१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुशील भट्ट
२०७५ चैत १ शुक्रबार १०:३०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

यसकारण ल्याइएको हो राष्ट्रिय आयोजना बैंक

Read Time : > 4 मिनेट
सुशील भट्ट
२०७५ चैत १ शुक्रबार १०:३०:००

विगतमा निर्धारित समयमा आयोजना कार्यान्वयन गर्न नसकिएको अनुभवका आधारमा कार्यान्वयन प्रभावकारी बनाउन आयोजना बैंकको अवधारणा आएको हो

१५औँ योजनाका लक्ष्य प्राप्त गर्न
राष्ट्रिय योजना आयोग अहिले १५औँ योजना निर्माणमा लागेको छ । हरेक प्रकारका योजनाका निश्चित उद्देश्य र लक्ष्य हुन्छन् । अहिले परिस्थिति परिवर्तन भएको छ । लक्ष्यहरूलाई खण्डित गरी प्रदेश र स्थानीय तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता छ । केन्द्रमा संघीय सरकारले रणनीतिक महŒवका ठूला, बृहत् आयोजना हेर्छ । उदाहरणका लागि ठूला राजमार्ग, विमानस्थललगायत । विगतमा एक लक्ष्य र उद्देश्य लिएर अगाडि बढेका यस्ता आयोजना हामीले सम्पन्न गर्नु छ । त्यस्ता आयोजनालाई विगतमा जसरी डिजाइन गरिएको छ, त्यही रूपमा दुरुस्त बनाउनु छ ।

नेपालमा २०–२२ वर्ष अगाडिदेखि सुरु भए पनि सम्पन्न नभएका राष्ट्रिय गौरवका आयोजना छन् । ती आयोजनालाई १५औँ योजनाभित्र सकभर सकाउने लक्ष्य छ । अर्कोतर्फ अब संघ, प्रदेश र स्थानीय तहले बनाउने आयोजनाबीच तादात्म्य पनि आवश्यक पर्छ । त्यसका लागि पनि अब आयोजना तथा कार्यक्रमको वर्गीकरण गर्नुपर्ने भएको छ । विगतमा निर्धारित समयमा आयोजना कार्यान्वयन गर्न नसकिएको र अब परिस्थिति बदलिएको अवस्थामा आयोजना कार्यान्वयन प्रभावकारी बनाउने उपायको खोजी गर्दा परियोजना बैंकको अवधारणा आएको हो । 

अगाडि बढेका आयोजना छिटो सम्पन्न गर्न
परियोजना समयमै सम्पन्न नहुने, पुँजीगत खर्च कम हुने समस्या केवल पछिल्लो ११–१२ महिनामा जन्मिएको समस्या होइन । यी समस्या पछिल्लो २०–२५ वर्षदेखि दोहोरिँदै आएका एकीकृत समस्या हुन् । अब हामीले यी समस्या सल्टाउनु छ । समस्या समाधानको खोजी गर्नु छ । त्यसको डिजाइन तयार पार्नुपर्नेछ । त्यो डिजाइन गर्न धेरै मिहिनेत पनि चाहिन्छ । किनकि, आयोजना अगाडि बढिसकेका छन् । दायित्व सिर्जना भइसकेको छ । विगतमा ठूलो आवश्यकता देखिएकै कारण यी आयोजना अगाडि बढेका हुन् । त्यसकारण नीतिगत रूपमा यस्ता आयोजनाले निरन्तरता पाएका थिए । तर, निर्धारित समय, लागत र गुणस्तरमा यी आयोजना सम्पन्न हुन सकेनन् । अगाडि बढिसकेका आयोजना अब पनि सम्पन्न नगर्ने हो भने त्यसबाट प्राप्त हुने प्रतिफलबाट हामी पछि परिरहनेछौँ । त्यसकारण जति छिटो यी आयोजना सम्पन्न गर्न सकिन्छ, त्यति नै छिटो प्रतिफल प्राप्त हुन थाल्छ । यसले अर्थतन्त्रको विकास र आर्थिक समृद्धिमा सहयोग पु¥याउन जान्छ । 

आयोजनाको पुनर्प्राथमिकीकरण गर्न
नेपालमा धेरै आयोजना अगाडि बढेका छन् । अब ती आयोजनाको पुनर्प्राथमिकीकरण गर्नुपर्नेछ । पुनप्र्राथमिकीकरण गर्न पनि केही न केही आधार त आवश्यक पर्छ । अर्थ मन्त्रालयले पछिल्लो ६–७ वर्षदेखि आयोजना बैंकको आवश्यकताबारे घचघच्याइरहेको थियो । अर्थ मन्त्रालयको आयोजना बैंकबारेको चासो नै विनियोजन भएको बजेट उचित खर्च होस् भने नै हो । पूर्वतयारी भइसकेका आयोजनामा बढी रकम विनियोजन गर्ने हो भने आयोजना छिटो सम्पन्न हुन्छ भन्ने मान्यता अर्थ मन्त्रालयको थियो । जसले गर्दा एउटा आयोजनामा विनियोजन भएको रकम खर्च हुन नसकी अर्को शीर्षकमा रकमान्तर गर्नुनपरोस् । यो चिन्तन हिजोकै दिनदेखि सुरु भएको हो । तर, औपचारिक रूपमा राष्ट्रिय आयोजना बैंक कार्यान्वयन गर्न भने राष्ट्रिय योजना आयोगको नयाँ गठन आदेश आइसकेपछि मात्र अधिकार प्राप्त भएको हो । त्यसपछि काम सुरु भयो । हामीले एकातर्फ अवधारणापत्र निर्माण ग-यौँ भने अर्कोतर्फ कार्ययोजना पनि बनायौँ । त्यसप्रकार काम अगाडि बढेको हो ।
 
आवश्यकताका आधारमा आयोजना छनोट र पहिचान
आयोजनाको पहिचान, छनोट र कार्यान्वयन हाम्रो आवश्यकताका आधारमा अगाडि बढ्नुपर्छ । कुनै दाताले यो आयोजना मन प¥यो भन्दै लबिङ गर्ने परिपाटीलाई निरुत्साहित गर्नुपर्छ । हचुवाका भरमा हामीले धेरै आयोजना जन्माएका छौँ । त्यसमध्ये धेरै आयोजना यसरी जन्मिनु आवश्यक नै थिएन । किनकि, हामीसँग स्रोत (जनशक्ति, लागत र क्षमता) पर्याप्त थिएन । हामीले आफ्नो स्रोतको क्षमता आकलन नगरी आयोजना अगाडि बढायौँ र त्यसमा कनिका छरेसरह सबैमा पैसा छर्दै गयौँ । यसकारण ५ वर्षमा सकिनुपर्ने आयोजना पूरा गर्न २० वर्ष लाग्यो । त्यसकारण आयोजनाको पुनप्र्राथमिकीकरण गर्नुपर्ने भएको हो । त्यसका साथै हाम्रो आवश्यकता र क्षमताका आधारमा आयोजनाको पहिचान र छनोट गर्न आयोजना बैंकको अवधारणा कार्यान्वयनमा ल्याइएको हो ।
 
पूर्वतयारी भइसकेका आयोजना मात्र कार्यान्वयनमा लगिने
आयोजना छनोट र पहिचान मात्र ठूलो कुरा होइन । त्यो आयोजनालाई सफल कार्यान्वयन हुने वातावरण बनाउन सरोकारवाला निकाय तथा मन्त्रालयहरूले केही मिहिनेत गर्नुपर्ने हुन्छ । यो काम योजना आयोगले गर्दैन । योजना आयोगको चासो निर्धारित लक्ष्य पूरा गर्न तयारी अवस्थामा रहेका आयोजना (जसलाई तत्काल कार्यान्वयन गर्न सकिन्छ)ले विनियोजनमा प्राथमिकता पाऊन् भन्ने नै हो । पूर्वतयारीको काम सम्पन्न भइसकेका आयोजना यस बैंकमा रहन्छन्, जसलाई तत्काल ठेक्का अगाडि बढाएर कार्यान्वयनमा लैजान सकिन्छ । मानिसले आफ्नो जीवन स्वस्थ राख्न ब्रेकफास्ट, लन्च र डिनर एउटा नियमित रुटिनमा खानुपर्छ । यसलाई आयोजनाको हकमा भन्दा विगतमा हामीले सबै परिकार एकैपटक खान खोज्यौँ, जसले गर्दा अर्थतन्त्रको स्वास्थ्य राम्रो हुन सकेन । ब्रेकफास्ट खाइसकेपछि लन्च तयार पार्न ४ घन्टा बाँकी रहन्छ भनेजस्तै आयोजनाको हकमा एउटा आयोजना कार्यान्वयन हुँदै गर्दा अर्को आयोजनाको पूर्वतयारीको कामलाई समय लगाएर काम गर्न सकिन्थ्यो । निर्धारित मापदण्डमा केन्द्रित भएर पहिचान भएपश्चात् सम्भाव्यता अध्ययन, लेखाजोखा (विश्लेषण, लाभ–लागत)समेत भइसकेका आयोजनालाई हामी राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गराउँछौँ । 

विकास व्यवस्थापनको सिद्धान्त अनुसरण
अहिले हामीले प्रारम्भिक चरणको मात्र आयोजना बैंकका रूपमा काम थालेका छौँ । यसका केही उद्देश्य छन् । आयोजनाको विनियोजन क्षमता बढाउने, सञ्चालन क्षमता वृद्धि गर्ने र प्रतिफलमूलक आयोजना छनोटमा हामी केन्द्रित हुँदै छौँ । पैसा सही ठाउँमा विनियोजन भयो कि भएन, आयोजना तोकिएको समयमै सम्पन्न गर्छौँ कि गर्दैनौँ, यसका लागि जनशक्ति, मेसिन, निर्माण सामग्री र पैसाको जोहो गर्न सक्छौँ कि सक्दैनौँ र आयोजना सम्पन्न भइसकेपछि त्यसले उचित प्रतिफल दिन सक्छ या सक्दैन भन्नेबारे हामी अध्ययन गर्छौँ । हामीले यसका लागि मापदण्ड बनाइरहेका छौँ । यो अन्तिम चरणमा छ । साथसाथै राष्ट्रिय आयोजना बैंकको अवधारणापत्र योजना आयोगले स्वीकृत गरेपश्चात् ४३औँ राष्ट्रिय विकास समस्या समाधान बैठकबाट निर्णय गरायौँ । विगतका समस्या अब नदोहोरिऊन् भन्ने उद्देश्यले यो एउटा पारदर्शी कार्यक्रम कार्यान्वयन थालिएको छ । आगामी दिनमा नेपालले पनि विकास व्यवस्थापनको सामान्य सिद्धान्तलाई अनुसरण गर्नैपर्छ । यो सोही सिद्धान्तको एक रूप हो । 

सरोकारवाला निकायलाई सहजीकरण
अहिले हामी प्रारम्भमा संघीय सरकारमातहतका मन्त्रालयबाट अगाडि बढ्ने आयोजनालाई मात्र आयोजना बैंकमा समेट्दै छौँ । संघीय सरकारको बजेट विनियोजन र वार्षिक विकास कार्यक्रममा राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भएका आयोजनालाई प्राथमिकता दिनुपर्छ । त्यस्ता आयोजना बैंकले निर्धारण गरेको मापदण्ड र ढाँचामा आधारित भएर आउनुपर्छ । त्यसको लेखाजोखा गरिसकेपछि मात्र बजेटमा स्थान प्राप्त गर्नुपर्छ । कुनै पनि आयोजनाको पूर्वतयारीका लागि समय लाग्छ । सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्ति र मुआब्जा वितरण, स्रोतको जोहोजस्ता प्रक्रिया पूरा गरेपछि मात्र एउटा आयोजना कार्यान्वयनको चरणमा पुग्छ ।

अहिलेसम्म हामीले तयार पारेको ढाँचामा आधारित भएर ३ सय ६७ वटा आयोजना प्राप्त भएको छ । त्यसमध्ये अधिकांश आयोजना यसअगाडि नै सुरु भएका आयोजना छन् । नयाँ आयोजनाको संख्या निकै कम छ । अगाडि बढेका आयोजनामध्ये पनि धेरैको पूर्वतयारीको काम नै सम्पन्न नभएको पाइएको छ । दाताले परियोजनामा लगानी गर्दा पूर्वतयारी भए–नभएको माग गर्छ, अर्थ मन्त्रालयले बजेट विनियोजन गर्दा वन वातावरणका मुद्दा, स्रोत व्यवस्थापन भए–नभएको हेर्ने गर्छ । बैंकमा यस्ता तयारीका सबै प्रक्रिया पूरा गरिसकेका आयोजनाले मात्र प्रवेश पाउनेछन् । अन्य आयोजनाको हकमा भने हामीले के गर्नुपर्ने हो, त्यसमा सरोकारवालालाई सहजीकरणको काम गर्छौँ ।

कार्यान्वयन गर्ने निकायलाई उत्तरदायी बनाउने
आगामी आवको बजेट, मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रमको मार्गदर्शनले मुख्यतः दुईवटा काम गर्नुपर्ने गरी मापदण्ड तोकेको छ । एउटा विनियोजनमा पर्ने आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भएको हुनुपर्छ, अर्को हरेक मन्त्रालयअन्तर्गत ‘प्रोजेक्ट डेभलपमेन्ट फन्ड’ खडा गरी आयोजनाको पूर्वतयारीको काम पूरा गर्ने गरी काम अगाडि बढाउन मार्गदर्शन गरिएको छ । यसको मतलब कार्यान्वयन गर्ने निकाय पनि अब उत्तरदायी बन्नुपर्छ । कुनै पनि आयोजनाको ठेक्का लागिसकेपछि त्यसको व्यवस्थापन र सञ्चालन मात्र नभई आयोजना छनोट र पहिचानमा पनि उनीहरू जिम्मेवार हुनुपर्छ । पूर्वतयारीका सबै काम पूरा गरी एउटा बास्केटमा आएका आयोजनाहरूको संयुक्त रूप नै राष्ट्रिय आयोजना बैंक हो ।

 भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुन् ।