Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत २ शनिबार ०६:१३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

कर्णाली सम्झाउने भोटखोला

Read Time : > 2 मिनेट
२०७५ चैत २ शनिबार ०६:१३:००

संखुवासभाको उत्तरी सिमाना किमाथांका नाका चीनको तिब्बतसँग जोडिएको छ । नेपाल र चीनलाई सिमानामा रहेको कामु खोलाको मितेरी पुलले मात्रै छुट्याएको छ । संखुवासभाको भोटखोला क्षेत्र मुलुकको विकट कर्णालीजस्तै मानिन्छ । पूर्वाधार विकास केही पनि छैन । भोटखोलाको किमाथांका सामान्य गाउँघरजस्तो छ भने पारिपट्टि तिब्बतको देङदाङ, रियु र चाँगा बजार चौबिसै घन्टा झिलिमिली हुन्छ ।

मुलुक संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकार छन् । अहिलेसम्म आफ्नो क्षेत्रको विकासका लागि कुनै योजना नआए पनि नयाँ सरकारप्रति भोटखोलावासी अझै आशावादी बनेका छन् । उनीहरूले तीनै तहको सरकारबाट आफ्नो क्षेत्रको विकास हुने आशा राखेका छन् । भोटखोलासँगै संखुवासभा जिल्लाको विविध पक्षबारे नवीन गुरुङको रिपोर्ट ः

 तिब्बतसँग परनिर्भर 
भोटे, शेर्पा, तामाङ र गुरुङ जातिको बसोवास रहेको अतिदुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकावासी चीनको स्वशासित क्षेत्र तिब्बतसँग परनिर्भर छन् । भोटखोलाकै किमाथांका नेपालको तिब्बतसँग जोडिएको अन्तिम उत्तरी बिन्दु हो । किमाथांका पुगेका जोकोहीले नेपालभन्दा फरक मुलुकमा पुगेको महसुस गर्छन् । यहाँका मानिस तिब्बतको रियु, देन्दाङ सहर र चाँगा बजारसँगै जोडिएर बसेका छन् ।

करिब पाँच किलोमिटरको फरकमा पर्ने देन्दाङ सहर र नेपाली भूभाग किमाथांकाबीच विकासको सन्दर्भमा आकाश–जमिनको फरक छ । पहिलोपटक किमाथांका नाका पुग्ने जोकोहीलाई भोटखोलाका स्थानीयको अवस्था देखेर दया पलाउँछ । तिब्बतीयन जीवनशैली र नेपाली जीवनशैली करिब–करिब उस्तै देखिन्छ । तर, उनीहरू सडक, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य र विकास निर्माणका कारण सम्पन्न छन् । किमाथांकावासीले भने आफूहरू राज्यबाट अपहेलित भएको महसुस गर्ने गरेको स्थानीय छेदर भोटेले बताए । 

नयाँ सरकार गठनसँगै पूर्वको कर्णालीको उपमा पाएको उच्च हिमाली क्षेत्र भोटखोलाका बासिन्दा विकास निर्माण पूरा हुने आसमा रहेको उनको भनाइ छ । ‘तिब्बत सरकारले नाकाबन्दी गरिदिए हामी त भोकभोकै मर्छौँ । हामीलाई चाहिने दैनिक उपभोग्य वस्तु तिब्बतकै बजारमा निर्भर हुनुपर्छ । सदरमुकाम खाँदबारी झर्न हटियासम्म गाडी चले पनि जान–आउन चार–पाँच दिन लागिहाल्छ ।

तिब्बतको चाँगा, रियु र देङदाङ बजार त दुई–तीन घन्टा किनमेल सकेर पनि फर्किन्छौँ,’ छेदरले भने । भोटखोला क्षेत्रभित्र पर्ने किमाथांका, हटिया, हुङहुङ, चेपुवा, च्याम्ताङ, रिदाक र थुदामका स्थानीयको मुख्य बजार तिब्बत हो । भौगोलिक विकटताका कारण पनि धेरै समस्या रहेको जिल्लाका अग्रज पत्रकार जीवनाथ खनाल बताउँछन् । यसअघि राज्यले भोटखोला क्षेत्रलाई सौतेनी व्यवहार गरे पनि अब भने स्थानीय सरकारबाट आफ्नो अधिकार खोसेर भए पनि ल्याउनुपर्ने उनको भनाइ छ । 

 जोगबनी—किमाथांका नाका खुल्ने आसमा जिल्लावासी
तीन सय ६२ किलोमिटर लम्बाइको जोगबनी—किमाथांका सडकखण्ड निर्माण हुने चर्चा चलेको दशकभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म अगाडि बढ्न सकेको छैन । चीन र भारत जोड्ने किमाथांका नाका खुलेमा यो क्षेत्रले विकासमा धेरै फड्को मार्ने विश्वास संखुवासभावासीको छ । चीन र भारत जोड्ने कोसी–ल्हासा सडक दुई वर्षमा दुई लेनको बनाउने घोषणा वर्तमान प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा नै घोषणा गरेका थिए । तर, सो घोषणा भाषणमै सीमित भएको जिल्लावासीको गुनासो छ ।

किमाथांका नाका मानव बस्ती भएको, सधैँभरि सञ्चालन हुन सक्ने र छोटो नाकाका रूपमा विश्लेषण गरिएको छ । अहिले सिन्धुपाल्चोकबाट चीनको स्वशासित क्षेत्र तिब्बतको रियु सहर हुँदै नेपालको किमाथांकादेखि डोजर लगाएर बाटो खन्ने कार्य भइरहेको छ । सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटर उत्तरमा रहेको किमाथांकाबाट करिब १६ किलोमिटर सडक खनेर खाँदबारीतर्फ ल्याइँदै छ ।

सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्ने हटिया–हुङहुङ–चेपुवा च्याम्ताङसम्मको ९७ किलोमिटर कच्ची सडकमा गाडी गुड्न थालेको छ । च्याम्ताङ–किमाथांकाबीचको १४ किलोमिटर मात्र सडक जोडिने हो भने चीनको सिमाना किमाथांका नाका र संखुवासभा सदरमुकाम खाँदबारी जोडिनेछ । सदरमुकाम खाँदबारीबाट दुई सय किलोमिटरको दूरीमा रहेको विराटनगर–रानी सडक अहिले दैनिक सञ्चालनमा रहेकाले अब किमाथांका र भारतको जोगवनी नाका सञ्चालन हुने भोटखोलावासीले आशा राखेका छन् । 

 संखुवासभाबाट ६ सांसद, विकासको काममा भने उदासीन
संखुवासभाबाट प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी ६ जना सांसद छन् । प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरूले निर्वाचनताका जनताका घरदैलोसम्म आएर भोटखोला क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधार, सडक, खानेपानी, बिजुली बत्तीलाई प्राथमिकता दिनेछौँ भनी बाचा गरेका थिए । तर, उनीहरूले ठोस रूपमा विकासका कामलाई अघि बढाउन सकेका छैनन् । सदरमुकाम खाँदबारीबाट हप्ता दिनको पैदल दूरीमा पर्ने किमाथांकाको सयौँपटक यात्रा गर्दा आफूलाई राज्य र सरकारप्रति सधैँ ग्लानि हुने गरेको भोटखोला गाउँपालिका चेपुवाका शिक्षक फुर्वा भोटे बताउँछन् । ‘हामी आफ्नै देशमा पाहुना नागरिकसरह हुनुपरेको छ,’ उनले भने । 

नेताहरू हेलिकोप्टरमा किमाथांका आउँछन्, भाषण गरेर फर्किन्छन्, तर विकासमा चासो दिँदैनन्
किमाथांका नाका सञ्चालनका लागि विभिन्न सरकारका मन्त्रीहरू, राजनीतिक दलका नेताहरू हेलिकोप्टर चढेर किमाथांका आउने, बाचा र प्रतिबद्धता जनाउने गरे पनि काम भने हुन सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वगृहमन्त्री भीम रावल र शक्ति बस्नेतलगायतका दर्जनौँ नेताहरूले किमाथांका नाकाको अवलोकन गरिसकेका छन् ।

उनीहरूले पटक–पटक सडक र किमाथांका नाका सञ्चालन गर्ने जिल्लावासीसँग प्रतिबद्धता जाहेर गरेको भोटखोलावासीले अझै बिर्सेका छैनन् । किमाथांका नाकासँग भोटखोलावासीको समृद्धि जोडिएको स्थानीय डुक्पा थिकेपा भोटेको भनाइ छ । किमाथांका नाका सञ्चालनमा आए हरेक हिसाबले संखुवासभा जिल्ला र भोटखोला क्षेत्रलाई फाइदा पुग्ने उनले बताए ।