१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गगन प्रधान, सञ्चालक, हिमालयन जाभा
नवीन अर्याल
२०७५ चैत १ शुक्रबार ०९:२७:००
Read Time : > 5 मिनेट
अन्तर्वार्ता

अमेरिकामा  शेर्पा बम कफी बेच्छौँ  : गगन प्रधान

Read Time : > 5 मिनेट
नवीन अर्याल
२०७५ चैत १ शुक्रबार ०९:२७:००

काठमाडौंमा कफी मात्र बेच्ने पहिलो रेस्टुरेन्ट हो, हिमालयन जाभा । अध्ययनका लागि अस्ट्रेलिया पुगेका गगन प्रधान स्वदेश फर्किएर सन् १९९९ मा हिमालयन जाभा खोले । त्यतिवेला दैनिक चार–पाँचजना मात्र ग्राहक हुन्थे । अहिले भिडभाड हुन्छ । प्रधानसँग नयाँ पत्रिकाकर्मी नवीन अर्यालले कफी–संवाद गरेका छन् ।

परम्परागतरूपमा नै नेपालीको रुचि चियामा हो । ग्राहकलाई कसरी कफीमा बानी पार्नुभयो ?
नेपाली सदियौँदेखि चिया पिउँदै आइरहेका छन् । जिब्रोमै चिया झुन्डिएको थियो । कफी पिउनेलाई लक्षित गरेर हिमालयन जाभा खोल्दा धेरैले अनौठो माने । तर, परिवर्तन भइरहने सहरीया जीवनशैलीम विस्तारै कफीमा बानी पर्‍यो । यसमा विदेश पुगेका नेपालीको प्रभाव पनि छ । अहिले काठमाडौंको चोक र गल्लीमा कफी पसल देखिन्छन् । कफी विकास बोर्डले गरेको अध्ययनमा काठमाडौं र पाटन क्षेत्रमा झन्डै ११ सय कफी सप छन् । कफीका पारखी बढेर नै कफी सप खुलेका हुन् । कतिपय त देखासिकी गरेर पनि खुलेका हुन सक्छन् । 

 कफी पिउन किन कफी सप जाने ?
कफी सप एउटा चौतारी हो, जहाँ मान्छेहरू सुस्ताउन आउँछन् । घण्टौँ बसेर गफिन्छन्, मिटिङ गर्छन् । धेरैले कफी सपलाई अफिस पनि बनाइरहेका हुन्छन् । घरमा एउटा बैठक कोठा हुन्छ । त्यही बैठक कोठाको एक्सटेन्सन पनि हो, कफी सप । फरक यति मात्र हो, घरमा बिल तिर्नुपर्दैन, यहाँ तिर्नुपर्छ । मान्छे कफी पिएर सन्तुष्टि लिन मात्र आउँदैनन् । ‘ओभरअल एक्स्पेरियन्स’ लिन पनि आइपुग्छन् । राम्रो बोल्ने स्टाफ, सफा र शान्त वातावरण, आकर्षक डेकोरेसन, चिसो र तातो पेय पदार्थ, राम्रो प्रेस्टिज र स्यान्डविज, सफा बाथरुम, राम्रो वाइफाई, विभिन्न पत्रिका, किताबको एक्सपेरियन्स । 

 हिमालयन जाभा कसरी सुरु भयो ?
होटल म्यानेजमेन्ट पढ्ने रहर अस्ट्रेलिया पुगेर पूरा गरेँ । अस्ट्रेलिया बस्ने विदेशी विद्यार्थी दुई चिजमा ‘एडिक्टेड’ हुन्छ, एउटा चकलेट र अर्को कफी । म पार्टटाइम काम पनि गर्थें । ट्रेनमा चकलेट खाँदै हिँडे भोक मेटिन्थ्यो । कक्षामा पढ्दा पढ्दै निन्द्रा लाग्ने । अनि कफी खाइन्थ्यो । त्यो मेरो आवश्यकता थियो, विस्तारै प्यासन बन्दै गयो । पढाइपछि नेपाल फर्किएर राम्रो होटलमा काम थालेँ । तर, एक हप्ता पनि टिक्न सकिनँ । आफ्नै व्यवसाय गर्ने सोच बनाएँ । बजार अध्ययन गरेर सन् १९९९ मा कफी सप सुरु गरेँ । हामीले विभिन्न प्रश्न बनाएर अफिस अफिस धाएर कफीबारे फिडब्याक लिएका थियौँ । त्यही फिडब्याकबाटै उत्साहित भएर कफी सप खोलियो । तर, हामीलाई हप्तामा तीनपटक कफी सप आउँछु भन्ने मान्छे तीन वर्षमा एकचोटी पनि आएन । त्यो वेलाको फिडब्याक एकदमै रङ रहेछ । त्यस्तो फिडब्याक नआएको भए कफी सप नै खोल्दिनथेँ होला । त्यतिवेला मान्छेहरू ‘कफी फल्छ ?’ भनेर सोध्थे । पाँच रुपैयाँको चिया खाने ठाउँमा ३५-४० रुपैयाँको क्यापेचिनो खान सिकायौँ । जुन दिन हामीले कफी सप सुरु गरेका थियौँ, यहाँसम्म आइपुगिएला भन्ने सोँचेकै थिएनौँ । हिमालयन जाभा खोलेको १९ वर्ष भइसक्यो, अहिलेसम्म नेपाली कफी नै प्रयोग गरेको छु । 

कफी बेच्न कत्तिको सास्ती हुन्थ्यो ?
सुरुतिर कतिपयले हिमालयन जाभालाई कम्प्युटर इन्स्टिच्युट ठानेर भर्ना गर्न पनि आए । त्यो समय रेस्टुरेन्टमा सोफा राख्ने, लाउन्ज राख्ने, लिभिङ रुमको सेटअप हुँदैनथ्यो । कतिपय ग्राहक हाम्रो कफी सपमा फर्निचर किन्न भन्दै पनि आउँथे । नेपालमा कफी भन्नेवित्तिकै नेसक्याफे बुझिन्थ्यो । मिल्क कफी, ब्ल्याक कफी, सुगर कफी खानेहरू भेटिन्थे । हाम्रो मेनुमा एक्स्प्रेसो, रिस्ट्रेटो, क्यापेचिनो, लाटे, मक्का थियो । त्यो नाम कसैलाई थाहा नै थिएन । ग्राहकले के भनेर अर्डर गर्ने त ? सुरुतिर दिनमा चार–पाँचजना ग्राहक आउँथे । तितो र नमिठो भन्दै कतिले पैसै तिर्दैनथे । मैले एक–एक ग्राहकसँग कुरा गर्थें । र, कफीबारे बुझाउँथेँ ।

अमेरिकास्थित हिमालयन जाभाको मेनुमा चार सट एक्सप्रेसोलाई ‘शेर्पा बम’ भनेर राखेका छौँ । ‘ट्रेकर्स डिलाइट’, ‘शेर्पा डाइट’ पनि मेनुमा छ । विदेशमा हामीले नेपाललाई प्रमोट गर्न खोजेका छौँ । कफीका विभिन्न आइटममा नेपाली नाम दिएका छौँ ।

विदेशीले नेपाली कफी रुचाइरहेका छन् ?
विश्वको सबैभन्दा ठूलो ब्रान्ड अमेरिकन स्टारबक्स हो । यो ब्रान्डले विश्वमा ३० हजार आउटलेट चलाउँछ । त्यो ब्रान्ड अमेरिकन भए पनि अमेरिकन कफी प्रर्मोट गर्दैन । उत्तर अमेरिकामा कफी नै फल्दैन । प्राविधिक रूपमा भन्दा यो अमेरिकन ब्रान्ड नै होइन । अमेरिकनले लगानी गरेको ब्रान्ड मात्र हो । हामी भने नेपाली कफी नै बेच्छौँ । नेपालकै उच्च क्षेत्रमा फलेको अग्र्यानिक कफी । कफी मिठो हुने वा नहुने भन्ने सोँचमा पनि भर पर्छ । नेपाली कफी सबैभन्दा उत्कृष्ट पनि होइन, नराम्रो पनि होइन । विदेशीले नेपाललाई सगरमाथाको देश भनेर चिन्छन् । हिमालको कुरा हुँदा उचाइको कुरा आउँछ । जति उचाइमा फल्छ, कफी त्यति नै राम्रो । नेपालको हिमालयकै कारण विदेशीले नेपाली कफी अत्यधिक रुचाउँछन् । कतिपयले ‘सगरमाथाको फेदमै फलेको कफी हो ?’ भनेर सोध्छन् । नेपाली कफीमा हाम्रा किसानको मिहिनेत पनि जोडिएको छ । नेपाली किसान गरिब छन् । खेती गर्दा रासायनिक मल प्रयोग गर्न सक्दैनन्, कम्पोस्ट मल प्रयोग गर्छन् भन्ने छ । अग्र्यानिक कफी मिठो हुन्छ । अर्को कुरा, अमेरिकाको जाभामा बसेर एउटा अमेरिकनले चार डलरको लाटे खाँदा नेपालको गरिब किसानलाई मद्दत गरिरहेको छु भन्ने सोचेको हुन्छ । 

हिमालयन जाभाका आउटलेट कति पुगे ?
कतिपय आफ्नै छन्, धेरै फ्रेन्चाइज आउटलेट हुन् । काठमाडौंमा ३५ आउटलेट छन् । जसमध्ये मार्कोपोलो होटल, बौद्ध, ठमेलका दुईवटा र पोखरा, सिभिल मल, ब्लुबर्ड मलमा आफँै चलाएका छौँ । पोखरा, चितवन, जोमसोम, नाम्चेमा पनि छ । विस्तारै नेपालभर फैलिने योजना छ । विदेशमा जाभाका अमेरिकामा तीनवटा, क्यानडा, भुटान, दार्जिलिङ, तिब्बत र थाइल्यान्डमा एक–एक वटा आउटलेट छन् । कोरियामा आउटलेट खोल्ने प्रोसेसमा छौँ । डिमान्ड थुप्रै छ, म अध्ययन गरिरहेको छु । नेपालबाट कफीका गेडा निर्यात हुने ठाउँमा आउटलेट खोलेका छौँ । अब कफीको ब्रान्ड निर्यात गर्न कस्सिएका हौँ ।

हिमालयन जाभामा कति प्रकारको कफी पाक्छ ?
‘लिमिटेसन’ नै छैन । जति पनि बनाउन सकिन्छ । जाभाले पनि मेनु परिवर्तन गरिरहन्छ । हामी ५०÷६० भेराइटी बिक्री गर्छौं । साढे चार सयसम्मको कफी बिक्री गर्छौं । चिया पनि बिक्री गर्छौं । नेपाली र ब्ल्याक टी मात्र । अमेरिकाको हिमालयन जाभाको मेनुमा रहेको सबैभन्दा महँगो आइटम नै ‘नेपाली टी’ हो । अमेरिकाको जाभाको मेनुमा चार सट एक्सप्रेसोलाई ‘शेर्पा बम’ भनेर राखेका छौँ । ‘ट्रेकर्स डिलाइट’, ‘शेर्पा डाइट’ पनि मेनुमा छ । एउटै ग्लासमा चार सट एक्सप्रेसो खाँदा कस्तो होला ? विदेशमा हामीले नेपाललाई प्रमोट गर्न खोजेका छौँ । विभिन्न आइटममा नेपाली नाम दिएका छौँ । जाभामा ठूलो सगरमाथाको फोटो राखेको छु । सगरमाथाको अगाडि बसेर खिचेको फोटो फेसबुकमा पोस्ट गर्छन् । 

हाम्रो मेनुमा एक्सप्रेसो, रिस्ट्रेटो, क्यापेचिनो, लाटे, मक्का थियो । त्यो नाम कसैलाई थाहा नै थिएन । तितो र नमिठो भन्दै कतिले पैसै तिर्दैनथे । मैले एक–एक ग्राहकसँग कुरा गर्थें र कफीबारे बुझाउँथेँ ।

 एउटा ग्राहकले कति समय बिताउँछन् ?
हरेक दिन जाभा पुग्ने ग्राहक पनि छन् । लेखक, चिन्तक, कर्पोरेट, राजनीतिज्ञ, कलाकार जाभामा आइरहन्छन् । कतिपय ग्राहक डेढ दशकदेखि लगातार आइरहेका छन् । कतिपय ग्राहक बिहान ८ बजे छिरेर साँझ ८ बजे निस्कन्छन् । अफिसका सम्पूर्ण काम त्यही गर्छन् । कफी सप छिर्ने एउटै व्यक्तिले तीन–चार कप कफी पिएर पनि फर्किन्छन् । कफीमा पैसा तिर्न नडराउने ग्राहक धेरै छन् । दुई सय रुपैयाँको क्यापेचिनो पिउनुस्, जाभा अफिस भइहाल्छ । यो ‘वर्क प्लेस’ बनेको छ । कतिपय मान्छे अफिसमा बसेर काम गर्न झ्याउ लागे जाभामा आइपुग्छन् । यहाँ बसेर भाडा तिर्नुपर्दैन, वाइफाई जोड्नु पर्दैन । मेरो बुझाइ छ, कफी सप अफिस नै हो । हाम्रो जीवन म्याराथुनजस्तै भइसकेको छ । कफी, चिया, बियर मान्छेको अत्यावश्यक पेय पदार्थ बनिसकेको छ । तर, जाभाले मदिरा बिक्री गर्दैन । 

अन्य रेस्टुरेन्ट र कफी सपमा के फरक छ ?
रेस्टुरेन्ट र कफी सपमा धेरै फरक छ । उदाहरणको लागि विदेशमा एउटा रेस्टुरेन्ट खोल्न १० लाख डलर खर्चिनुपर्छ भने कफी सप त्यसको १५ प्रतिशत मात्र लगानीले खोल्न सकिन्छ । एउटा रेस्टुरेन्ट चलाउन कम्तीमा २२ कर्मचारी चाहिन्छ । कफी सपमा तीन–चारजना स्टाफ भए पुग्छ । रेस्टुरेन्टको स्टोरमा नुन, तेललगायत झन्डै दुई सय आइटम राखिएको हुन्छ । तर, कफी सपमा दूध, कफी बिन्स र प्रिस्टिज भए पुग्छ । यो भनेको लगानी र सञ्चालन खर्च कम हुनु हो । कफी सप पारिवारिक रूपमा चलाउन सक्छ । कफी सप बिहान सात बजे खोलेर दिउँसो तीन बजे बन्द गरे पनि हुन्छ । हप्ताको दुई दिन बन्द गर्दिए पनि हुन्छ । तर, ठूलो लगानी र स्टाफ खर्चका कारण रेस्टुरेन्ट बन्द गर्न सकिँदैन ।