१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकृष्ण थापा
२०७५ चैत १ शुक्रबार ०६:४१:००
Read Time : > 1 मिनेट
समाचार

भत्ताको व्यवस्थापछि सुरक्षित सुत्केरी गराउने बढे

Read Time : > 1 मिनेट
रामकृष्ण थापा
२०७५ चैत १ शुक्रबार ०६:४१:००

भत्ता र हेरचाहको व्यवस्था भएपछि हेलम्बु गाउँपालिकाका ७ वटै वडाका गर्भवती महिला सुत्केरी गराउन बर्थिङ सेन्टर आउन थालेका छन् । गाउँपालिकामा २ वटा बर्थिङ सेन्टर छन् ।  गाउँपालिकाले गर्भवती महिलाका लागि ‘सुत्केरी आमा केयर होम’ स्थापना गरेर स्वास्थ्यसम्बन्धी जनचेतना र नर्सको प्रत्यक्ष निगरानीमा हेरचाह गर्न थालेपछि बर्थिङ सेन्टरप्रति आकर्षण बढेको हो । वडा नं. ७ को महांकाल र ५ को सिरिसेमा गत वर्षदेखि बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।

‘गत वर्ष पाँचजना गर्भवतीले मात्रै सुत्केरी गराएका थिए’ बर्थिङ सेन्टर आएर सुत्केरी गराएका आमा र बच्चा दुवै स्वस्थ रहेको बताउँदै गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘अहिले सुत्केरी गराउनेको चाप बढेको छ ।’ साउनयता दुवै सेन्टरमा गरी ४१ सुत्केरी भएको उनले जानकारी दिए । सुत्केरी गराउन आउनेको चाप बढेपछि स्थानीय महिलालाई बर्थिङ सेन्टरसम्म ल्याउन अर्को एम्बुलेन्स बुक गरिएको समेत शेर्पाले जनाए ।

सुत्केरीलाई भत्ता र हेरचाह 
बर्थिङ सेन्टरसँगै सुत्केरी आमा केयर होमको भवन निर्माण गरिएको छ । दुवै बर्थिङ सेन्टरमा केयर होम सञ्चालन गरिएको छ । युएनडिपीको साझेदारीमा ३२ लाख खर्चेर गाउँपालिकाले केयर होम भवन निर्माण गरेको हो । सुत्केरी गराइसकेपछि आमा र बच्चाको पूर्णरूपमा हेरचाह सोही भवनमा गरिन्छ । सुत्केरी भएपछि दुई दिन त्यहाँ राखेर पोसिलो खानेकुरा र स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरिँदै आएको शेर्पाले बताए । गाउँपालिकाले गर्भवती महिलालाई भत्ता, हेरचाह र पोसिलो खानेकुराका लागि रकम छुट्याएको छ । 

प्रत्येक सुत्केरीलाई गाउँपालिकाले तीन हजार भत्ता, ताप दिने हिटर र पोसिलो खानेकुरा प्रदान गर्छ । सुत्केरीको हेरचाहका लागि गाउँपालिकाले दुवै बर्थिङ सेन्टरमा महिला स्वास्थ्यकर्मी खटाइएको छ । सिमाना जोडिएको नुवाकोटको डुप्चेश्वर गाउँपालिकाका महिलासमेत हेलम्बुको बर्थिङ सेन्टरमा आउन थालेका छन् । सुत्केरी गराउन चाहने महिलालाई व्यथा लाग्नु दुई दिनअघि नै बर्थिङ सेन्टर आउन पालिकाले सूचित गरेको छ । गर्भवती महिला सुत्केरी हुनुपूर्व र पछि गरी चार दिन बर्थिङ सेन्टरमा अनिवार्य बस्नुपर्छ ।