मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
प्रत्येक अवाले
२०७५ चैत १ शुक्रबार १०:४५:००
Read Time : > 4 मिनेट
सेयर बजार

नेप्सेसँगै बढ्यो कारोबार रकम

Read Time : > 4 मिनेट
प्रत्येक अवाले
२०७५ चैत १ शुक्रबार १०:४५:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । यस दिन करिब ५० करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । बजार खुलेको केही समयपछि नै ओरालो लागेको नेप्से १ हजार १ सय ४२ बिन्दुमा पुगेको थियो । सो समयपछि बजारमा सेयर खरिदकर्ता बढ्न थालेपछि नेप्से ओरालो लागेको थियो । अघिल्लो दिन बजारमा १३ अंक करेक्सन भएको थियो । सेबोनले आगामी वैशाखदेखि ५ लाखभन्दा बढी रुपैयाँबराबरको सेयर खरिद गर्न प्यान अनिवार्य गर्ने भएको छ । सोभन्दा कम लगानी गर्नेलाई प्यान स्वैच्छिक गरेको छ । यस व्यवस्थामा लगानीकर्ताले मश्रित प्रतिक्रिया दिएका छन् । केही लगानीकर्ता आक्रोशित भएका छन् भने केही लगानीकर्ताले यसलाई राम्रो भनिरहेका छन् । सोहीकारण यसले बजारमा बिहीबार खासै प्रभाव पार्न सकेन ।

बजार सारांश
नेप्से परिसूचक यस दिन ५ दशमलव ४० अंक बढेर १ हजार १ सय ५५ दशमलव ५० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ३६ अंक बढेर २ सय ४६ दशमलव १० बिन्दुमा पुगेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४५ अंक बढेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव ४४ अंक बढेको छ । यस दिन १ सय ७१ कम्पनीको ४ हजार २ सय ३८ पटकको कारोबारमा ४८ करोड ५८ लाख ७७ हजार रुपैयाँबराबरको १३ लाख ३९ हजार ९ सय ७२ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ६० दशमलव ४० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव ९३ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४८ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

नेप्सेको यस दिनको पिभट बिन्दु १ हजार १ सय ५१ दशमलव ६९ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ४६ दशमलव ५० बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ३७ दशमलव ५१ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे नेप्सेले १ हजार १ सय ५० दशमलव ६८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ६५ दशमलव ८७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

९ समूहको बढ्यो, १ को घट्यो
यस दिन कारोबारमा आएका १० समूहको परिसूचक मध्ये ९ समूहको परिसूचक बढेको छ भने १ समूहको परिसूचक घटेको छ । यस दिन होटेल समूहको परिसूचक सर्वाधिक २ दशमलव ३४ अंक बढेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक १ दशमलव ५६ अंक, वित्त समूहको शून्य दशमलव ८३ अंक, वाणिज्य बैंक समूहको शून्य दशमलव ४६ अंक, जलविद्युत् र निर्जीवन बिमा समूहको शून्य दशमलव ४ अंक बढेको छ । कारोबारमा आएको अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ३३ अंक, लघुवित्त समूहको शून्य दशमलव १५ अंक र जीवन बिमा समूहको शून्य दशमलव शून्य ९ अंक बढेको छ ।  

२ कम्पनीको सेयर मूल्यमा सर्किट
यस दिन कारोबारमा आएका दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट लागेको छ । यस दिन तिनाउ डेभलपमेन्ट बैंक र युनाइटेड फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको छ । त्यसैगरी, रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ६ दशमलव ३८ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । राधी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य यस दिन ६ दशमलव १२ प्रतिशत घटेको छ । त्यसैगरी, नेपाल हाइड्रो डेभलोपर्सको सेयर मूल्य र एनआइबिएल समृद्धि फन्ड–१ को एकाइ मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

नेसनल लाइफको संस्थापक सेयर सर्वाधिक कारोबार
कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो कम्पनीको यस दिन २१ करोड रुपैयाँबराबरको १ लाख ९६ हजार २ सय ६२ कित्ता संस्थापक सेयर खरिद–बिक्री भएको छ । नेपाल क्रेडिट एन्ड कमर्स बैंकको यस दिन २ करोडको हाराहारीमा सेयर किनबेच भएको छ । त्यसैगरी, नेसनल लाइफ इन्स्योरेन्स, अपर तामाकोसी र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा यस दिन पनि अपर तामाकोसी अगाडि रहेको छ । सो कम्पनीको यस दिन ४ सय ३६ पटक सेयर कारोबार भएको छ । 

५ लाखभन्दा बढी सेयर खरिद गर्न प्यान अनिवार्य

नेपाल धितोपत्र बोर्डले एकपटकमा ५ लाख रुपैयाँभन्दा बढी सेयर खरिद गर्न प्यान अनिवार्य गर्ने भएको छ । बोर्डले ०७६ वैशाख १ गतेदेखि दोस्रो बजारमा ५ लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने व्यवस्था गरेको हो । सोभन्दा कम लगानी गर्ने लगानीकर्तालाई भने स्वैच्छिक रूपमा गर्न सक्ने व्यवस्था गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले सो व्यवस्था लागू गर्ने जानकारी दिएको हो ।  

नेपाल सरकारले चालू आवको नीति तथा कार्यक्रममा र बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत सेयर खरिद गर्दा लगानीकर्ताले प्यान नम्बर लिएको प्रमाण पेस गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । लगानीकर्ता तथा अन्य सरोकारवालाको सुझाबअनुसार सो व्यवस्था गरेको बोर्डले बताएको छ । दोस्रो बजार कारोबारमा प्यान नम्बर कार्यान्वयन सहज रूपमा अगाडि बढ्ने बोर्डले अपेक्षा गरेको छ । 

सामुदायिकको बुक क्लोज
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २४ गते पाँचौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन २९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

ग्रामीणको १ः०.५ हकप्रद स्वीकृत
नेपाल धितोपत्र बोर्डले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थालाई १ बराबर शून्य दशमलव ५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले कम्पनीलाई सो अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका ३२ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

लक्ष्मीको सञ्चालकमा नेपाल
लक्ष्मी बैंक लिमिटेडले रमण नेपाललाई सञ्चालक पदमा नियुक्त गरेको छ । बैंकले संस्थापक सेयरधनी नागरिक लगानी कोषको तर्फबाट मनोनीत भएका सञ्चालक सुशीलकुमार अर्यालको स्थानमा नेपाललाई नियुक्त गरेको हो । फागुन २८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

एनएमबिको ऋणपत्र निष्कासन खुला
एनएमबि बैंक लिमिटेडले फागुन ३० गतेदेखि ‘१०% एनएमबि डिबेन्चर २०८५’ निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँमा ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन गरिएको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ । सोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । 

लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा चैत ४ गते र ढिलोमा चैत १४ गते हुनेछ । यस ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । बैंकले वार्षिक १० प्रतिशतका दरले ६–६ महिनामा ब्याज भुक्तानी गर्नेछ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपि एलए माइनस’ ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटल, एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

आरम्भको कम्पनी सचिवमा श्रेष्ठ
आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले पवरकुमार श्रेष्ठलाई कम्पनी सचिव नियुक्त गरेको छ । श्रेष्ठ सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । फागुन २९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । साथै, सोही बैठकले चैत १ गतेदेखि लागू हुने गरी कम्पनी सचिव पुष्कर घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ । घिमिरेको राजीनामापश्चात् रिक्त रहेको पदमा अर्को व्यवस्था नभएसम्मका लागि चैत १ गतेदेखि नै लागू हुने गरी श्रेष्ठलाई नियुक्त गरेको हो ।