१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
२०७५ चैत १ शुक्रबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ

मन्त्रिपरिषदद्वारा चीनसँगको पारवहन प्रोटोकल स्वीकृत

Read Time : > 1 मिनेट
२०७५ चैत १ शुक्रबार ०८:४०:००

प्रोटोकल सहमतिमा हस्ताक्षर भएपछि नेपालले चीनका बन्दरगाह प्रयोग र चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न पाउनेछ।

नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । दुई देशबीच पारवहन सम्झौताको प्रोटकलमा सहमति भएको ६ महिनापछि मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चीन र नेपालबीच पारवहन सम्झौता भएको थियो ।

सन् २०१६ मा पारवहन सम्झौता भए पनि त्यसको प्रोटोकलमा भने सम्झौता हुन सकेको छैन । सम्झौता भएको दुई वर्षपछि गत २२ भदौमा दुई मुलुकबीचको पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएको छ । सोही प्रोटोकललाई मन्त्रिपरिषद्को पछिल्लो बैठकले अनुमोदन गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  

वाणिज्य सचिवलाई अख्तियारी
पारवहन सम्झौताको प्रोटोकलमा नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायातको माध्यम प्रयोग गर्न, ६ वटा नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्ने उल्लेख छ । तर, प्रोटोकल सहमतिमा हस्ताक्षर नहुँदा पारवहन सुविधा लिन नेपाल अझै असमर्थ रहेको हो । मन्त्रिपरिषद्ले प्रोटोकलमा हस्ताक्षर गर्न वाणिज्य सचिवलाई अख्तियारी दिएको छ । यससँगै अब प्रोटोकलमा हस्ताक्षर हुने बाटो खुलेको छ । प्रोटोकल सहमतिमा हस्ताक्षर भएपछि नेपालले चीनका बन्दरगाह प्रयोग र चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न पाउनेछ ।

के छ प्रोटोकलमा ?
प्रोटोकलमा नेपालले चीनका सबै सामुद्रिक तथा सुक्खा बन्दरगाह प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । तियान्जेन, सेनजे, लियानयुंगांग र झांगजियांग सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गर्न सकिने प्रोटोकलमा उल्लेख छ । प्रोटोकलले नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म पारवहन ढुवानीका लागि आउन–जान सक्ने व्यवस्था पनि गरेको छ ।

नेपाली नागरिकता भएका चालकले अनुमति लिएर ढुवानी साधन सिगात्सेसम्म लैजान सक्नेछन् । चिनियाँ बन्दरगाहबाट सबैभन्दा उपयुक्त र किफायती मार्ग प्रयोग गरी नेपालको कार्गो ढुवानी गर्न सकिने भएको छ । पारवहन प्रोटोकलले नेपाल–चीनका ६ वटै नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलअनुसार रसुवा, कोदारी, किमाथांका, नेचुंग, यारी र ओलाङचुङगोला नाकामार्फत पारवहन ढुवानी गर्न सकिनेछ । 

कहिले हुन्छ सम्झौता ?
नेपाल–चीनबीचको पारवहन प्रोटोकलका लागि दुई मुलुकबीचको उच्चस्तरीय भ्रमण कुरिरहेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्री वा सोभन्दा माथिल्लो स्तरको भ्रमणको अवसर पारेर प्रोटोकलमा हस्ताक्षर गरिने मन्त्रालयले जनाएको छ ।