१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ ५ बिहीबार ०९:०९:००
Read Time : > 3 मिनेट
निर्वाचन डिजिटल संस्करण

स्थानीय तह निर्वाचन : लमजुङका चार स्थानीय तहमा कांग्रेस र चार स्थानीय तहमा एमाले विजयी

Read Time : > 3 मिनेट
२०७९ जेठ ५ बिहीबार ०९:०९:००

लमजुङको आठवटै स्थानीय तहको मतगणना सकिएको छ । आठ  स्थानीय तह रहेको लमजुङमा चारवटा स्थानीय तह प्रमुखमा कांग्रेस र चार स्थानीय तहमा एमाले विजयी भएको छ ।  लमजुङको सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका गुमानसिंह अर्याल पुनः पाँच वर्षका लागि नगरप्रमुखमा निर्वाचित भएका छन् । उपप्रमुखमा पद्मा गुरुङ निर्वाचित भएकी छिन् । दुवैजना सत्तागठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् । 

गुमानसिंहले यसपटक सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई दुई हजार आठ मतले हराएका छन् । अर्यालले नौ हजार चार सय ७९ मत पाएका छन् । सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिजंग तामाङलाई चार हजार १५ मतले हराएकी पद्माले आठ हजार सात सय १४ मत पाएकी छिन् । श्रीकान्तले सात हजार चार सय ७१ मत पाएका छन् । हरिजंगले चार हजार ६ सय ९९ मत पाएका छन् । गठबन्धनबाट असन्तुष्ट बागी उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा एक हजार ६ सय १५ मत पाएका छन् ।

यस्तै, लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखममा सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । एमाले उम्मेदवार राजकुमार श्रेष्ठलाई तीन सय ३७ मतले हराउँदै पाण्डे विजयी भएका हुन् । पाण्डेले ६ हजार पाँच सय ५२ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठ ६ हजार दुई सय १४ मत पाएका छन् । उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई एक हजार तीन सय ४२ मत अन्तरले हराउँदै विजयी भएकी छिन् । सीताले ६ हजार चार सय १६ मत प्राप्त गरिन् । माओवादी केन्द्रका उपेन्द्रले पाँच हजार ६५ मत पाए । 

लमजुङको राइनास नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार खड्गबहादुर गुरुङ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार पुष्पराज खनाल विजयी भएका छन् । प्रमुखमा निर्वाचित गुरुङले पाँच हजार आठ सय २६ मत ल्याएका छन् । प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले चार हजार दुई सय ४४ मत ल्याएका छन् । पाँच वर्ष राइनास नगरपालिकाको प्रमुखमा रहेका सिंहबहादुरलाई यसपटक खड्गबहादुरले जितेका हुन्। उपप्रमुखमा निर्वाचित खनालले पाँच हजार आठ सय ८६ मत पाएका छन् । प्रतिद्वन्द्वी एमालेकी शोभा पन्थी (चिलुवाल) ले तीन हजार दुई सय ३४ मत ल्याएकी छिन् । 

लमजुङको सुन्दरबजार नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् । उपप्रमुखमा एमाले उम्मेदवार भवानी केसी निर्वाचित भएकी छिन् । विजयी कांग्रेस उम्मेदवार कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका भीमबहादुर गुरुङ ६ हजार ३६ मत ल्याएका छन् । एमाले उम्मेदवार भवानी केसीले पाँच हजार १८ मत ल्याएकी छिन् । 

निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले चार हजार चार सय ७५ मत ल्याएका छन् । सत्तागठबन्धनका आधिकारिक उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार दुई सय चार मत ल्याएका छन् । 

लमजुङको दोर्दी गाउँपालिकामा सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका लालबहादुर गुरुङलाई हराउँदै एमालेका युवराज अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । लालबहादुरलाई ८७ मतान्तरले हराउँदै आगामी पाँच वर्षका लागि दोर्दी गाउँपालिका अध्यक्षमा युवराज निर्वाचित भएका हुन् । युवराजले चार हजार सात सय ३८ मत ल्याए । लालबहादुरले चार हजार ६ सय ५१ मत ल्याए । 

उपाध्यक्षमा गठबन्धन उम्मेदवार, कांग्रेस दोर्दी गाउँपालिका सभापतिसमेत रहेका विच्छबहादुर घले चार हजार नौ सय ५८ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेकी उषा गुरुङले चार हजार एक सय ९० मत ल्याएकी छिन् । विच्छबहादुर र उषाको मत आठ सय ४८ को फरक छ  । 

जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेमा उम्मेदवार निर्वाचित भएका छन् । सत्तागठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका अर्जुन गुरुङ र जुनामाया थापाले जित हासिल गरेका हुन् । यसअघि पाँच वर्ष गाउँपालिका अध्यक्षमा रहेका अर्जुन पुनः पाँच वर्षका लागि गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । अर्जुनले ६ हजार एक सय ३० मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथले चार हजार तीन सय ६९ मत ल्याएका छन् । उपाध्यक्षमा जुनमाया पाँच हजार आठ सय ९५ मत ल्याएर विजयी भएकी छिन् । सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजय तामाङले चार हजार १० मत ल्याएका छन् । 

लमजुङको दूधपोखरी गाउँपालिकामा सत्तागठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ तीन हजार ६५ मत ल्याएर दूधपोखरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ दुई हजार पाँच सय ६८ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी एमालेका तेजबहादुर गुरुङले दुई हजार २४ मत पाएका छन् । उपाध्यक्षका प्रत्याशी एमालेकी कृष्णमाया गुरुङले एक हजार सात सय ७४ मत प्राप्त गरेकी छिन् । यस्तै, जिल्लाको क्व्होलासोंथर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । 

क्व्होलासोंथर गाउँपालिकाको अध्यक्षमा एमालेका सुर्यप्रसाद गुरुङ तीन हजार आठ सय ५६ मत ल्याएर विजयी भएका छन्  । उनका प्रतिद्वन्द्वी  कांग्रेसका टेकबहादुर गुरुङले दुई  हजार चार सय ८९ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा एमालेकी गमी गुरुङ तीन हजार नौ सय ८९ मत ल्याएर  वियजी भएकी छिन् । कांग्रेसकी सिर्जना गुरुङले दुई हजार तीन सय ४० मत पाएकी छिन् । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्षदेखि वडासदस्यसम्म नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।  

लमजुङमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएकोे थियो । यसअघि ०७४ को स्थानीय तहमा लमजुङमा एमाले र माओवादी केन्दबीच चुनावी तालमेल भएको थियो । ०७४ मा दुईवटा स्थानीय तह प्रमुख जितेको कांग्रेसले अहिले चार पालिका प्रमुख र एउटा पालिकाको उपप्रमुख जितेको छ । यसअघि पाँच पालिका प्रमुख जितेको एमालेले चार पालिका प्रमुख र पाँच उपप्रमुख जितेको छ । यस्तै, ०७४ को स्थानीय तहमा दोर्दी गाउँपालिकाको प्रमुख र मर्स्याङ्दी गाउँपालिकाको उपप्रमुख जितेको माओवादी केन्द्रले यसपटक राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाको उपप्रमुख जितेको छ ।