मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ चैत १ शुक्रबार १०:४९:००
Read Time : > 1 मिनेट
विश्व

७३७ म्याक्स मोडलका विमान उडानमा प्रतिबन्ध

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ चैत १ शुक्रबार १०:४९:००

अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलका सबै विमान उडानमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै अब अर्को निर्णय नभएसम्म बोइङ ७३७ म्याक्स विमान कुनै पनि देशका आकाशमा उड्ने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि अमेरिकी संघीय उड्डयन नियामक निकाय (एफएए)ले सो निर्णय गरेको हो । आइतबार इथियोपियाको राजधानी सहर आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान उडेको केही मिनेटमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो ।

३७१ विमानले उडान नगर्ने
एफएएले गत आइतबार बोइङ ७३७ म्याक्स मोडलको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि पछिल्लो निर्णय लिएको बताएको छ । अब बोइङ कम्पनीले निर्माण गरेका सो मोडलका ३७१ वटा त्यस्ता विमानले उडान गर्ने छैनन् । विमान दुर्घटनासँगै सो मोडलका विमानलाई चीन, सिंगापुर, अस्ट्रेलिया, बेलायत, भारतलगायत देशले रोक लगाएका थिए । तर, अमेरिकी अधिकारीले विमान सुरक्षित भएको दाबी गरेको थियो ।

के भन्छ उड्डयन नियामक निकाय ?

संघीय उड्डयन नियामक निकाय (एफएए) को एक समूहले राष्ट्रिय यातायात सुरक्षा बोर्डको सहकार्यमा इथोपियाली एयरलाइन्सको दुर्घटना क्षेत्रमा अनुसन्धान गरेको जनाएको छ । सो निकायका कार्यबाहक प्रशासक डान इलवेलले भनेका छन्, ‘दुर्घटना भएको इथियोपियन एअरलाइन्सले लिएको मार्ग र उसको व्यवहार लायन एयरको जस्तै रहेको विषयमा हामी स्पष्ट भएका छौँ ।’ सोही मोडलको लायन एयरको विमान गत अक्टोबरमा इन्डोनेसियाको जाभामा दुर्घटना हुँदा विमानमा सबार सबै १८९ जनाको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि अमेरिकी संघीय उड्डयन नियामक निकाय (एफएए)ले ७३७ म्याक्स मोडलको सबै विमान उडानमा रोक लगाएको छ 

 विमान कम्पनीलाई धक्का
लायन एयर दुर्घटनाग्रस्त भएयता ७३७ म्याक्सप्रति उड्डयन क्षेत्रमा चासो र शंकाका दृष्टिले हेर्न थालिएको छ । मे २०१७ मा बोइङले ७३७ म्याक्स विमानको परीक्षण उडानसमेत स्थगित गरेको थियो । बोइङ ७३७ म्याक्स मोडलको विमान सन् २०१७ देखि मात्रै व्यावसायिक उडानमा प्रयोग हुन थालेको हो । बोइङको वेभसाइटका अनुसार १६ वायुसेवा कम्पनीले सो मोडलका विमान किनेका छन् । पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो । 

विमानबारे उजुरी
गत वर्षको अन्त्यतिर केही अमेरिकी विमानचालकले बोइङ ७३७ म्याक्स मोडलको विमानलाई उडाउने वेलामा नियन्त्रण गर्न समस्या भएको भन्दै कम्पनीका नाममा उजुरी गरेका थिए । तर, संघीय उड्डयन नियामक निकायले ती उजुरीबारेमा कुनै चासो दिएको थिएन । तर, पछिल्लो दुर्घटनाले धैरैलाई सचेत बनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो दुर्घटना र विमानविरुद्ध उजुरीका आधारमा आपत्कालीन आदेश दिइएको बताए । ट्रम्पले विमानबारेमा केही ‘नयाँ सूचना’ प्राप्त भएको बताए पनि त्यसबारे विस्तृत जानकारी दिन अस्वीकार गरे । ट्रम्पले अमेरिकी जनताको सुरक्षा सर्वोपरी महत्वको भएको जनाउँदै अमेरिकी नागरिक उड्डयन प्रशासनले यस बारेमा थप प्रस्ट पार्ने बताए । ट्रम्पले क्यानडाका अधिकारीहरू, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरेर बोइङ ७३७ म्याक्सका उडानमा रोक लगाएको बताए ।