश्वरकुमार राउत, मानदेव हजारा, दीपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, मनीष जोशी, रूपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराए । दुई महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ मलेकु, विन्द्रा देवान, पेमा–डोल्मा लामा र विना नवाछे श्रेष्ठ मनोनयन दर्ता गराए । 

भक्तपुर र सिन्धुलीले भोट नहाल्ने
सिन्धुली र भक्तपुर जिल्ला फुटबल संघले आसन्न एन्फा निर्वाचनमा मताधिकार प्रयोग नगर्ने भएका छन् । भक्तपुरमा मताधिकारलाई लिएर विवाद भएपछि केन्द्रीय निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । सिन्धुली र भक्तपुर निर्वाचनमा सहभागी नहुने भएपछि ४३ जिल्लाका प्रतिनिधिहरूले निर्वाचनमा भोट हाल्ने भएका छन् । एन्फाले भक्तपुरमा हस्तक्षेप गर्दै तदर्थ कमिटी गठन गरेको थियो । सिन्धुली संघले निर्धारित समयभित्र चुनाव गर्न नसकेको र केन्द्रको आह्वान गरेको चुनावमा समेत उपस्थित नभएकाले मताधिकारबाट वञ्चित भएको हो । निर्वाचनमा ४८ सदस्य जिल्लाबाट ४५ जिल्ला मताधिकारसहित निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था थियो । 

संखुवासभा, गोरखा र कास्कीले प्रदेशबाट मताधिकार पाउन सकेनन् । एन्फाको केन्द्रीय निर्वाचनमा जिल्लाबाट ४३, चार संघ, ए डिभिजनका १४, बी डिभिजनका ११ र सी डिभिजनका नौ क्लब तथा चार राष्ट्रिय लिगमा छनोट भएका मोफसलका क्लबले मतदान गर्नेछन् । एन्फा निर्वाचनका लागि जिल्ला क्लबलगायत गरेर कुल ८७ मताधिकार रहनेछ ।

१० जनाको स्वतन्त्र उम्मेदवारी
एन्फा निर्वाचनमा तेस्रो समूहका रूपमा स्वतन्त्र उम्मेदवार पनि छन् । यी १० जना स्वतन्त्र उम्मेदवारले माथिल्लो पदमा उम्मेदवारी दिएका छैनन् । उनीहरूले स्वतन्त्र रूपमा सदस्यमा मनोनयन दर्ता गराएका छन् । मिलन गुरुङ, सुरेन्द्र सिंखाकार, मुखिया, सुन्दर थापा क्षत्री, मानदेव हजारा, विनोद लामा तामाङ, रमेशकुमार श्रेष्ठ, कुमार कटुवाल, कृष्णमुरारी गुरुङ र बाकृष्ण साँवाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।