मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका 
२०७५ चैत १ शुक्रबार ०६:५५:००
Read Time : > 1 मिनेट
समाचार

नक्कल गरेर क्रान्ति हुँदैन : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका 
२०७५ चैत १ शुक्रबार ०६:५५:००

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक प्रयास भइसकेको प्रयोगको नक्कल गरेर क्रान्ति नहुने बताएका छन् । ललितपुर, भक्तपुर, काठमाडौं योङ कम्युनिस्ट लिग (वाइसिएल) ले बिहीबार आयोजना गरेको ‘सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रममा उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति लक्षित गर्दै नक्कल गरेर दुःख पाउनुबाहेक अर्को विकल्प नभएको बताए ।

परिस्थित ०५२ साल नभई ०७५ साल भएकाले निधार खुम्च्याएर सोच्न सुझाब पनि उनले दिए । ‘हिजो जनयुद्धमा मेरै स्कुलबाट आएकाले नक्कलबाहेक अरू केही गरेजस्तो लाग्दैन । नक्कल गरेर पास भइँदैन, सक्कल गरेर मात्र पास होइन्छ,’ प्रचण्डले भने, ‘हिजो युद्धको मैदानबाट ज्ञानेन्द्रलाई भन्दा महेन्द्रको कलाविहीन नाटक प्रदर्शन गर्न खोज्या छन्, महेन्द्रले आफ्नो जमानामा गरेको काम अर्काले षड्यन्त्रपूर्वक आएर त्यही देखाउँछु भन्यो भने सफल हँुदैन भन्या थिएँ, आखिर दरबार छाड्नुपर्ने अवस्था आयो ।’ अहिले राजतन्त्रात्मक व्यवस्था नभएको बताउँदै प्रचण्डले दलित, महिला, जनजातिलगायत समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वसहित धेरै अधिकार सुनिश्चित भइसकेकाले गम्भीर भएर सोच्न आग्रह गरे ।  

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले जनयुद्धमा मृत्यु भएका प्रहरी, सेना, कर्मचारी मात्र नभई जनताका छोराछोरी मारिएकाले सबैलाई सहिद घोषणा गरिने बताए । तत्कालीन एमाले र माओवादी फरक–फरक स्कुलिङबाट आए पनि प्राप्त उपलब्धिलाई संयुक्त रूपमा संस्थागत गरी सम्पत्तिको रूपमा राखिने भट्टराईले बताए ।  

एउटै समयमा अर्को प्रचण्डको जन्म हुँदैन 
इतिहासको एउटै कालखण्डमा अर्को प्रचण्ड हुन नसक्ने उनको भनाइ थियो । ‘साथीहरू (विप्लव) ले प्रचण्डले जस्तै ग¥यो भने अर्को प्रचण्ड बन्छु भन्दै हिँडेको सुनेको छु । कसैले चाहेर प्रचण्ड भइँदैन, बन्न सकिँदैन । म पनि प्रचण्ड नै बन्छु भनेर हिँडेको थिइनँ । काम गर्दै जाँदा जनताले प्रचण्ड बनाइदिए,’ उनले भने, ‘अब फेरि त्यही समयमा अर्को प्रचण्ड बन्दैन । इतिहासले कहीँकतै त्यस्तो सुविधा दिएको छैन ।’ क्रान्ति गर्ने हो भने अर्को बाटो खोज्न विप्लवलाई प्रचण्डले सुझाब दिए ।

‘मेरो हत्या गर्न टिम खटियो’ 
आफूलाई एक नम्बरमा मार्नुपर्छ भन्दै टिम खटाएको सरकारी संयन्त्रबाट थाहा पाएको प्रचण्डले बताए । ‘मलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर माइन्युट गर्नु भा’छ रे, मार्ने भनेर टिम पनि खटाउनुभएको छ भन्ने सुनेको छु,’ प्रचण्डले भने, ‘के भएको होला साथीहरूलाई, मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र परिवर्तन बच्ने होला त ? परिवर्तन उल्ट्याएर निरंकुशता ल्याउन खोज्या हो त, ती साथीहरू सम्झिँदा दयामाया लाग्छ ।’ राज्यले ऐन–कानुनअनुसार आफ्नो भूमिका निर्वाह गरेरै छाड्ने प्रचण्डले बताए ।