मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्याम खतिवडा
२०७५ चैत १ शुक्रबार १४:१६:००
Read Time : > 1 मिनेट
समाचार

दोलखाको विकट गाउँ मार्बुमा बन्यो सुविधा सम्पन्न विद्यालय भवन

Read Time : > 1 मिनेट
श्याम खतिवडा
२०७५ चैत १ शुक्रबार १४:१६:००

दोलखाको सुदुर उत्तरमा पर्ने विकट गाउँ मार्बु स्थित हिमवर्ती माध्यमिक विद्यालयका वालबालिकाहरुले झण्डै ३ वर्षको कष्टकर टहराको बसाइपछि सुविधासम्पन्न भवन पाएका छन् । 

दोलखाको उत्तरी क्षेत्र स्थित गौरीशंकर गाउँपालिका -७ मार्बुमा रहेको हिमवर्ती माविको भवन २०७२ को भूकम्पमा भत्किएको थियो । भूकम्पपछि जस्ताको टहरोमा बस्दै आएका विद्यार्थीहरुले अहिले भने सुविधा सम्पन्न पक्की भवनमा सरेका हुन् ।

बिद्यालयका प्रधानाध्यापक शुब शेर्पाले यति धेरै सुविधासम्पन्न भवन पाउने अनुमाननै नगरेको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने ‘भएको भवन पनि भत्कियो अब कसो गर्ने होला भन्ने चिन्तामा थियौं, अत्याधुनिक प्रविधिको सुविधासम्पन्न भवन पायौं अहिले सबै खुसी छौं’ । साँढे ३ करोडको लागतमा हिमवर्ती माविको भवन पुनर्निर्माण सम्पन्न भएको हो । 

गत वर्षको कात्तिकबाट सुनकोसी वल्डवाइड जेभिले निर्माण सुरु गरेको भवन बिहीबार जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा र स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।मार्बुको बिच गाउँमा ६ रोपनी क्षेत्रफलमा बनेको ३ तलाको १२ कोठे भवनको गेटसहित सिंगो विद्यालय कम्पाउण्ड तार बारले घेरिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) दोलखाका प्रमुख इन्जिनियर राजेन्द्र श्रेष्ठले जिल्लाभर विद्यालय पुनर्निर्माण तिब्र गतिले अघि बढेको बताएका छन् । इन्जिनियर श्रेष्ठले गत आर्थिक वर्ष र चालु वर्षमात्रै एडिबिको सहयोगमा दोलखामा ३४ वटा विद्यालयको पुनर्निर्माण भैरहेका बताए ।

नयाँ बनेको भवन छेउमा २ वटा अस्थायी शिकाइ केन्द्र छन् जसमा ४ वटा कोठा छन अर्को व्यवस्था नभइन्जेल सोही कोठाहरुलाई स्टोर, हल आदी सञ्चालन गरिने तयारी भएको प्रधानध्यापक शेर्पाले सुनाए । 

आयोजना कार्यन्वयन इकाइका प्रमुख देबकुमार बरालले सो विद्यालयमा बालमैत्री सिकाइका लागि आवश्यक पर्ने सम्पूर्ण कुराहरु व्यवस्थापन भैसकेको जनाएका छन् । उनका अनुसार विद्यालय पुर्णरुपमा अपांगमैत्री र स्वच्छ वातावरणमैत्री छ । 

बालमैत्री एवं व्यवस्थित शौचालय 
बिद्यालयमा  निर्माण भएको सौचालय व्यवस्थित र बालमैत्री भएको एसियाली विकास बैंकका दोलखास्थित इन्जिनियर सरोजकुमार महतोले बताए । अपांगता भएकाहरुका लागि छुट्टै संरचनाको शौचालय बनेका छन् । शौचालयमा प्याड व्यवस्थापनको अर्को संरचनासमेत बनेको छ । कक्षाकोठा सहित अन्य भागहरुमा विद्युतीय पहुँच विस्तार गरिएको छ । विद्युत आपुर्ती नहुँदा सोलार सिस्टमको व्यवस्था समेत गरिएको छ ।

१ सय ९० बिद्यार्थी, अझै ६ कोठा अपुग 
२०२४ सालमा स्थापना भएको हिमवर्ती माबिमा अहिले १ सय ९० जना बिद्यार्थी अध्ययनरत छन् । प्रधानध्यापक शेर्पाले सुविधासम्पन्न भवन पाएसँगै अब गुणस्तरीय शिक्षा दिलाउन लागि पर्ने सुनाए । उनले बिद्यालयमा तह अनुसारको शिक्षक दरबन्दी नभएको गुनासो समेत गरे ।

शेर्पाले माबि तह सञ्चालन गरेको ७ वर्ष भयो तैपनि उक्त तहको सामान्य अनुदान बाहेक शिक्षक दरबन्दी नै नभएको बताए । प्रधानध्यापक शेर्पाले अहिले बनेको १२ कोठे भवन बाहेक कम्प्युटर, ल्याब, पुस्तकालय, बैठक हल र अतिरिक्त कक्षा गरी थप ६ कोठा अपुग भएको बताएका छन् ।