मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत १ शुक्रबार ११:३६:००
Read Time : > 2 मिनेट
प्रदेश

मदिरा र लागुऔषधले अपराध बढ्दै

Read Time : > 2 मिनेट
२०७५ चैत १ शुक्रबार ११:३६:००

सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिरमा केहीअघि पकेटमारले दुईजना भक्तजनको नगद चोरी गरे । दर्शनका लागि आएका एक भारतीय नागरिकको १० हजार भारु र अर्का नेपाली नागरिकको ७ हजार नेपाली रुपैयाँ चोरियो । मन्दिर परिसरमा भएको यो पहिलो चोरी थिएन । यसअघि पनि थुप्रै दर्शनार्थी भक्तजन चोरीको सिकार भइसकेका छन् । 

मन्दिरका पीठाधीश महाकान्त ठाकुर स्वयंले यस्ता घटना बारम्बार भइरहेको बताए । ‘यसअघि पनि यस्ता सानातिना घटना भइरहेका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘घटनाका प्रकृति हेर्दा पेसेवर चोरले नभई मदिरा र लागुऔषध प्रयोगकर्ताले घटना गराइरहेका छन् ।’ मन्दिर आसपासको क्षेत्रमा पछिल्ला केही महिनादेखि आपराधिक घटना बढेको उनले बताए ।

विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थलमा मदिरा बिक्री–वितरण गर्न नपाउने व्यवस्था भए पनि मन्दिरआसपास खुलेका अनगिन्ती मदिरा पसलका कारण यस क्षेत्रमा चोरी, तस्करी र महिला हिंसाका घटना बढेको स्थानीयको भनाइ छ ।

मदिरा रोक्न स्थानीय तह निस्प्रभावी
हुन त स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सुर्ती, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धिको जिम्मा स्थानीय तहलाई दिएको छ । तर, गाउँपालिकाले पनि यस विषयमा कुनै अग्रसरता देखाउन सकेको छैन । आन्तरिक कलह, असहमति र अलमलका कारण छिन्नमस्ता गाउँपालिकाको गाउँसभासमेत हुन सकेको छैन ।

‘चुनावका वेला जनतामा बाँडेको आश्वासन र काम गर्न नसकेको अवस्था हेर्दा आत्मग्लानि हुन्छ,’ वडाध्यक्ष यादवले भने, ‘सोचअनुसार १ प्रतिशत पनि काम गर्न सकिएन, अनुहार देखाउन नसक्ने अवस्था छ ।’ न्यायिक समितिमा दर्ता भएकामध्ये ६० प्रतिशतभन्दा बढी उजुरी महिला हिंसासँग सम्बन्धित रहेको र त्यसको मूल कारण मदिरा नै भएको उनले बताए । ‘थाहा पाएर पनि हामी केही गर्न सकिरहेका छैनौँ,’ यादवले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले पदाधिकारीको असमझदारीका कारण कुनै पनि गतिविधि गर्न नसकिएको भन्दै मदिराको नियन्त्रण र व्यवस्थापन गर्न कार्यविधि बनाउने तयारी भइरहेको जानकारी दिए । ‘कार्यविधि गाउँसभाले जारी गर्ने हो, अहिलेसम्म गाउँसभा नै नभएको छैन,’ उनले भने, ‘फागुनभित्रै गाउँसभा सम्पन्न गराउन अथक प्रयासमा छौँ ।’ मन्दिरमा सुरक्षाका लागि गाउँपालिकाले सिसीक्यामरा जडान गर्ने योजना पनि बनाएको उनले जानकारी दिए ।

इजाजत लिएरै मदिरा कारोबार
इलाका प्रहरी कार्यालय सखडाका सइ सुरेश यादवले मन्दिरआसपासमा मदिराका पसल भए पनि धरैजसो पसल अनुमति लिएरै खुलेकाले तत्काल हटाउन र नियन्त्रण गर्न नसकिएको बताए । सदरमुकाम राजविराजबाट १० किलोमिटर दक्षिण तथा भारतीय सीमानजिकै रहेको छिन्नमस्ता भगवती मन्दिर मुलुकका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो । भगवतीको पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । मन्दिरमा नेपालका अतिरिक्त भारतको दिल्ली, कोलकातालगायतका स्थानबाट समेत दर्शनार्थीहरू दर्शन तथा पूजापाठका लागि आउने गरेका छन् । मनोकामना पूरा भएपछि बलि दिन आउनेहरूको पनि यस मन्दिरमा वर्षेनी भिड लाग्ने गरेको छ । यस मन्दिरमा बोका, भेडा, परेवा, हाँस, माछालगायतको बलि दिने गरिन्छ ।

एउटै वडामा साढे दुई सय मदिरापसल
मन्दिरआसपास २ दर्जनभन्दा बढी र छिन्नमस्ता गाउँपालिका–३ मा मात्रै २१६ वटा मदिरापसल सञ्चालनमा रहेको वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए । नजिकै पर्ने भारतको बिहार राज्यमा मदिरा निषेध गरिएपछि यहाँ सोही क्षेत्रका मानिसलाई लक्षित गरी मदिरा पसल खुल्ने क्रम बढेको हो । तर, त्यसको असर भने आफ्नै गाउँ–समाज र मन्दिरमा पूजापाठका लागि आउने भक्तजनमा परेको छ ।

मन्दिरबाट ३ किलोमिटरको दूरीमा रहेको भारतीय खुला सिमानाका कारण पछिल्लो समय भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न नेपाल आउने र नेपालबाट लागुऔषध प्रयोगका लागि भारत जाने प्रवृत्ति बढेको स्थानीयले बताएका छन् । वडाध्यक्ष यादवले समेत अनियन्त्रित रूपमा बढेको मदिरा र लागुऔषधको प्रयोगले समाज र घरपरिवारमा नकारात्मक असर परिरहेको बताए । आँखाअगाडि गलत क्रियाकलाप भइरहँदा पनि केही गर्न नसकिएको भन्दै उनले लाचारी व्यक्त गरे ।