१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०५:५०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बालबालिकाका लागि कोभ्याक्सले  ८४ लाख मात्रा खोप नि:शुल्क दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०५:५०:००

नेपालले कोभिड खोपमा प्रगति गरेको भन्दै फाइजर खोप नि:शुल्क, १५ असारभित्र पहिलो लट आउने

नेपालले कोरोनाविरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको भन्दै कोभ्याक्सले बालबालिकाका लागि निःशुल्क फाइजर खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप निःशुल्क प्राप्त हुने भएको हो । पहिलो चरणमा १५ लाख खोप १५ असारभित्र आइसक्नेछ । 

अहिलेसम्म लक्षित जनसंख्याको ९५.८ प्रतिशतले एक मात्रा र ८४.८ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन् । यसैलाई आधार बनाएर कोभ्याक्स सुविधामार्फत नेपालले खोप पाउन लागेको हो । 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीका अनुसार कोभ्याक्स सुविधामार्फत पाँचदेखि ११ वर्ष उमेर समूहलाई लगाउने फाइजर खोप निःशुल्क प्राप्त हुने भएको हो । खोप अभियान पहिलो चरणमा २१ जिल्लामा सञ्चालन हुनेछ । 

‘१५ असारभित्र पहिलो चरणमा १५ लाख खोप आउने भएको छ, विगतमा फाइजर खोप सञ्चालन भएका २१ जिल्लाका बालबालिकामा पहिले लगाइनेछ,’ महाशाखा प्रमुख डा. मरासिनीले भने । ५६ जिल्लामा फाइजर खोप पहिलोपटक सञ्चालन हुने भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

विभागको परिवार कल्याण महाशाखाका अनुसार पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिका छन् । उनीहरूलाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप आउनेछ । कोभ्याक्सले बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराएको नेपाल पहिलो देश हो । 

अहिले कुनै पनि बच्चालाई कोरोना पजिटिभ देखिएको छैन । उपचारमा पनि बालबालिका छैनन् । चिकित्सकका अनुसार अहिले बच्चा जोखिममा नभएकाले खोप आयातमा आत्तिइहाल्नुपर्ने अवस्था भने थिएन । 

पाँचदेखि ११ वर्षका बालबालिकाका लागि ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजर कम्पनीले जनाएको छ । १२ वर्षभन्दा माथिका सबै उमेर समूहमा ०.३ एमएलका दरले दुई डोज लगाइएको थियो । 

फाइजर खोपको सेल्फ लाइफ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ । 

विगतमा फाइजर खोप चलेका जिल्लाहरू काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, काभ्रे, चितवन, डडेल्धुरा, झापा, सुनसरी, पर्सा, कास्की, बाग्लुङ, कैलाली, कञ्चनपुर, नवलपरासी पूर्व, रुपन्देही, दाङ, बाँके, बर्दिया, कपिलवस्तु, सुर्खेत हुन् । 

साढे ६ अर्ब रुपैयाँ जोगियो
सरकारले ३४ लाख बालबालिकालाई पुग्ने कोरोनाविरुद्धको खोप खरिद गर्ने तयारी गरेको थियो । खोप खरिदका लागि साढे ६ अर्ब रुपैयाँ तय गरिएको थियो । तर, कोभ्याक्स सुुविधामार्फत निःशुल्क खोप आउने भएपछि सरकारको रकम जोगिएको छ ।