गण्डकी मेडिकल कलेज प्रकरण : विद्यार्थीको पक्षमा अदालतको आदेश

कलेज सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई सहज

२०७५ चैत १ शुक्रबार ०६:५५:०० | पाेखरा

विद्यार्थीबाट फिरौतीको शैलीमा रकम संकलन गर्ने गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । जिल्ला अदालत कास्कीले जारी गरेको पक्राउ पुर्जीविरुद्ध अर्यालले निषेधाज्ञा माग्दै उच्च अदालतमा रिट दायर गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट अधिवक्ताहरूले बुधबार र बिहीबार दिनभर बहस गरेपछि मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त इजलासले अर्यालको माग अस्वीकार गरेको हो ।

‘२१ फागुनमा विद्यार्थीका तर्फबाट अपराधको किटानी जाहेरी गरेको देखिएको, जाहेर गरेका प्रतिवादीमध्ये जिल्ला अदालत कास्कीको अनुमतिले पक्राउ पुर्जी जारी भई सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परिसकेको र जिल्ला अदालतबाटै निवेदकउपर नै पक्राउ पुर्जी जारी गर्न अनुमति दिएकाले निवेदकहरूको मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन, कानुनबमोजिम गर्नू,’ उच्च अदालतको आदेश छ ।

कलेज सञ्चालकका पक्षमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता पूर्ण राजवंशीले बहस गरेका थिए । त्यस्तै, विपक्षीको तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता नरेन्द्रबहादुर चन्द, उपन्यायाधिवक्ता खेमराज पाठक, वरिष्ठ अधिवक्ता तिलक पराजुली तथा अधिवक्ताहरू भगवती पहारी र ओमप्रकाश अर्यालले बहस गरेका थिए । 

सरकारले काठमाडौंबाहिरका मेडिकल कलेजका लागि एमबिबिएसका विद्यार्थीसँग ४२ लाख ४५ हजार तोकेकोमा गण्डकी मेडिकल कलेजले विनारसिद चिटका आधारमा १० देखि १५ लाखसम्म बढी लिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीले ताला लगाएपछि कलेज ४४ दिनदेखि ठप्प छ । उनीहरूले कलेज सञ्चालकविरुद्ध २१ फागुनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी दर्ता गराएका छन् । 

अदालतको आदेशले अनुसन्धान झन् सहज भयो : एसपी ओमबहादुर राना, कास्की प्रहरी प्रमुख
विद्यार्थीसँग बढी शुल्क असुलेको आरोपमा कलेज सञ्चालकसमेत रहेका पूर्वसिइओ सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मालाई २२ फागुनमै पक्राउ गरेर ठगी मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको छ । कलेज अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, प्रशासनका कर्मचारी दिनेश पौडेल, कर्मचारीहरू तिलक पौडेल, कृष्ण पौडेल र कृष्ण घिमिरेको नाममा पनि २२ फागुनमै पक्राउ पुर्जी जारी भएको हो । उनीहरूको खोजी भइरहेको छ । उच्च अदालतको आदेशपछि उनीहरूलाई पक्राउ र थप अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ । 

अब हामीलाई पढ्ने वातावरण बनाइयोस् : अनित सिन्हा, विद्यार्थी 
हामी केही गरौँला भनेर पढ्न आएका हौँ । अब हामीलाई पढ्ने वातावरण सम्बन्धित निकायले बनाइदिनुप-यो । कलेजको विवाद न्यायिक प्रक्रियाले नै टुंगो लाग्नेछ । कलेज र अस्पताल सहज रूपमा सुचारु गराउन हामी शुक्रबार बिहान १० बजे ताला खोल्छौंँ । 
 

प्रतिकृया दिनुहोस