१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ९ सोमबार ०८:१५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गाडी होइन खाना बनाउने ‘ग्यारेज’

‘क्याफे’को सजावटमा काम नलाग्ने गाडी, ड्रम, सिटी रिक्साको प्रयोग

Read Time : > 1 मिनेट
२०७९ जेठ ९ सोमबार ०८:१५:००

ढोकाबाट भित्र छिर्नेबित्तिकै पुराना गाडीको पार्टपुर्जा, बिग्रिएका बाइक, सिटी सफारीलाई चिटिक्क पारेर सजाएर राखिएको छ । ती सवारीसाधनमा विभिन्न देशका सवारी नम्बरप्लेट झुन्ड्याइएको छ । झट्ट हेर्दा ग्यारेजजस्तै लाग्छ । गाडी बनाउने ग्यारेजजस्तै देखिए पनि यहाँ गाडी भने बन्दैनन् । यहाँ त स्वादिलो र मीठो परिकार बन्छ । यो हो दमकको ‘ग्यारेज क्याफे’ । यहाँको फरक सजावट र परिकारको स्वादले जोकोहीलाई पटक–पटक डोहोर्‍याउँछ ।

क्याफेको रिसिप्सनमा स्कुल बसको अघिल्लो भाग छ । बसको नम्बर छ ‘लुका–१०८७’ । क्याफेभित्र मोटरसाइकल, साइकलका पांग्रा यत्रतत्र छन् । बिग्रिएको सिटी रिक्सालाई पेन्टिङ गरेर बस्ने ठाउँ बनाइएको छ । बस्नका लागि अरू क्याफेमा जस्तो यहाँ कुर्सी, सोफा छैनन् । केमिकलको ड्रमलाई सोफाको स्वरुप दिएको छ । ग्यारेजका सञ्चालक हुन्, लुका राई । ‘यहाँका प्रत्येक सजावटमा मेरो पसिना बगेको छ । मेरै डिजाइनमा निर्माण गरेको हुँ । आफैँ काम गरेको छु,’ उनी भन्छन्, ‘पुनः प्रयोग गर्न सकिने ग्यारेजका सामान हामीले प्रयोग गरेका छौँ ।

फालिएको बसको टाउको, बिग्रिएको सिटी–रिक्सा, बाइक र केमिकलको ड्रम छ । यहाँको सजावटमा जे छ सबै ग्यारेजबाट ल्याएका सामान छन् । त्यसैले यो ग्यारेज हो ।’ उनले विभिन्न देशको सवारी नम्बर प्लेट पनि राखेका छन् । ‘धेरै देशको सरकारी र निजी नम्बर प्लेट छ । यहाँ आएका ग्राहकलाई अरू देशको नम्बर प्लेट थाहा नहोला भनेर जानकारी दिन राखेका हौँ,’ उनले भने । दमकमा यो क्याफे सञ्चालन भएको एक वर्ष भयो । स्थापनादेखि नै ग्राहकको मन तानेको छ । ‘एउटै खाले क्याफे त कति छन् कति । ममा पहिलैदेखि केही फरक गर्ने सोच थियो,’ उनी भन्छन्, ‘धेरै वर्षदेखि यो डिजाइन सोचेको थिएँ ।

कोरोनाले जुराएको ‘ग्यारेज’
राईले वैदेशिक रोजगारीका क्रममा कतार र दुबईमा १४ वर्ष बिताए । कलिलै उमेरमा बिदेसिएका राईमा सुरुदेखि नै देशमै केही गर्ने सोच थियो । कोरोना महामारीपछि उनी स्वदेश फर्किए । ‘कोरोनाले विदेशमा कोठामै थुनिएर बस्दा विदेशमै मर्ने भएँजस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले स्वदेश फर्किने निधो गरेँ ।’ पछिल्लो समय उनी कतारमा थिए ।

उनले मासिक नेपाली पाँच लाख रुपैयाँ कमाउँथे । तर, कोरोनापछि भने मासिक पाँच लाखको तलब त्यागेँ । ‘नेपाल फर्किएर १४ दिन क्वारेन्टिनमा बस्दा देशमै केही गर्नुपर्छ भन्ने सोचेँ । पहिलादेखि फरक गर्नुपर्छ भन्ने थियो । क्वारेन्टिनमा ग्यारेजको डिजाइन बनाएँ,’ उनी भन्छन्, ‘क्वारेन्टिनबाट निस्किएपछि यो डिजाइन सुरु गरेँ ।’ उनले झन्डै एक वर्षमा यो क्याफे तयार पारे । क्याफे निर्माणका लागि करिब ६० लाख खर्च भएको उनी बताउँछन् । ‘कोभिडको त्यस्तो समयमा खोलेको भए पनि म सन्तुष्ट छु । ग्राहकले साथ दिनुभएको छ । स्वदेशमै केही गर्न सकिन्छ भन्ने लागेको छ,’ उनी भन्छन्, ‘मैले यहाँ ११ जनालाई रोजगारी दिएको छु । म आफैँ पनि काममा खटिन्छु ।’ यही डिजाइनमा काठमाडौंमा पनि क्याफे खोल्ने योजना रहेको उनी बताउँछन् ।