मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ११ बुधबार १४:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ११ बुधबार १४:०९:००

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरूले निगमको टेकुस्थित कार्यालयको मूलगेटमा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए ।  

रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको उनीहरूले बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरूको आरोप छ । निगम घेराउ कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरूले जनताको कर ‘एसी गाडीमा झन्डा हालेर हिँड्नका लागि नभएको’ भन्दै राज्यले जनतामाथि परिरहेको संकटको वेलामा अभिभावकत्व लिनुपर्ने बताए । पार्टीमा लागेकै भरमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरूको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने उनीहरूले बताए । 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनै पनि हिसाबले ठीक नभएको संयुक्त विद्यार्थी संगठनको भनाइ छ । सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन विरोधका कार्यक्रम थप सशक्त बनाउँदै जाने चेतावनीसमेत उनीहरूले दिएका छन् । निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरूलाई सेवा, सुविधा थप गर्न सरकार लागिपरेको भन्दै उनीहरूले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताए । उनीहरूले आयल निगमले ३३ अर्ब घाटा भनेको, तर ५५ अर्ब नाफा भएको कुरा जनतालाई नभनेको आरोपसमेत लगाए ।

प्रदर्शनकारीहरूले ‘गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, ‘अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार’, ‘आयल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद’ जस्ता नारा लगाएका थिए । 

सरकारले गत आइतबार रातिबाट लागू हुने गरी प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । हाल पेट्रोल प्रतिलिटर रु. १८०, डिजेल र मट्टीतेल रु. १६३, आन्तरिक हवाईमा एक सय ६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय रुपैयाँले बढाएर १८ सय रुपैयाँ पुर्‍याइएको छ ।