१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ८ आइतबार १८:१८:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङले बनाए इतिहास

Read Time : > 1 मिनेट
२०७९ जेठ ८ आइतबार १८:१८:००

धरान उपमहागनरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । स्वतन्त्रबाट लाैराे चुनाव चिह्नबाट चुनाव लडेका उनले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४७६२ मतले पराजित गरेका हुन् । अन्तिम मतपरिणामअनुसार विजयी राईले २०८२१ मत प्राप्त गर्दा कांग्रेसका राईले जम्मा १६०५९ मत प्राप्त गरे । उपमहानगरको प्रमुखमा नेकपा एमालेकी  मञ्जु भण्डारी सुवेदीले  १२८२५ मत प्राप्त गरिन् । 

त्यसैगरी, उपमेयरमा नेकपा (माओवादी केन्द्र) का अइन्द्र विक्रम वेघाले २०५१० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पदमप्रसाद लिम्बूले १७६०६ मत प्राप्त गरे ।  

सामाजिक अभियन्ताको रूपमा चिनिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनले मेयरमा उम्मेदवारी दिने भएपछि एक्लै घरदैलो कार्यक्रम गरेका थिए । उनले ०७६ को उपनिर्वाचनमा पनि मेयरमा उम्मेदवारी दिँदा ४२२ मत प्राप्त गरेका थिए । ०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि धरानमा वामपन्थीहरूले एकछत्र शासन गर्दै आएका थिए । तर, यसपटक वामपन्थीहरूको ‘किल्ला’ ढलाउँदै साम्पाङले इतिहास रचेका छन् । 

धरान ०१७ सालमा नगरपालिका घोषणा भएको थियो । ०४८ सालमा ध्यानबहादुर राई, ०५४ मा मनोज मेन्याङ्बोले पालिका प्रमुख जितेका थिए । उनीहरू दुवैले एमालेबाट चुनाव जितेका थिए । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बा उपमहानगर प्रमुखमा विजयी भएका थिए । ०७६ को उपनिर्वाचनमा कांग्रेसका तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराएका थिए । तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र ल्याएका थिए । 

वडा नम्बर २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ गरी एमालेले जम्मा १० वडामा जित हात पारेको छ । कांग्रेसले १,३, ९, ११, १६, १८, २० गरी जम्मा सातवटा वडामा विजय हासिल गरेको छ । वडा नम्बर १७ मा भने माअ‍ोवादी केन्द्रका नगर अध्यक्षसमेत रहेका मनोज भट्टराई विजयी भएका छन् । १ लाख ३२४ कुल मतदाता रहेको उपमहानगरपालिकामा ६२ हजारले मतदान गरेका थिए ।