१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत १ शुक्रबार ११:३८:००
Read Time : > 1 मिनेट
खेलकुद

भुटानको हारसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा

Read Time : > 1 मिनेट
२०७५ चैत १ शुक्रबार ११:३८:००

भुटान लगातार दुई खेलमा पराजित भएपछि पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेश र आयोजक नेपाल एक खेलअगाडि नै सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा बिहीबार भुटान बंगलादेशसँग २–० ले पराजित भएको हो । भुटान प्रतियोगिताको उद्घाटन खेलमा नेपालसँग ३–० ले पराजित भएको थियो । अब समूह एमा नेपाल र बंगलादेशबीचको खेलले समूह विजेता चुनिनेछ । 

 मध्यान्तरपछि २ गोल
पहिलो हाफमा भुटानले बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा भुटानले रणनीति परिवर्तन गर्न नसक्दा बंगलादेश हाबी देखियो । दोस्रो हाफको दोस्रो मिनेटमै बंगलादेशले १–० को अग्रता लियो । मिडफिल्डर मोस्तमिसरत जहान मौसमीले डिबक्सभित्रबाट हेडिङ गोल गरी बंगलादेशलाई अग्रता दिलाइन् । उनको सटीक हेटिङ बलको भुटानी गोलरक्षक संगीता मंगेरले मेसो पाउन सकिनन् ।

दोस्रो हाफको ४१औँ मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनले डिबक्सभित्र गोलरक्षकविरुद्ध वान भर्सेज वानमा गोल गर्दै बंगलादेशलाई २–० ले अग्रता दिलाइन् । खेलको सुरुदेखि नै बंगलादेश भुटानलाई दबाबमा राख्न सफल भएको थियो । पहिलो हाफमा बंगलादेशका खेलाडीले सहज गोल अवसर चुकाएका थिए । भुटानले आफूभन्दा बलियो प्रतिद्वन्द्वीविरुद्ध बलियो रणनीति अपनाएको थियो । दोस्रो हाफमा बंगलादेशले रणनीति परिवर्तन ग¥यो । भुटानविरुद्ध काउन्टर एट्याक्टमा गोल गर्ने रणनीति बंगलादेशले लिएको थियो । 

 थोरै पोस्ट चार्ज
भुटानले बंगलादेशविरुद्ध पोस्ट प्रहारको अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफको ११औँ मिनेटमा भुटानी स्ट्राइकर सोनाम वांङमोको फ्रिकिक क्रसबारमाथि गएको थियो । दोस्रो हाफको २८औँ मिनेटमा भुटानका स्ट्राइकरले डिबक्सभित्र हेडिङ गरेको बल पहिलो बारनजिकिँदै बाहिरिएको थियो । साफ च्याम्पियनसिपमा भुटान यसअघि बंगलादेशसँग ७–० र १–० ले पराजित भएको थियो । 

तथ्यांकमा भुटान र बंगलादेश
भुटानले साफ च्याम्पियनसिपमा अहिलेसम्म १ अंक मात्र पाएको छ । भुटानले एउटा खेल पनि जितेको छैन । भुटानले १४ खेल खेल्दा १ खेलमा मात्र बराबरी नतिजा निकालेको छ । भुटानले १३ खेलमा हार बेहोरेको छ । भुटालने विपक्षी पोस्टमा ३ गोल गर्दा ७७  गोल खाएको छ ।  दुईपटक सेमिफाइनमा पुगेको बंगलादेशले १६ खेल खेल्दा २५ अंक जोडेको छ । बंगलादेशले  ८ जित र ७ हारको सामना गरेको छ । बंगलादेशले एउटा खेल बराबरी खेलेको छ । बंगलादेशले ३८ गोल गर्नुका साथै २५ गोल खाएको छ । 

 बंगलादेशविरुद्ध राम्रो प्रदर्शन
भुटानका प्रशिक्षक सुङजेलीले  नेपालभन्दा बंगलादेशविरुद्ध खेलाडीले राम्रो प्रदर्शन गरेको बताएका छन् । ‘मेरा खेलाडीले बंगलादेशविरुद्ध राम्रो खेले,’ उनले भने, ‘नेपालसँगको प्रदर्शन राम्रो थिएन ।’ नेपालसँगको उद्घाटन खेलमा दुई राम्रा खेलाडी घाइते हुँदा त्यसको प्रभाव परेको उनले बताए । यता बंगलादेशका प्रशिक्षक गोलम रब्बानीले खेलाडीको आत्मविश्वास र राम्रो तयारीका कारण जित सम्भव भएको बताए । ‘भुटानविरुद्ध ४ गोलको अपेक्षा राखेको थिएँ,’ गोलमले भने, ‘हाम्रो लक्ष्य पूरा भएन ।’ उनले आयोजक नेपाल प्रतियोगिताकै बलियो टोली भएको बताएका छन् ।