मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
यौन दुर्व्यवहार आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै गौशाला प्रहरी कार्यालयअगाडि नाराबाजी गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी ।
टेकराज थामी काठमाडौं
२०७९ जेठ ११ बुधबार ०६:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यौन दुर्व्यवहार अभियोगमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ जेठ ११ बुधबार ०६:५५:००

छात्राविरुद्ध यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्सका दुई शिक्षकविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । विद्यालयमा अध्ययनरत छात्राविरुद्ध यौन दुर्व्यवहार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाले शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो । पक्राउपछि दुवैविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेको हो । 

अधिकारी र पौडेलविरुद्ध तीन छात्राले गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले पक्राउ परेका दुई अभियुक्तविरुद्ध पाँच दिनको म्याद थप भएको बताए । ‘बाल यौन दुर्व्यवहार अभियोगमा पक्राउ परेका दुईजनाविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । उनीहरूले छात्राविरुद्ध यौन दुर्व्यवहार गरेको बुझिएको छ । घटना सम्बन्धमा अनुसन्धान जारी छ,’ उनले भने ।

यौन दुर्व्यवहारपछि शिक्षकविरुद्ध विद्यालयका छात्रछात्रा विद्यालय पोसाकमै विरोधमा उत्रिएका थिए । गौशालास्थित प्रहरी वृत्त अगाडि धर्नामा उत्रिएका उनीहरूले शिक्षकबाट पटक–पटक यौन दुर्व्यवहारमा परेको बताएका छन् । विद्यार्थीका अनुसार अधिकारीले विद्यालयका एक छात्रालाई ‘स्कर्ट’मा सेक्सी देखिने, ‘विल यु बी माई बेड पार्टनर ?’, ‘कलेजको शुल्क तथा बस भाडा मिलाइदिने’, लगायतका प्रस्ताव गर्दै आएका थिए । 

‘जनार्दन सरले हाम्रो एक साथीसँग यौन सम्बन्धका लागि अफर गरेका रहेछन् । स्कर्टमा सेक्सी देखिने भनेका रहेछन् । अन्य केटाहरूसँग बोल्दासमेत हप्काउँदा रहेछन् । प्रस्ताव स्वीकार गरे फी मिलाइदिने, बस भाडा मिलाइदिनेजस्ता कुरा गर्दारहेछन्,’ आन्दोलनमा सहभागी एक छात्राले भनिन् ।

जनार्दन कक्षा ११ र १२ का व्यवस्थापन संकायका संयोजक हुन् । आफ्ना साथीमाथि यौन दुर्व्यवहार गरेको सूचना पाएपछि छात्राहरूले केही महिनाअघि नै विद्यालय प्रशासनमा जानकारी गराएका थिए । तर, विद्यालय प्रशासनले कारबाही गर्नुको सट्टा उल्टै शिक्षकलाई संरक्षण गर्दै आएका थिए । अजित भएपछि आन्दोलनमा उत्रिनुपरेको एक छात्राले बताइन् । ‘जनार्दन सरको हर्कत पहिलेबाटै शंकास्पद थियो । हामीले प्रशासनमा उजुरी पनि गरेका थियौँ । तर, प्रशासनले उनलाई कारबाही गरेन । उल्टै संरक्षण गर्नेतर्फ उन्मुख भएको देखियो । उनको हर्कत नरोकिएपछि आन्दोलनमा उत्रिनुपरेको हो,’ उनले भनिन् ।

अधिकारीविरुद्ध सुरुमा कक्षा ११ मा अध्ययनरत एक छात्राले यौन हिंसा परेको पीडा सार्वजनिक गरेकी थिइन् । प्रहरीमा उनले नै पहिलोपटक किटानी जाहेरी दिएकी हुन् । त्यसपछि उनका अन्य दुई साथीले पनि अधिकारीविरुद्ध जाहेरी दिएका हुन् । कक्षा १२ मा अध्ययनरत छात्रामाथि पनि अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीको सम्पर्कमा पुगेकी छिन् । तर, उनले किटानी जाहेरी दिएकी छैनन् ।