मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ९ सोमबार ०९:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दमकमा गठबन्धनलाई नेतृत्व, नगर सभामा भने एमालेको दुईतिहाइ

प्रमुख–उपप्रमुख गुमाए पनि एमालेले वडामा शक्ति गुमाएन

Read Time : > 1 मिनेट
२०७९ जेठ ९ सोमबार ०९:०९:००

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा यसपटक एमालेले नगर प्रमुख र उपप्रमुख गुमायो । प्रजातन्त्र पुनस्र्थापनापछिका सबै स्थानीय निर्वाचनमा जित निकालेको एमाले यसपटक प्रमुख र उपप्रमुखविहीन बन्न पुग्यो । तर, दमकमा एमालेले शक्ति भने गुमाएको देखिँदैन ।

यसपटक पनि एमालेले दमक नगरसभामा दुईतिहाइभन्दा बढी शक्ति आर्जन गरेको छ । दमक नगरसभाका ५२ सदस्यमध्ये ३९ एमालेका छन् । १३ जना मात्र गठबन्धनबाट विजयी भएका छन् । कांग्रेस, माओवादी र राप्रपासहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुख जिते पनि सभामा बहुमत जित्न सकेन । दमकका १० वडामध्ये एमालेले सातवटा वडामा जित निकालेको छ । वडा नम्बर ७ मा मात्र गठबन्धनका सबै उम्मेदवार विजयी भए । बाँकी तीन वडामा वडाध्यक्ष जिते पनि सदस्य गुमाएको छ । 

कांग्रेस, माओवादी र राप्रपासहितको गठबन्धनबाट नगर प्रमुख निर्वाचित राप्रपाका राम थापाले १७ हजार ५२५ मत पाए । निकटतम प्रतिस्पर्धी बनेकी एमालेकी गीता अधिकरीले १६ हजार ९ सय ६६ मत ल्याइन् । उनी पाँच सय ५९ मतले पराजित भइन् । उपप्रमुख जितेकी कांग्रेसकी रेगिना भट्टराईले १७ हजार ७२ मत पाउँदा एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ७७४ मत पाए । दमक नगरपालिकाका १० वटै वडामा एमालेका अध्यक्षले १९ हजार ६७० मत पाएको देखिन्छ । गठबन्धनको मत योभन्दा निकै न्यून छ । यद्यपि, तीनवटा वडामा एमाले वडाध्यक्षका उम्मेदवार पराजित भए । तर, सबै वडामा एमालेले प्राप्त गरेको मत हेर्दा दमकमा एमाले शक्तिशाली नै देखिन्छ । 

एमालेले १, २, ३, ५, ६, ८ र ९ वडा जित्दा गठबन्धन ४, ७ र १० मै चित्त बुझाउन बाध्य भयो । केही वडामा एमालेका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई एक हजार हाराहारी मतले पराजित गरे । ‘मतदाताले प्रमुख र उपप्रमुखमा मात्र एमालेको विकल्प खोजेको देखियो । वडामा एक ढंगले गएको देखियो,’ नेपाली कांग्रेसका दमक सभापति प्रकाश प्रसाईं भन्छन्, ‘दलहरूले गठबन्धन बनाए पनि मतदाताले गठबन्धन रुचाएको पाएनौँ । त्यसकारण वडामा एमाले शक्तिशाली नै बन्यो ।’
एमाले नेताहरू भने आफ्ना वडाध्यक्षका उम्मेदवारलाई गठबन्धनबाट पनि मत आएको दाबी गर्छन् । ‘हाम्रा उम्मेदवार राम्रा भएर, उनीहरूको काम हेरेर आएको मत हो,’ नेकपा एमालेका दमक अध्यक्ष गेहनाथ पोखेल भन्छन्, ‘मेयर, उपमेयरचाहिँ आफ्नै दलमा हाल्नुभयो । मेयर, उपमेयरमा ६ दल एकातिर र हामी एक्लै भएका कारण पराजित हुनुपरेको हो ।’

नगरको नेतृत्व गरेको गठबन्धन दल स्पष्ट अल्पमतमा छ । नगरसभामा स्पष्ट अल्पमतमा रहे पनि नवनिर्वाचित नगरप्रमुख राम थापा त्यो अंकगणितले समस्या नहुने बताउँछन् । ‘उहाँहरू (एमाले)ले पनि काम गर्ने हो । हामी पनि काम नै गर्ने हौँ,’ उनी भन्छन्, ‘उपमेयर एमालेको भएको भए अलिकति गाह्रो हुन्थ्यो । तर, उपमेयर पनि गठबन्धनकै हुनुहुन्छ । समन्वय गरेर काम गरिन्छ ।’