बाग्लुङको ढोरपाटन नगरपालिका–७ गाल्ढुङमा चट्याङबाट एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । आइतबार दिउँसो वर्षासँगै परेको चट्याङ लाग्दा स्थानीय कालीप्रसाद विकको १९ वर्षीय छोरा बालचन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ ।
विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा सोही स्थानमा बस्ने १६ वर्षीय बिट्टु विक १६ वर्षीय लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनीहरूको सामान्य उपचारपश्चात् थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी जनाएको छ ।