१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत १ शुक्रबार ०८:४६:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

राप्रपाको रथयात्रा :  कमल थापाकाे १५ दिने देशदौडाहा सम्पन्न

Read Time : > 6 मिनेट
२०७५ चैत १ शुक्रबार ०८:४६:००

देश गणतन्त्रमा गएको एक दशक पूरा भयो । निर्वाचित संविधानसभाले धर्मनिरपेक्ष संविधान जारी गरेको पनि साढे तीन वर्ष भइसक्यो । संविधान जारी गर्ने ‘स्टेक होल्डर’मध्येकै नेता कमल थापाले भने अहिले राजतन्त्र र हिन्दूराज्य स्थापनाको नारा बोकेर देश दौडाहा गरेका छन् । उनी संविधान जारी भएलगत्तैको केपी ओली नेतृत्वको पहिलो सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री र पछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री भएका थिए । 

राप्रपा अध्यक्ष थापासहित उनको पार्टीका २४ जना सभासद्ले गणतन्त्रात्मक तथा धर्मनिरपेक्ष संविधानमा हस्ताक्षर गरेका छन् । अहिले थापाले तिनै संविधानका विशेषता उल्ट्याउनुपर्छ भन्ने अभियानको अगुवाइ गरिरहेका छन् । मुख्य रूपमा संविधानका विशेषता खारेज गर्दै पुरानै अवस्थामा पु-याउनुपर्ने माग सरकारलाई बुझाएर थापाले देश दौडाहा गरिरहेका छन् ।

थापा नेतृत्वको राप्रपाले हिन्दूराष्ट्रको पुनस्र्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षालगायतका २२बुँदे माग ७ फागुनमा सरकारलाई बुझाएको थियो । राप्रपाले काठमाडौंमा प्रधानमन्त्री केपी ओलीलाई, सात प्रदेशमा मुख्यमन्त्रीहरूलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई माग बुझायो ।

भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षण व्यवस्थामा परिवर्तन गरी आर्थिक रूपमा विपन्नलाई आरक्षण दिइनुपर्नेलगायत माग पनि ज्ञापनपत्रमा छ । जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै राप्रपाले १५ देखि ३० फागुनसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरेको हो । 

१५ फागुनमा ताप्लेजुङबाट सुरु यात्रा २९ फागुनमा काठमाडौं आइपुगेको छ । यात्राटोलीलाई बुधबार साँझ राप्रपा प्रदेश नंं. ३ अध्यक्ष विक्रम थापा र काठमाडौं अध्यक्ष नवराज सिम्खडाले नागढुंगामा तथा ललितपुरमा महामन्त्री भाष्कर भद्राले स्वागत गरे । स्वाभिमान यात्राले १५ दिनमा दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

यात्रामा सानाठूला गरी एक सय ५० सभा गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दूराष्ट्रका पक्षमा देखिएको जनताको समर्थन काठमाडौं बसेर कल्पना गर्न नसकिने खालको रहेको बताए । यात्रामा ७० भन्दा बढी सवारीसाधन र पाँच सय यात्री नियमित थिए ।राप्रपा अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दू, बौद्ध र किराँत धर्म झल्कने आकर्षक पशुपतिनाथ, गाई, बौद्ध स्तुपा पनि फरकफरक सवारीमा यात्रासँगै थिए ।

हरेक दिन कम्तीमा १० वटाका दरले भएका सानाठूला सभाहरूमा स्थानीय र टाढाटाढाबाट समेत जनताको उपस्थिति देखिएको बर्तौताले बताए । ‘नसोचिएको उत्साह, ऐक्यबद्धता र समर्थन यात्राका क्रममा प्राप्त ग-यौँ,’ बर्तौलाले नयाँ पत्रिकासँग भने, ‘हिन्दूत्वका विषयमा पहिचानको चेतनाको स्तर बढेको यात्राका क्रममा पायौँ । पहिचान गुम्न दिन हुन्न भन्नेमा सबै सहमत छन् ।’ प्रत्येक सभालाई अध्यक्ष थापा र वरिष्ठ नेताद्वय बुद्धिमान तामाङले सम्बोधन गरेका थिए । स्वाभिमान यात्राको शुक्रबार (चैत १) मा भक्तपुरबाट काठमाडौं  आई सहरका विभिन्न भाग परिक्रमा गरी अपराह्न भृकुटीमण्डपमा सभा गर्दै समापन गरिने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

हिन्दूधर्म र गाईका नाममा राजनीति
थापाको राप्रपा नेपाल र पशुपतिशमशेर राणाको राप्रपाबीच ०७३ मा पार्टी एकता भएको हो । थापाले भने एकता हुनुभन्दा अघिदेखि नै गाई र हिन्दूधर्मका नाममा राजनीति गरिरहेका छन् । हिन्दूधर्म र गाई भजाएर थापा नेतृत्वको राप्रपा नेपाल ०७० को संविधानसभामा सहभागी भएको थियो । प्रत्यक्षमा एक सिट नजितेको पार्टीले समानुपातिकतर्फ २४ सिट पोल्टामा पारेको थियो ।

दोस्रो संविधानसभामा तीन सिट जितेको राप्रपाले समानुपातिकतर्फ ९ सिट पाएर १२ सिट बनायो । ०७३ मा यी दुई पार्टी एक भए । चुनाव चिह्नमा विवाद हुँदा एक भएको वर्षदिन नपुग्दै पशुपतिशमशेर राणाले केन्द्रीय समिति र संसद्मा ४० प्रतिशत पु-याएर २२ साउन ०७४ मा पार्टी फुटाए । निर्वाचनको मुखैमा पार्टी फुटेसँगै निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी बन्न सकेन । राप्रपाका राजेन्द्र लिङ्देनले झापामा जितेबाहेक देशभरि राप्रपा शून्य भयो । अर्को निर्वाचनसम्म जनमत तयार पार्न फेरि कमल थापाले धर्म, गाई र राजासहितको लोकतन्त्रको माग गर्दै जागरण थालेका छन् । दुईतिहाइको सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकिरहेकाले जनतालाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भन्ने थापाको रणनीति छ ।

राप्रपा र राप्रपा संयुक्तमा नेता कार्यकर्ता तानातान
थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच कार्यकर्ता तानातान छ । दुई पार्टीले एक÷एक समूह अर्को पार्टीबाट आफ्नो पार्टीमा भित्र्याइसकेका छन् भने जनस्तरका कार्यक्रममा दुवै पार्टी होमिएका छन् । १८ माघमा राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकता भएर राप्रपा संयुक्त बनेको थियो ।

पार्टी एकीकरण समारोहमा पदीय वरीयतामा असन्तुष्टि जनाएर राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहोरा नेतृत्वको समूह अनुपस्थित भयो । बोहोरा नेतृत्वको समूह १२ फागुनमा राप्रपा पार्टीमा प्रवेश ग-यो । बोहोरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीपकुमार उदय, सहायक महामन्त्री बिन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, प्रशिक्षण विभाग प्रमुख सुरेन्द्र केसी, केन्द्रीय सदस्यहरू सरोज शर्मा, ताहिर अली, दिलीप बस्नेत, मीना स्वर्णकार, दीपक राई, गंगाराम कलवारसहित ५१ केन्द्रीय सदस्य र २३ जिल्ला समिति राप्रपामा प्रवेश गरे । 

तर, उनीहरू प्रवेश गर्दाको दिन महामन्त्री जयन्त चन्द नेतृत्वको समूहले राप्रपाबाट अलग भएको घोषणा ग-यो । राप्रपाबाट अलग भएको घोषणा गर्ने समूहलाई राप्रपा संयुक्तले १५ फागुनमा पार्टी प्रवेश गरायो । प्रवेश गर्नेमा चन्दसहित बहालवाला सहायक महामन्त्री पाठक तथा केन्द्रीय सदस्यहरू गोविन्द खनियाँ, भरत गिरी, प्रह्लाद शाह, गोविन्द दाहाल, बिन्दा गिरी, दिनेश श्रेष्ठ, चिरागमानसिंह कुँवर, भरतबहादुर चन्द, सुन्दर खड्कालगायत छन् ।

चन्दसहितको समूहलाई पार्टीमा भित्र्याउँदा आफूहरूसँग कुराकानी नगरेको र पार्टीमा छलफल नगरेको भन्दै राप्रपा संयुक्तका महामन्त्री सुनील थापा समूह पार्टी प्रवेश कार्यक्रममा अनुपस्थित भयो । अनुपस्थित हुनेमा पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापा, सहायक महामन्त्रीद्वय विष्णुविक्रम थापा र धर्मराज जोशी, प्रचार समितिका सदस्य किरण गिरी, केन्द्रीय सदस्यहरू बाबुराम बस्नेत, पदमबहादुर बस्नेत, चतुरमान विश्वकर्मा, चन्द्रघुम्टे गुरुङ, इन्दु अधिकारी, गिरिधर परियार, गणेश यादव, चन्द्रेश्वर यादव, उज्ज्वल थापा, दिनेश कार्की, रामचन्द्र भट्टराईलगायत छन् ।

यी हुन् राप्रपाका मुख्य माग 
-    संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने ।
-    राजसंस्था अटाउने गरी नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अबिलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने ।
-    संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने ।
-    संगठित रूपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने ।
-    राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषद्बाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचारसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्नुपर्ने ।
-    छिमेकी मित्रराष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरी नयाँ सन्धि गरियोस् तथा भारतसँगको खुला सीमा व्यवस्थित र नियमन गरिनुपर्ने ।
    कक्षा १० सम्म संस्कृत शिक्षा अनिवार्य गरिनुपर्ने ।

हिन्दूधर्म र राजतन्त्रको एजेन्डा २१औँ शताब्दीमा कामै लाग्दैन

लोकराज बराल
राजनीतिक विश्लेषक

राष्ट्रिय प्रजातन्त्र पार्टी पञ्चायत पक्षधरहरूको दल हो । यो सिद्धान्ततः बहुदलीय व्यवस्था र लोकतन्त्र विरोधी पार्टी हो । ०४६ सालपछाडि बहुदलीय व्यवस्था आएपछि पञ्चहरूले राप्रपा नाम राखेर राजनीति गर्न थाले । त्यो पार्टीमा अहिले पनि सबै पञ्चहरू नै छन् । उनीहरूको अभिमुखीकरण भनेकै राजतन्त्र हो । त्यसका आधारका उनीहरूले हिन्दूधर्मलाई अघि सार्ने गरेका छन् । उनीहरूसँग अरू कुनै एजेन्डा नै नभएकाले अहिलेको समयमा हिन्दूधर्मलाई देखाउनुपर्ने बाध्यता छ । 

लोकतन्त्र, गणतन्त्र, धर्मनिरिपेक्षता, समावेशिता सबै अरू शक्तिहरूले आत्मसात गरेर राजनीति गरिरहेका छन् । राप्रपा नेताहरू भने एजेन्डाबिहीन छन् । त्यो पहिचानको खाडललाई पुर्नका लागि मात्रै हिन्दूधर्मलाई उनीहरूले एजेन्डा बनाएका छन् । यसका आधारमा उनीहरूले गरिरहेको हिन्दूराष्ट्रको मागमा आफ्नो पार्टीको हैसियतलाई बचाउनेबाहेक अरू कुनै उद्देश्य देखिँदैन । नेपाली जनताको भावनात्मक सम्बन्ध पनि राजतन्त्रभन्दा बढी हिन्दूधर्ममा छ । पहिलो संविधानसभाको चुनावमा प्रत्यक्षबाट पूरै पराजित भएर पनि कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकबाट २५ सिट जितेको थियो । मैले त्यतिवेलै त्यो ट्रेन्ड घट्दै जान्छ भनेको थिएँ । त्यतिवेला जनताले भावनाका आधारमा भोट दिएका थिए । जनताले बुझ्दै गएपछि त्यो घट्दै गयो । 

हिन्दूधर्म उनीहरूको खास एजेन्डा होइन । धर्मनिरपेक्ष सरकारमा कमल थापा उपप्रधानमन्त्री पदमा बस्न गए । गणतन्त्रात्मक संविधानका एजेन्डामा थापाले हस्ताक्षर गर्न पुगे । यसरी हेर्दा उनीहरूको कुनै खास अस्तित्व नै देखिँदैन । कहिले यता, कहिले उता गरेर आफ्नो राजनीतिक स्पेस जोगाउने खेलमा उनीहरू छन् । धर्मनिरपेक्षतामा पनि हस्ताक्षर गर्ने, हिन्दूधर्मलाई पनि नछोड्ने भन्ने नैतिकताले पनि दिँदैन । हुन त कुनै पनि राजनीतिक दलमा अहिले नैतिकता छैन । राजनीतिक नैतिकताको ठूलो खडेरी परेको छ । नेपाली कांग्रेसकै नेता, बिपी कोइरालाकै छोरा शशांकले ‘धर्मनिरपेक्षता किन चाहियो ?’ भन्छन्, दोधारेपन देखाउँछन् । केपी ओलीले नै ‘धार्मिक स्वतन्त्रताभन्दा त भैहाल्छ’ भनेकै हुन् । राप्रपाले अहिले गरेको पनि सबै नौटंकी नै हो ।

भारतमा भारतीय जनता पार्टीको बिगबिगी भएका वेलामा त्यसैको प्रभावका आधारमा नेपालमा पनि हिन्दूराज्य बनाउन सकिन्छ भन्ने कमल थापालाई लागेको हुनसक्छ । भारतको अहिलेको संस्थापन पक्षले पनि त्यस्तै चाहन्छ ।  

राप्रपाले अहिले हिन्दूधर्मको सेन्टिमेन्ट समातेर आफ्नो राजनीतिक स्थान सुरक्षित गर्न खोजेको देखिन्छ । त्यसैका लागि हो, राप्रपाले गरिरहेको मेची–महाकाली अभियान आदि । भारतमा भारतीय जनता पार्टीको बिगबिगी भएका वेलामा त्यसैको प्रभावका आधारमा हिन्दूराज्य बनाउन सकिन्छ भन्ने पनि उनीहरूलाई लागेको होला । भारतको संस्थापन पक्षले पनि त्यो चाहन्छ । धर्मनिरपेक्षता भनेको राष्ट्रको कुनै एउटा धर्म नहुने, सबै जातजाति र धर्मलाई समान तरिकाले व्यवहार गर्ने भनेको हो । लिम्बू, राई, मुसलमान, शिख या कुनै पनि धर्मको मान्छेले ‘यो मेरो राज्य हो’ भन्न पाउनुपर्छ । भारतमै पनि ८१ प्रतिशत जनता हिन्दू छन् । तर, उनीहरूले नै संविधान धर्मनिरपेक्ष बनाए । राज्यले सबैलाई समान दृष्टिकोणले हेर्नुपर्छ, कुनै एउटाको मात्रै प्रभुत्व हुनुहुन्न भन्ने विषय नै धर्मनिरपेक्षता हो । हिन्दूधर्म उदार छ, त्यो वेग्लै कुरा हो । 

नेपाली जनताले अब राजतन्त्र र हिन्दूधर्मका लागि मात्रै कुनै पार्टीलाई साथ दिँदैनन् । नेपालमा केही राजनीतिक घटनाहरू आकस्मिकतामा पनि भएका छन् । बेलायतजस्तो विशाल लोकतन्त्रको इतिहास भएको मुलुकमा त राजतन्त्र घाँटीमा अड्किएर बसेको छ । तर, यहाँ धेरै ठूलो दबाब नै सिर्जना भयो भने हिन्दूधर्म होइन, धार्मिक स्वतन्त्रता भन्नेसम्म आइपुग्छ । राजतन्त्र नै फर्किने सम्भावना भने अब सकियो, फर्किँदैन । अब राजा आउँदा को आउँछन् ? ज्ञानेन्द्र ? त्यो त सबै देखिसकिएको छ । उनको छोरा पारसका विषयमा त बोल्नै पर्दैन । कोही राम्रो भिजन भएको व्यक्ति भए पनि प्रतिकात्मक रूपमा राखौँ भन्ने जनताको धारणा हुन सक्थ्यो । अहिले केका आधारमा जनताले राजतन्त्र फर्काउँछन् ? त्यस्तो कुनै सम्भावना नै छैन । 

राजनीतिक दलहरूमा प्रतिबद्धता कार्यन्वयनमा देखिएको कमजोरीका कारण मात्रै जनताले अलिकति निकासको बाटो चाहेजस्तो देखिन्छ । तर, जनता पछाडि फर्किने भन्ने हुँदैन । राजतन्त्र वा हिन्दूधर्मभन्दा जनता अगाडि बढ्छन् । फेरि हिन्दूधर्मको राज्य बनायो भने यहाँका अरू जाति र धर्मका मान्छेहरूले पनि आफ्नो पहिचानको खोजी गर्छन् । त्यस्तो वेलामा राज्य धार्मिक द्वन्द्वमा फस्ने सम्भावना हुन्छ । जनताले धर्मनिरिपेक्षवादी र गणतन्त्रवादीलाई मत दिइसके । यसअघिको निर्वाचनमा पनि राप्रपाजस्तो शक्तिको अस्तित्व क्रमिक रूपमा घट्दो नै छ । भएको केही प्रतिशत मत पनि अब यिनीहरूले जोगाउन सक्दैनन् । राप्रपाले बोकेको एजेन्डा २१औँ  शताब्दीको नेपालमा काम लाग्ने एजेन्डा होइन ।