मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
केशव आचार्य
२०७९ जेठ ३ मंगलबार ०९:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

 निर्वाचन परिणाम : सचेत मतदाताको विवेक प्रदर्शन

Read Time : > 2 मिनेट
केशव आचार्य
२०७९ जेठ ३ मंगलबार ०९:००:००

अहिले स्थानीय तह निर्वाचनको जे–जस्तो परिणाम आइरहेको छ, यसबाट जनताले ‘हाम्रा’ मान्छेलाई भन्दा ‘राम्रा’ मान्छेलाई विश्वास गरेको देखिन्छ

स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरू पनि स्थानीय छन्, चुन्ने जनता पनि स्थानीय नै हुन् । उम्मेदवार र मतदाताको स्वार्थ पनि स्थानीय नै हो । सबै तह र तप्काका स्थानीयताको संयोजनले नै स्थानीय तहको विकास सम्भव हुन्छ । यो स्थानीयताको संयोजनबाट जुन उम्मेदवार छनोट गरिन्छ, त्यही उम्मेदवार नै स्थानीय जनताको रोजाइ र स्थानीय विकासको संवाहक बन्छ । 

मतदान नै स्थानीय जनताको भाग्य र भविष्य निर्माण गर्ने अधिकार हो । यसलाई ध्यान दिइएन, यसको दुरुपयोग भयो र कुनै लहडमा अमूल्य मत खेर फालियो भने स्थानीय तहको भविष्य अन्धकार हुन पुग्छ । यसको दूरदर्शिताको बोध मतदानअघि नै मतदातामा हुनु जरुरी छ । स्थानीय निर्वाचनमार्फत जनताका भइपरी आउने काम र समस्या समाधानका लागि निरन्तर खट्न सक्ने उम्मेदवार नै जनताले रोज्ने हुन् । 

अहिले स्थानीय तहमा चुनिएका प्रतिनिधि स्थानीय जनता र तिनका समस्यासँग परिचित छन् । उनीहरूका आनीबानी, स्वभाव, चरित्र, हैसियत, सेवा र सहयोगबाट स्थानीय जनता पनि परिचित छन् । उनीहरूले आजसम्म गरेका काम गराइको शैली र सहयोग स्थानीयबीच छर्लंग छ । तसर्थ, उम्मेदवारमध्ये जनस्तरमा उपयुक्त उम्मेदवार जनताले छनोट गर्ने अवसरलाई स्थानीयले चिनिसके । यो अवसरलाई स्थानीयस्तरको दीर्घकालीन भविष्य निर्माणमा लगाउन जनता जागरुक भई मतदान गरेका छन् । 

आवधिक चुनाव पाँच–पाँच वर्षमा आउँछ । अहिलेको निर्वाचन पनि आगामी पाँच वर्षसम्मका लागि हो । पाँच वर्ष एक सिंगो आवधिक विकास निर्माणको चरण हो । काम गर्नेका लागि उदाहरणीय काम गरेर देखाउन सकिने एक लामो समयावधि पनि हो । यो कालखण्डमा स्थानीय जनताको भाग्य र भविष्य निर्माण गर्न सकिने आधार पनि तयार पार्न सकिन्छ । 
तसर्थ स्थानीयस्तरका आवश्यकता र उपलब्ध स्रोतसाधनको समुचित उपयोग गर्न सक्ने उम्मेदवार जनताको नजरमा पर्ने गरेको छ । राजनीतिक दलले स्थानीय जनताको घरआँगनमा सिंहदरबार पुर्‍याइदिएको बताइसकेका छन्, वास्तवमा घरआँगनमा सिंहदरबार पुग्यो–पुगेन, स्थानीय जनप्रनिनिधिको काममा निर्भर हुन्छ । त्यसका लागि इमानदार र उपयुक्त जनप्रतिनिधि छनोट गर्नुपर्छ ।

स्थानीय जनताको घरदैलोमा जनमुखी शासन व्यवस्था लिएर जाने असल प्रतिनिधिको आवश्यकता हुन्छ । स्थानीय निर्वाचनमा स्थानीय जनताले चयन गर्ने प्रतिनिधि नै असल प्रतिनिधि हो । त्यसैले, समयसापेक्ष स्थानीय चासो र जनभावना कदर हुन जरुरी हुन्छ । त्यसलाई कुन हिसाबले उम्मेदवारबाट सम्बोधन भइरहेको छ, यसमा जनता चनाखो बन्नुपर्छ । उम्मेदवारले उठाएका मुद्दा समयसापेक्ष छन्–छैनन्, सम्भव छ–छैन जस्ता विषयमा पनि जनताले ध्यान पुर्‍याउनुपर्छ । 

यसपटकको निर्वाचनमा पनि उम्मेदवार जनताको सेवा गरिरहेका छौँ र पुनः सेवाका लागि तयार छौँ भनी जनतासामु उभिएर मत माग्दै थिए । तिनको छनोट भइसकेको छ । मतगणना जारी नै भए पनि जनताको छनोट मतपेटिकामा सुरक्षित छ । छिटै त्यसको परिणाम सार्वजनिक पनि हुने नै छ । 

जनताको अपेक्षा, भावना र मर्मको रक्षाका लागि उम्मेदवारमा जनमतको कदर गर्ने संस्कृति चाहिन्छ । आफूले जिते मात्र चुनावी परिणाम स्विकार्ने नियत बोकेका दल वा उम्मेदवारका विषयमा मत हाल्नुअघि नै सोच्नुपर्छ । 

निर्वाचनमा मतदाता नामावली रहेको स्थानमा मात्रै उम्मेदवारी दिन पाइने व्यवस्था छ । यसको अर्थ हो, स्थानीय व्यक्तिले मात्र सम्बन्धित ठाउँको प्रतिनिधि हुने मौका पाउँछन् । विदेशमा स्थायी वा वैकल्पिक बसोबास भएका, सन्तान र सम्पत्ति अन्त कतै राखेका, आफू पनि चुनावको समयमा मात्र झुल्किने व्यक्ति जनताको प्रतिनिधि बन्न योग्य छैन, विवेक प्रयोग गर्ने मौका पनि यही हो । जनताले पक्कै पनि मतदानअघि नै यसमा ध्यान पुर्‍याएका होलान् । अहिले स्थानीय तह निर्वाचनको जेजस्तो परिणाम आइरहेको छ, यसबाट जनताले नेताका ‘हाम्रा’ मान्छेलाई भन्दा ‘राम्रा’ मान्छेलाई विश्वास गरेको देखिन्छ । खासगरी जनताले निर्वाचनमार्फत दिएको फैसला शिरोपर गर्नु दल र उम्मेदवारहरूको दायित्व हो । 

निर्वाचनको प्रारम्भिक नतिजा हेर्दा आर्थिक मामिलामा अनुशासित, सामाजिक रूपमा विभेद नगर्ने, समाजमा असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, फरक क्षमता भएका, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता सबै वर्गप्रति सद्भाव, सम्मान र सहानुभूति राख्ने उम्मेदवारलाई मतदाताले प्राथमिकता दिएको देखिन्छ । विदेशी वा धनीका अगाडि लत्रिने, रीतिरिवाज, परम्परा, भाषासंस्कृति, पेसाप्रति सम्मान नगर्ने, पारिवारिक र सामाजिक झगडामा रमाउनेलाई जनमत नदिने पुरानै परम्परा हो । यो परम्परालाई पनि हाम्रा आममतदाताले ध्यानमा राखेको प्रस्ट हुन्छ । 

उचाल्न नसकिने मालाको अभिनन्दन, खोज्ने, खर्चिलो र भड्किलो तामझाम मन पराउने नेता आफूलाई जनताको सेवक होइन, मालिक सम्झिन्छन् । पढाइ लेखाइ, सम्पत्ति, बल, अभिजात वर्गसितको उठबसको धाक, मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोज्ने, आफूले जितेमा कतै जागिर लगाइदिने वा ठेक्कापट्टाको आश्वासन बाँड्ने उम्मेदवारको नियत खराब भएको मतदाताले सजिलै बुझ्न सक्छन् । त्यसैले, यसपटकको निर्वाचनमा पनि त्यस्ता उम्मेदवार पाखा लाग्दै गएको अहिलेसम्म घोषित परिणामले संकेत गरिरहेको छ ।

अहिलेसम्मको प्रारम्भिक नतिजामा स्वतन्त्रदेखि नयाँ–नयाँ अनुहारप्रति आममतदाताको आकर्षण देख्दा भन्न सकिन्छ, मतदाताले यसपटकको स्थानीय तह निर्वाचनमा आफ्नो विवेकको भरपूर प्रयोग गरेका छन् ।

(आचार्य लेक्चरर हुन्)