१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत १ शुक्रबार ०८:५७:००
Read Time : < 1 मिनेट
अर्थ

मूल्‍य नपाउँदा अलैँची किसान निराश

Read Time : < 1 मिनेट
२०७५ चैत १ शुक्रबार ०८:५७:००

अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै अलैँची कृषकहरू निराश बन्दै गएका छन् । विगतका वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी अलैँचीको मूल्यमा कमी आएपछि घरमै थन्क्याएर राख्न बाध्य भएको स्थानीयहरूको भनाइ छ । अहिले ठेकेदारले प्रतिमन २५ देखि ३० हजारमा अलैँची माग्ने गरेको खाँदबारी–४ सेकाहाका जितबहादुर गुरुङले बताए । उनले भने, ‘अलैँचीबाट विगतमा राम्रो मूल्य पाएपछि हौसिएर धान र मकै फल्ने खेतबारीमा समेत अलैँची लगाएँ, तर अहिलेको मूल्यमा दिने हो भने आफ्नो परिश्रम नै उठ्दैन ।’ चिचिला गाउँपालिका कागतेका अनुप गुरुङले वार्षिक सय मनभन्दा बढी अलैँची बिक्री गर्दै आएका थिए । पाँच वर्षअघि उनले प्रतिमन १ लाख १० हजार रुपैयाँसम्मका अलैँची बिक्री गरेका थिए । तर, अहिले बजार मूल्य नपाएपछि उत्पादनमा समेत भारी गिरावाट आएको उनले बताए । 

अलैँची महासंघ संखुवासभाका अध्यक्षसमेत रहेका खाँदबारी नगरपालिका–४ का स्थानीय कृषक छत्रमणि काफ्लेले करिब सय रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका छन् । आफैं व्यापारीसमेत रहेका काफ्लेले मूल्यमा भारी गिरावट आएको बताए । ठूला व्यापारीहरूले अलैँची माग नगरेपछि हामीले गाउँघरमा संकलन गरेका अलैँची कता निर्यात गर्ने समस्यामा परेको उनले बताए । बर्सेनि मूल्यमा भारी गिरावट आएपछि कृषकसँगै व्यापारी पनि मारमा परेको अलैँची महासंघका अध्यक्ष काफ्लेले बताए ।  

जिल्लामा राम शाही, गोल शाही, डम्बर शाही, जिर्मले जातका अलैँची खेती भइरहेको छ । जिल्लाका १० स्थानीय तहहरू खाँदबारी, चैनपुर, मादी, धर्मदेवी, पाँचखपन नगरपालिका र चिचिला, मकालु, सिलिचोङ, सभापोखरी र भोटखोला गाउँपालिकामा अलैँची उत्पादन हुन्छ  । कृषि ज्ञानकेन्द्र संखुवासभाका अनुसार जिल्लामा ३ हजार २ सय ५९ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ ।