मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ २ सोमबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०६:२५:००

स्थानीय तहको निर्वाचनसँगै मनाङवासीलाई औषधिजन्य जडीबुडी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । उनीहरू जडीबुटी संकलनका लागि नारफु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका हुन् । ‘स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो, मतदान पनि गरियो, अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौँ,’ चामे गाउँपालिका–४ का जगबहादुर गुरुङले भने ।

गोर्खा घर भई यार्सागुम्बा संकलन गर्न मनाङ पुगेका सोनाम गुरुङले ‘सिजन’लाई समात्न सक्नुपर्ने भएकाले मतदानमा सहभागी भएर खर्कतर्फ लागेको बताए । स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले २५ वैशाखदेखि ३० गतेसम्म यार्सागुम्बा संकलन कार्य बन्द गराएको थियो । निर्वाचनमा सहभागी भएर मनाङवासीहरू यार्सागुम्बा संकलन गर्न मनाङवासी खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ ।

यार्सागुम्बा संकलन कार्य नाम्के खर्कबाट सुरु भई नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आउँदो असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी संकलन गरी मनाङवासी बेँसीतर्फ फर्किनेछन् ।

उनका अनुसार यार्सागुम्बा संकलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपुर्जी दिन अनुरोध गरिएको छ । यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङबाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक र खरिद गर्न आउने व्यक्तिहरूले अनिवार्य रूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचय पत्र लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । रासस