मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ जेठ ३ मंगलबार ०७:१५:००
Read Time : > 2 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

भक्तपुरको मेयरमा १४ उम्मेदवार : कांग्रेस–एमालेसहित १३ को धरौटी जफत

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ जेठ ३ मंगलबार ०७:१५:००

१० वटै वडासहित मेयरमा नेमकिपाका सुनील प्रजापतिको सानदार विजय

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले आठ गुणाभन्दा बढी मतान्तरले ‘क्लिन स्विप’ गरेको छ । मेयरमा नेमकिपाका सुनील प्रजापति २९ हजार दुई सय ५२ मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । ०७४ मा २५ हजार सात सय ३० मत ल्याएर उनी मेयर निर्वाचित भएका थिए । 

यसपालि मेयरका लागि १४ जनाले उम्मेदवारी दिएको भक्तपुरमा प्रजापतिका प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार चार सय सात मत मात्रै ल्याएका छन् । एमालेका रवीन्द्र लाछिमस्युले दुई हजार आठ सय ४१, स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले दुई हजार तीन सय ९९ र राप्रपाका बद्री लाखाजुले एक हजार ८१ मत र अर्का स्वतन्त्र उम्मेदवार बलराम प्रजापतिले नौ मत मात्रै ल्याए । 

त्यस्तै, उपमेयरमा नेमकिपाकै रजनी जोशीले २९ हजार सात सय ५९ मत ल्याएर जितिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले दुई हजार नौ सय ८८ मत ल्याएकी छिन् । उपमेयरमा स्वतन्त्रसहित नौजना प्रतिस्पर्धामा थिए । 

नगरका १० वटै वडामा नेमकिपाले जितेको छ । वडा नं. १ मा एमालेका रमेश न्याइच्याईंलाई हराउँदै श्यामकृष्ण खत्री निर्वाचित भएका हुन् । उनले दुई हजार एक सय ४३ मत ल्याएका छन् । वडा नं. २ मा हरिप्रसाद वासुकला दुई हजार ६ सय २५ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी संचज्ञान याकामीले आठ सय ९१ मत ल्याए । वडा नं. ३ मा राजकृष्ण गोराले दुई हजार चार सय ४० मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसका शिवप्रसाद अवालले सात सय पाँच भोट मात्रै ल्याए । 

त्यस्तै, वडा नं. ४ मा तीन हजार पाँच सय ६२ मत ल्याएर नेमकिपाकै उपेन्द्र सुवाल विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका प्रेमलाल शिल्पकारले सात सय ११ मत ल्याए । वडा नं. ५ मा योगेन्द्रमान बिजुक्छे दुई हजार सात सय ७६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्णसुन्दर खाइतुले ६ सय ५७ मत ल्याए । वडा नं. ६ मा हरिराम सुवाल तीन हजार दुई सय २९ मतसहित विजयी भए । एमालेका भूपेन्द्र नेपालीले तीन सय २२ मत पाएका छन् । 

वडा नं. ७ मा उकेश कवांले तीन हजार नौ सय ६९ मतले जित निकाले । प्रतिद्वन्द्वी कांग्रेसका धर्मसुन्दर शाक्य बुद्धाचार्यले दुई सय ५२ मत मात्रै ल्याए । वडा नं. ८ मा कृष्णप्रसाद कोजु दुई हजार दुई सय ८० मत ल्याएर विजयी हुँदा एमालेका नरेश दुवालले एक सय २० मात्र ल्याए । वडा नं. ९ मा नेमकिपाकै रवीन्द्र ज्याख्यले चार हजार दुई सय ७७ मत ल्याउँदा एमालेका अक्षयसुन्दर प्रजापति दुई सय ९१ मतमै सीमित रहे । त्यस्तै, वडा नं. १० मा लक्ष्मीप्रसाद हयौमिखा दुई हजार ६ सय २६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्णकुमार सुवालले दुई सय २४ मत मात्रै प्राप्त गरे । वडाध्यक्ष मात्रै होइन, वडासदस्यका सबै पदमा पनि नेमकिपाकै उम्मेदवार विजयी भएका छन् । ०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपकिपाले सबै वडामा जित निकालेको थियो । 

भक्तपुरमा किन जनप्रिय छ नेमकिपा ? 
संघीय, प्रदेश र स्थानीय सबै तहका निर्वाचनमा भक्तपुरका मतदाताले नेपकिपाका उम्मेदवारलाई नै रुचाउने गरेका छन् । आखिर भक्तपुरमा किन जनप्रिय छ नेमकिपा ? नवनिर्वाचित मेयर सुनील प्रजापतिको जवाफ छ– हामी जे बोल्छौँ, त्यही गर्छौैँ भनेर जनताले मत दिएको हुनुपर्छ । 

उनले आगामी दिनमा पनि नागरिक तहमा सहकार्य गरेर विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याए । ‘शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा, सहकारीसँग समन्वय गरेर विकास निर्माणका काम गर्नेछौँ,’ प्रजापतिले भने, ‘पार्टीको घोषणापत्रअनुसार जनतालाई जहाँ–जहाँ समस्या पर्छ, त्यहाँ–त्यहाँ पुगेर सेवा गर्छौँ । हामी अरूजस्तो कुरा मात्र गर्ने, काम नगर्ने पार्टी होइनौँ ।’ 

प्रजापतिले संसद्मा विचाराधीन ख्वपः विश्वविद्यालय विधेयक पास भएलगत्तै विश्वविद्यालय सुरु गर्ने र मेडिकल तथा नर्सिङ कलेज सञ्चालन गर्ने योजना सुनाए । २५ बेडको नगरस्तरीय अस्पताललाई सय बेडको पुर्‍याउने पनि बताए । ‘पाँच वर्षमा अधुरा रहेका कामलाई निरन्तता दिँदै शिक्षा, स्वास्थ्य, रोजगार, सम्पदालगायतका क्षेत्रका काम गर्नेछु,’ उनले भने, ‘हाम्रो अध्यक्ष (नारायणमान बिजुक्छे)को सय वर्षपछिको भक्तपुरको योजना साकार बनाउन लागिपर्नेछौँ ।’

शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा ‘भक्तपुर मोडेल’ अनुकरणीय छ । नगरपालिकाले शिक्षामा ख्वपः इन्जिनियरिङ, ख्वपः बहुप्राविधिक संस्था, शारणा र बागीश्वरी उमावि, ख्वपः माविलगायत स्कुल–क्याम्पसबाट वार्षिक तीन करोडको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यी स्कुल–कलेजमा करिब सात हजार विद्यार्थी पढ्छन् । भक्तपुर नगरपालिकाले च्यामासिंहमा ख्वपः अस्पताल पनि सञ्चालन गरेको छ । दैनिक सात सय सेवाग्राही आउने यो अस्पतालमा कुनै पनि रोगको विशेषज्ञ डाक्टरलाई ८० रुपैयाँमै जचाउन सकिन्छ । एमबिबिएस डाक्टरलाई भेटेको ६० रुपैयाँ र अन्य नर्सिङ सेवा निःशुल्क गरेको छ । यसबाहेक एमबिबिएस डाक्टरसहितको निःशुल्क घरदैलो स्वास्थ्य सेवा दिँदै आएको छ । दीर्घरोगीलाई सय रुपैयाँमा उपचारको व्यवस्था गरेको छ ।