१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७५ चैत १ शुक्रबार ०८:३२:००
Read Time : > 1 मिनेट
समाचार

बिस्केट जात्रा शान्तिपूर्ण बनाउन सहमति 

Read Time : > 1 मिनेट
२०७५ चैत १ शुक्रबार ०८:३२:००

भक्तपुरमा प्रसिद्ध बिस्केट जात्राको तयारी सुरु भएको छ । नौ दिन, आठ रातसम्म धुमधामले मनाइने बिस्केट जात्रा यो वर्ष शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्ने सरोकारवालाले सहमति गरेका छन् । एक महिनापछि सञ्चालन हुने जात्राको तयारीका लागि भक्तपुर नगरपालिकाको संयोजनमा बुधबार सरोकारवालाबीच छलफल भएको छ । 

पर्यटक आगमन बढाउनुपर्छ : प्रजापति
कार्यक्रममा नगर प्रमुख सुनील प्रजापतिले आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउन बिस्केट जात्रालाई थप व्यवस्थित र मर्यादित बनाउने बताए । यसका लागि नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय र सहकार्य थालेको बताए । ‘यस्ता जात्रा शान्तिपूर्ण र व्यवस्थित गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत भक्तपुर नगरपालिकाको गरिमा बढ्नेछ,’ उनले भने । 

भक्तपुरलाई पर्यटकीय नगरका रूपमा विकास गर्न जनसहभागिता अनिवार्य भएको बताउँदै प्रजापतिले सम्पदा संरक्षण र विकास निर्माणका ठुल्ठूला योजनामा नागरिक समाजको सक्रियता रहेको बताए । कार्यक्रममा नगरपालिका उपप्रमुख रजनी जोशीले जात्राको सांस्कृतिक पक्ष र गतिविधिलाई लिपिबद्ध गर्दै जानुपर्ने बताइन् । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिस्केट जात्रा शान्तिपूर्ण बनाउन सबैलाई आग्रह गरे । प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जात्रा हुने क्षेत्रका निर्माण सामग्री हटाउन सूचना प्रकाशित गर्नुपर्ने बताए । 

गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतमा देखिएका कमी–कमजोरी नदोहो-याउने प्रतिबद्धता व्यक्त गरे । जात्राको व्यवस्थापनमा गुठी संस्थानले भूमिका बढाउने उनले बताए । कार्यक्रममा सहभागी स्थानीयले जात्रामा गुठी संस्थान र भैरव नाइकेहरूले समयमै पूजाआजा गरी साँझ नपर्दै जात्रा सञ्चालन गर्नुपर्ने, हुल–हुज्जत गर्ने, झैँझगडा गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्ने र कारबाही गरिएकालाई सार्वजनिकसमेत गर्नुपर्ने माग गरे । 

भैरवनाथको रथ तान्नु एक दिनअगाडि रथ निर्माण र रङरोगनको सम्पूर्ण काम सक्नुपर्ने, डोरी बलियो राख्नुपर्ने, रथ बनाउनेहरूलाई समयमै भुक्तानी दिनुपर्नेलगायत सुझाब स्थानीयले दिएका थिए । 

यसरी मनाइन्छ बिस्केट जात्रा 
यो जात्रा नयाँ वर्षको चार दिन अगाडिदेखि पाँचदिन पछिसम्म नौ दिन, आठ रात धुमधामका साथ मनाइन्छ । ‘बिस्केट’ अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा मनाइने जात्रामा नेवार समुदायले तान्त्रिक विधिअनुसार बनाएको भैरव र भद्रकालीको रथ टौमढीबाट क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु-याई फर्काउने चलन छ । त्यसपछि गःहिटी पु-याएर रथयात्रा विसर्जन गरिन्छ ।