अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय
खातामा अपरिचितलाई रकम जम्मा गर्न अनुमति दिने उत्सव प्रहरी हिरासतमा
‘ह्वाट्स एप’मा चिनेकै आधारमा बैंक खातामा रकम जम्मा गर्न स्वीकृति दिँदा दोलखा शैलुङ गाउँपालिका–८ शैलुंगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ प्रहरी फन्दामा परेका छन् । उनलाई प्रहरीले ठगीधन्दामा पक्राउ गरेको हो ।सोह्रखुट्टे बस्दै आएका उत्वस मोटर ग्यारेजका सामान्य कर्मचारी हुन् । सामाजिक सञ्जालमा रमाइरहेका उनलाई केही दिनअघि एक अपरिचितले ‘ह्वाट्स एप’मार्फत पार्टटाइम जागिरको अफर गरे । अपरिचितसँग कामको प्रकृति बुझे । पारिश्रमिक सोधे । अफर चित्तबुझ्दो देखिएपछि उनी सहकार्यका लागि तयार भए । अन्ततः सोही सहकार्य उनलाई प्रहरी हिरासतसम्म लग्ने कडी बन्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अपरिचितसँग भएकोे सहमतिबमोजिम उनले विभिन्न बैंकमा खाता खोले । खाता नम्बर अपरिचितलाई उपलब्ध गराए । पूर्वसहमतिअनुसार बैंक खातामा अब रकम जम्मा हुन थाल्यो । उक्त रकम कसले कहाँबाट कसरी जम्मा गरिरहेको छ भन्ने उत्सवले जान्न जरुरी ठानेनन् । उनी जम्मा भएको रकम झिक्न भारतीय सीमानजिक जान्थे । र, अपरिचितले भनेअनुसारको व्यक्तिलाई बुझाउँथे । यसबापत उनले प्रतिमहिना २० हजार रुपैयाँ पारिश्रमिक बुझ्थे । अनि आफ्नो काममा लाग्थे ।
यो क्रम झन्डै ६ महिना चल्यो । केही घन्टाको परिश्रमबाटै प्रतिमहिना २० हजार रुपैयाँको कमाइले उत्सव दंग थिए । गत सोमबार जब प्रहरी टोली हत्कडी लिएर सोह्रखुट्टेस्थित मोटर ग्यारेज आइपुग्यो, उनी रनभुल्ल परे । प्रहरीले पक्राउ गरी उनलाई अनुसन्धान गर्न भन्दै मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लग्यो । उनको नाममा खुलेका विभिन्न बैंकका खाता र जम्मा भएका रकम देखायो । ती सबै ‘अनलाइन स्क्याम’ मार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहमार्फत जम्मा भएको प्रहरीले बताएपछि उत्सव छाँगाबाट खसेझैँ भए ।
प्रहरीका अनुसार अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका एक सदस्यले पछिल्लोपटक काठमाडौंकी एक नवधनाढ्य महिलालाई ६ लाख २७ हजार ६ सय ११ युरो चिट्ठा परेको भन्दै ह्वाट्स एपमार्फत सन्देश पठाएका थिए । सोही रकम प्राप्त गर्ने धुनमा महिलाले त्यो बैंक खाता प्रयोग गरेकी थिइन्, जुन उत्सवको नाममा खोलिएको थियो । अनुसन्धानमा संलग्न कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले ठगीको रकम उत्सवको बैंक खातामा जम्मा भएको खुलेपछि पक्राउ गरिएको बताए । ‘अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह छ । उनीहरूले विभिन्न बहानामा नेपालीलाई ठग्छन् । ठगेको रकम नेपालीकै खातामा जम्मा गर्छन् । सोही खातावालामार्फत भुक्तानी लिन्छन् । र, फरार हुन्छन् । यहीक्रममा उत्वसलाई ‘स्क्यामर’ले प्रयोग गरेको देखिन्छ । तर, यस्ता ठगीका मास्टर माइन्ड कहिल्यै पनि पक्राउ पर्दैनन्,’ उनले भने ।
उत्सवको खातामा यसरी जम्मा भएको थियो २९ लाख
ह्वाट्स एपमार्फत काठमाडौंकी एक महिलालाई ६ लाख २७ हजार ६ सय ११ युरो (आठ करोड २७ लाख ६४ हजार रुपैयाँ) चिट्ठा परेको खबर आयो । सँगै, चिट्ठाबापतको रकम भुक्तानीका लागि कानुनी प्रक्रिया मिलाउन अन्तर्राष्ट्रिय वकिल कम्बोडिया आएर बसेको र नेपाल आउन थप एयर–फेयरको टिकट आवश्यक परेको खबर ह्वाट्स एपमा थियो ।
महिलामा रकम प्राप्तिको आशक्ति जाग्यो । एयर–फेयरको टिकटबापत २८ लाख ७९ हजार रुपैयाँ पठाउन राजी भइन् । अपरिचितले बैंक खाता पठायो । खातामा उनले भनेबमोजिमको रकम जम्मा गरिन् । महिना बित्यो । तर, भनेअनुसारको न वकिल नेपाल आयो, न चिट्ठाबापतको रकम नै । ठगी भएको महसुसपछि ती महिला प्रहरी कार्यालय पुगेर जाहेरी दिइन् । प्रहरीले रकम जम्मा गरेको बैंक खाता र खाताको धनी खोज्न थाल्यो । खाता उत्सवको रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । तर, गिरोहका मुख्य योजनाकार फरार भए ।