मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ११:५२:००
Read Time : > 2 मिनेट
खेलकुद

विश्वचर्चित खेलाडीमा  फुटबलको वर्चस्व

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ११:५२:००

संसारकै लोकप्रिय खेलाडी को होलान् ? यसमा धेरै डिबेट गर्न सकिन्छ । तर, एक लोकप्रिय खेलकुद पोर्टल इएसपिएनले विभिन्न आधारमा तय गरेको लोकप्रिय खेलाडीको सूचीमा फेरि पनि पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो पर्न सफल भएका छन् । अघिल्लो संस्करणमा पनि उनी नै विश्वको नम्बर एक लोकप्रिय खेलाडीमा पर्न सफल भएका थिए । खेलकुद वेभ पोर्टल इएसपिएनले संसारका सय चर्चित खेलाडीको लिस्ट सार्वजनिक गर्दा फुटबल खेलाडीकै वर्चस्व छ । सूचीमा फुटबलका सर्वाधिक ३७ खेलाडी सयभित्र समावेश छन् । बास्केटबलका लेब्रोन जेम्स दोस्रो चर्चित खेलाडी हुन् । गत संस्करणमा पनि उनी नै दोस्रो नम्बरमा थिए । इएसपिएनले सामाजिक सञ्जाल, विज्ञापन तथा फलोअर्सका आधारमा विश्वका चर्चित सय खेलाडीको सूची सार्वजनिक गरेको हो । 

सोसियल मिडियामा अगाडि
पोर्चुगल तथा युभेन्टसका खेलाडी रोनाल्डो सोसियल मिडियामा सक्रिय छन् । तथ्यांकअनुसार उनका १४ करोड ८० लाख फलोअर्स छन् । सोसियल मिडियामा शतप्रतिशत खोजी गर्ने खेलाडीमा रोनाल्डो नै अगाडि रहेको इएसपिएनले जनाएको छ । गत वर्ष रोनाल्डोले ३ करोड ७० लाख डलर विज्ञापन तथा अन्य क्षेत्रबाट कमाएका थिए । रोनाल्डो गत वर्ष युभेन्टसमा १० करोड पाउन्डमा अनुबन्ध भएका थिए । रोनाल्डोले च्याम्पियन्स लिग तथा फिफा वर्ष खेलाडी अवार्ड समान ५ पटक जितेका छन् । यता दोस्रो स्थानमा रहेका जेम्सलाई ४७ प्रतिशतले सोसियल मिडियाले पछ्याउने गरेका छन् । उनका ४ करोड ५० लाख सोसियल मिडियामा फलोअर्स छन् । उनले गत वर्ष विज्ञापनबाट मात्रै ५ करोड २० लाख डलर कमाएका थिए । 

मेसी र नेमार शीर्ष ४ भित्र
अर्जेन्टिनी फुटबलर लियोनल मेसी विश्वकै तेस्रो चर्चित खेलाडी बनेका छन् । विश्वकै महँगा खेलाडी नेमार जुनियर चौथो स्थानमा यथावत् छन् । तेस्रो स्थानमा रहेका मेसीलाई ५४ प्रतिशतले सोसियल मिडियामा सर्च गरेको इएसपिएनले जनाएको छ । सोसियल मिडियामा उनको फलोअर्स १० करोड ३१ लाख छन् । गत वर्ष उनले विज्ञापनबाट २ करोड ८० लाख डलर आर्जन गरेका थिए । उनी गत संस्करणमा पनि तेस्रो स्थानमा कायम थिए । यता आश्चर्यजनक रूपमा मिक्स मार्सल आर्टका कोनर म्याकग्रेर पाँचौँ स्थानमा रहे । उनी गत संस्करणमा १८औँ स्थानमा थिए । टेनिसबाट दुई खेलाडी शीर्ष १० भित्र रहे । सर्वाधिक २० ग्रान्डस्लाम जितेका स्विट्जरल्यान्डका रोजर फेडेरर छैटौँ स्थानमा छन् । उनको गत वर्षभन्दा एक स्थान खस्किएको छ । अर्का टेनिस स्टार राफेल नाडाल आठौँ स्थानमा यथावत् छन् । यता बास्केटबलका अमेरिकन खेलाडी स्टिफेन करी नवौँ स्थानमा रहेको इएसपिएनले जनाएको छ । 

उड अझै चर्चित
गल्फ जगत्मा अमेरिकन खेलाडी टाइगर उड सफल खेलाडी हुन् । यसका साथै उड उत्तिकै विवादास्पद खेलाडीमा पर्छन् । परस्त्रीसँग सम्बन्ध राख्दा उडको गल्फ करिअर लगभग समाप्त भएको थियो । पछिल्लो दुई वर्षमा आफ्नो बानी सुधारेका उड विश्वकै १०औँ चर्चित खेलाडी बनेका छन् । गल्फमा पिजिए टुर उपाधि नजिते पनि उडले अझै पनि गल्फ क्षेत्रमा आफ्नो प्रभुत्व कायम राखेका छन् । 

बंगलादेशका ३ क्रिकेटर
यसैगरी बंगलादेशका ३ खेलाडीले सयभित्र आफ्नो नाम लेखाउन सफल भए । साकिब अल हसन, मुस्फिकर रहिम र विन मुर्तजा विश्वकै चर्चित खेलाडीमा परेका छन् । यता आउट अफ फर्ममा रहेका भारतका युवराज सिंह अहिले पनि उत्तिकै चर्चित भएको इएसपिएनको दाबी छ । युवराज १८औँ स्थानमा छन् । भारतीय राष्ट्रिय टोलीबाट बाहिर रहेका स्पिनर हरभजन सिंह ७४औँ र सुरेश रैना २२औँ चर्चित खेलाडी हुन् ।

क्रिकेटमा विराट अगाडि
थोरै राष्ट्रमा खेलिने क्रिकेटका विराट कोहली शीर्ष सातभित्र परेका छन् । गत संस्करणमा कोहली ११औँ नम्बरमा थिए । क्रिकेटमा उनी सर्वाधिक लोकप्रिय खेलाडी रहेको इएसपिएनले जनाएको छ । सोसियल मिडियामा विराटलाई २५ प्रतिशतले फलो सर्च गरेका छन् । सामाजिक सञ्जालमा विराटलाई ३ करोड ७१ लाखले फलो गर्छन् । गत वर्ष उनले विज्ञापनबाट २ करोड डलर आर्जन गरेका थिए । भारतीय टोलीका कप्तान विराटबाहेक अन्य क्रिकेटर शीर्ष १० भित्र अटाएका छैनन् । क्रिकेटका ११ खेलाडी लोकप्रिय सूचीमा छन् । तीमध्ये आठ खेलाडी भारतकै छन् । पूर्वकप्तान महेन्द्रसिंह धोनी १३औँ स्थानमा छन् । धोनीलाई पाँच प्रतिशतले खोजी गर्छन् । कमाइमा धोनीले विराटलाई पछाडि राखेका छन् । गत वर्ष धोनीले २ करोड ८० लाख डलर कमाएका थिए ।