सुडानी राष्ट्रपतिविरुद्ध चर्कियो प्रदर्शन

२०७५ चैत १ शुक्रबार १०:५६:०० | कायरो

सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शन चर्किएको छ । विपक्षी राजनीतिक दलहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्काएका छन् । विभिन्न पेसागत समूह, अधिकारवादी, कर्मचारीलगायतले आन्दोलनको समर्थन गरेका छन् । तर, राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताएका छन् । 

तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दशकदेखि नै राष्ट्रपति बासिर छन् । उनकै शासनकालमा तेलको धनी मानिएको दक्षिण सुडान सन् २०११ मा टुक्रिएको थियो भने डार्फर द्वन्द्वमा संलग्न रहेको आरोपमा उनीमाथि जाति हत्या एवं युद्ध अपराधका निम्ति अन्तर्राष्ट्रिय वारेन्ट जारी भएको थियो । 

सुरक्षाकर्मीको बाक्लो उपस्थितिको प्रवाह नगरी सडकमा भेला भएर दिनहुँजसो राष्ट्रपतिविरुद्ध प्रदर्शन भइरहेको छ । सबैभन्दा ठूला प्रदर्शन राजधानी खार्तुम र छिमेकी सहर ओम्डुरम्यानमा भइरहेका छन् । स्वतन्त्र व्यावसायिक युनियनको छाता समूह पनि राष्ट्रपतिले राजीनामा दिनुपर्ने र नयाँ अन्तरिम सरकार गठन हुनुपर्ने माग गर्दै सडक प्रदर्शनमा सहभागी भइरहको छ । युनियनले नयाँ सरकारले निर्वाचनको तयारी गर्नुपर्ने माग गरेको समूहकी प्रवक्ता सराह अब्देल–जलीलले सुडानी जनताका आकांक्षा पूरा गर्न वर्तमान शासनसत्ता पूर्ण रूपमा प्रतिस्थापन हुनुको विकल्प नरहेको बताइन् । 

‘अब यो सत्तासँग मोलमोलाई गर्नु छैन । इतिहासले वर्तमान शासन सत्तासँगको वार्ता उपलब्धिमूलक हुँदैन भन्ने देखाइसकेको छ,’ उनले थपिन् ‘हामी हाम्रो शान्तिपूर्ण प्रतिरोधलाई निरन्तरता दिन्छौं ।’ राष्ट्रपति अल–बासिरले राष्ट्रिय संवादका लागि आह्वान गर्नुको सट्टा सविधानमा संशोधन गरेर आफूलाई थप शक्तिशाली बनाएको विपक्षीको भनाइ छ । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा आफूलाई योग्य बनाउने गरी संविधान संशोधनको प्रस्ताव अघि सारेको भन्दै विपक्षी राष्ट्रपतिको सो कदमको विरोधमा छन् ।

राष्ट्रपतिले सेनामा आफ्नो पकड बलियो बनाउन सबै प्रान्तका गभर्नर हटाएर वरिष्ठ सैनिक अधिकृतलाई नियुक्त गरेका छन् । उनले आपत्कालीन स्थितिको घोषणा गर्नुका साथै अवैधानिक भनिएका सबै भेला वा सभामा प्रतिबन्ध लगाउने तथा प्रदर्शनलाई निस्तेज बनाउन पूर्णअधिकार सुरक्षा फौजलाई दिएका छन् । ओमारले गत महिना सरकार विघटन गरेका थिए । उनले मनोनयन गरेका नयाँ प्रधानमन्त्रीले बुधबार नयाँ मन्त्रिपरिषद् घोषणा गरेका छन् । रक्षा र विदेश मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले आफू मातहत राखेका छन् । अल–बासिरले नेसनल कंग्र्रेस पार्टीको नेतृत्व त्यागेर कट्टरपन्थी इस्लामी नेता अहमद हारुनलाई सुम्पिएका छन् । 

 

प्रतिकृया दिनुहोस