मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मेलम्चीको पानी भर्दै बालबालिका । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २ सोमबार ०९:४४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वर्षा निरन्तर भए  मेलम्चीको पानी रोकिने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २ सोमबार ०९:४४:००

तर, कुन मितिदेखि उपत्यकामा पानी ल्याउन रोक्ने भन्ने टुंगो नलागेको आयोजनाको भनाइ

उपत्यकावासीले फेरि केही समयका लागि मेलम्चीको पानी उपभोग गर्न नपाउने भएका छन् । अस्थायी संरचना भएकाले वर्षाका कारण आयोजनामा क्षति नपुगोस् भनेर मेलम्चीको पानी उपत्यका ल्याउन बन्द गर्न लागिएको हो । 

मेलम्ची खानेपानी विकास समितिले वर्षा सुरु हुनुभन्दा अघि नै मेलम्चीको पानी उपत्यका ल्याउन बन्द गर्ने विषयमा छलफल भइरहेको जनाएको छ । ‘अस्थायी संरचना भएकाले आयोजनामा ठूलो पानी पर्‍यो भने थप जोखिम हुन सक्छ । मौसमविद्हरूले पनि यो वर्ष छिटै मनसुन भित्रिने र पहिलेका वर्षहरूको तुलनामा धेरै पानी पर्ने भनिरहनुभएको छ । त्यसैले आयोजनामा थप क्षति हुन नदिन पनि पानी बन्द गर्नुपर्छ भन्ने हो,’ समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने । तर, कुन मितिदेखि पानी ल्याउन रोक्ने भन्ने टुंगो नलागिसकेको उनले बताए । 

राजेन्द्रप्रसाद पन्त, सूचना अधिकारी, मेलम्ची खानेपानी आयोजना समिति
अस्थायी संरचना भएकाले आयोजनामा ठूलो पानी पर्‍यो भने थप जोखिम हुन सक्छ । मौसमविद्हरूले पनि यो वर्ष छिटै मनसुन भित्रिने र पहिलेका वर्षहरूको तुलनामा धेरै पानी पर्ने भनिरहनुभएको छ । त्यसैले आयोजनामा थप क्षति हुन नदिन पनि पानी बन्द गर्नुपर्छ भन्ने हो ।

१० महिनाको प्रतीक्षापछि गत ११ वैशाखदेखि उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाएका थिए । गत १ असार र १५ साउनमा आएको बाढीका कारण आयोजनामा क्षति पुग्दा २२ वर्षको पर्खाइपछि उपत्यका आएको मेलम्चीको पानी आउन छाडेको थियो । क्षति पुगेको आयोजनालाई पुनर्निर्माण गरी १० महिनापछि फेरि पानी उपत्यकामा ल्याइएको थियो । 

मेलम्चीको पानी रोकिने भएसँगै उपत्यकामा पानीको अभाव झन् धेरै हुनेछ । यसलाई कम गर्न बागमतीको पानी प्रशोधन गरेर भए पनि उपत्यकामा देखिने पानीको अभाव पूर्ति गर्ने विषयमा छलफल भइरहेको समितिले जनाएको छ । ‘बर्खायाममा बागमतीमा पानीको बहाव बढ्यो भने त्यहाँको पानी प्रशोधन गरेर पनि वितरण गर्न सकिने विषयमा छलफल भइरहेको छ,’ पन्तले भने, ‘बागमतीको पानी सुन्दरीजलसम्म ल्याउन पाइपलाइन तयारी अवस्थामै भएकाले वितरण गर्न सकिन्छ कि भन्ने हो ।’ बागमतीको पानी ल्याएर वितरण भएमा करिब चार करोड लिटरभन्दा धेरै पानी वितरण हुन सक्ने अनुमान छ । 

उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा जोडिएको छ ।

यसरी केयुकेएलको कुल आपूर्ति ३० करोड लिटर पानी पुगेको थियो । केयुकेएलले अहिले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको छ । त्यस्तै, ट्युबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ । 

मेलम्चीको १७ करोड लिटर नै पानी थपिएपछि हाल एक लाख ७० हजार धारामा पानी वितरण भइरहेको छ । मेलम्चीको पानी वितरणसँगै चुहावट पनि बढेको छ । नेटवर्क पुरानो भएको, तर पानीको भोलुम बढेका कारण चुवाहट स्वाभाविक नै हुने केयुकेएलले जनाएको छ । ‘अधिकांश नेटवर्क पुरानै छ । तर, पानीको भोलुम बढ्यो । त्यसैले चुवाहट बढेको छ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने, ‘यसलाई नियन्त्रण गर्न मन्त्रालयले एउटा कमिटी नै बनाएको छ । हामीले पनि चुहावट भएका ठाउँका स्थानीयलाई तुरुन्त जानकारी दिनका लागि भनेका छौँ ।’