मदिरा तथा जुवातास नियन्त्रण अभियानपछि व्यवसाय परिवर्तन

२०७५ चैत १ शुक्रबार १५:१३:०० | पर्वत

पर्वत महाशिला गाउँपालिकाभित्र मदिरा तथा जुवातास नियन्त्रण अभियान सञ्चालन भएपछि स्थानीय व्यवसायमा परिवर्तन आएको छ । केही समयअघिसम्म मदिरा व्यापार गरिरहेका स्थानीय कृषि तथा पशुपालन क्षेत्रमा लागेका हुन् ।

गाउँपालिकाले गत भदौ महिनादेखि प्रत्येक वडामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको थियो । सोही अनुरुप गाउँमा रक्सी विक्री वितरण गर्न निषेध गरिएको थियो । ‘गाउँपालिकाले सञ्चालन गरेको अभियानलाई साथ दिन व्यवसाय परिवर्तन गरेर कृषिमा लागेको छु’ स्थानीय राजबहादुर रानाले भने, ‘अब रक्सी बेचेर होइन कृषि काम गरेर दोब्बर आम्दानी गर्ने सोच बनाएको छु ।’ 

गाउँपालिकाका पशु प्राविधिक दिनेश नासो गुरुङका अनुसार राजबहादुर मात्रै नभएर उत्तः व्यवसाय सञ्चालन गर्दै आएका अधिकांश कृषि तथा पशुपालन क्षेत्रमा लागेका छन् । 

अभियानले पायो सार्थकता

अधिकाशं मगर र गुरुङ जातिहरुको बाहुल्यता रहेको यस गाउँपालिकाभित्र अहिले मदिरा नियन्त्रणका लागि जनप्रतिनिधि, प्रहरी, कर्मचारीदेखि स्थानीय समाजसेवी एकजुट भएका छन् । ‘अभियानको सुरुवाती चरणमा केही अप्ठ्यारो आइपरे पनि सामाजिक रुपमा अभियानले सकरात्मक सन्देश दिँदै गएको छ’ गाउँपालिका प्रवक्ता जीवन उच्चै ठकुरीले भने ।

महाशिला गाउँपालिकाभित्र सबैभन्दा बढी गुरुङ समुदायको बाहुल्यता रहको वडा नं. २ बालाकोटबाट उक्त अभियान सुरु गरिएको थियो । कार्यक्रमको वेवास्ता गरेर जाँडरक्सी बिक्री वितरण गरेको पाइएका अथवा सेवन गरेको पाइएमा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने नियम रहेको ठकुरीले बताए ।

प्रतिकृया दिनुहोस