मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ फाल्गुण ३० बिहीबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार

विश्व मिर्गौला दिवसका अवसरमा मन्त्रीद्वारा अंग दान

Read Time : < 1 मिनेट
रासस
२०७५ फाल्गुण ३० बिहीबार १९:२८:००

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिहीबार मरणोपरान्त अंग दान गर्ने घोषणा गरेका छन् । विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशाैँ नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उनले अंग दान गर्ने घोषणा गरेका हुन् । 

सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले मरणोपरान्त अंग दान गर्ने घोषणा गरेका छन् । उनीहरुलाई मरणोपरान्त काम लाग्ने सबै अंग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गरे । मन्त्री यादवले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अंग प्रत्यारोपण केन्द्रको पहुँच बनाउने तयारी भएकाे बताए । मिर्गौला रोगीका लागि डायलायसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने उनको भनाई थियो ।

राज्यमन्त्री डा यादवले मिर्गौला प्रत्यारोपीहरु अरू स्वस्थ्य व्यक्तिसरह स्वस्थ्य र सक्षम जीवन बिताउन सकेको बताए । उनले दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुने बिरामीका अंग दान गर्न सके धेरै बिरामीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनु पर्नेमा जोड दिए । 

विश्व मिर्गौला दिवसका अवसरमा साताव्यापी रुपमा आयोजना गरेको ब्याडमिन्टन, दौड, मिर्गौला दान गरेका र प्रत्यारोपण गरेका बिरामी तथा केन्द्रका चिकित्सकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।