मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १ आइतबार ०८:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा धेरै यात्रु बोक्ने अन्तर्राष्ट्रिय वायुसेवा कतार, एनएसी र हिमालय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १ आइतबार ०८:४५:००

कोभिड–१९ संक्रमण कम हुँदै गएसँगै अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या पनि बढ्न थालेको छ । सन् २०२२ को पहिलो तीन महिनामा दुई दर्जन वायुसेवा कम्पनीले नेपाली आकाश हुँदै ६ लाख ६ लाख ४१ हजार चार ४५ अन्तर्राष्ट्रिय यात्रु बोकेका छन् । यो संख्याले कोभिडपछि अन्तर्राष्ट्रिय उडान लयमा फर्किन लागेको संकेत गरेको छ । 

यो अवधिमा तीन लाख ४० हजार चार सय ८९ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् भने दुई लाख ९२ हजार दुई सय ६५ यात्रु नेपाल आएका छन् । तथ्यांकले नेपाल आउनेभन्दा बाहिरिनेको संख्या धेरै देखाएको छ । जनवरीमा दुई लाख आठ हजार यात्रु आवतजावत गरेकोमा फेब्रुअरीमा एक लाख ८१ हजार र मार्चमा दुई लाख ५३ हजार यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । पछिल्ला महिनामा उडान संख्यासँगै यात्रु संख्या पनि बढ्दैै गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससहित दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाली आकाशमा उडान गर्दै आइरहेका छन् । रोजगारी, अध्ययन, भ्रमणलगायत सिलसिलामा विदेश गएका नेपाली र वसन्त ऋतुसँगै विदेशबाट नेपाल भ्रमणमा आउने पर्यटक बढेका कारण अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या उत्साहजनक रहेको हो ।

कोभिडपछि अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपालकै दुई वायुसेवा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले बजार हिस्सा बढाउँदै लगेका छन् । तीन महिनाको तथ्यांक हेर्दा कतार एयरवेजले सबैभन्दा धेरै यात्रु बोक्दा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स दोस्रो र तेस्रो नम्बरमा छन् । तीन महिनामा ६ लाख ४१ हजारले अन्तर्राष्ट्रिय यात्रा गर्दा दुईवटा स्वदेशी वायुसेवाले एक लाख ९४ हजार यात्रुलाई सेवा दिएका छन् । यो संख्या कुल अन्तर्राष्ट्रिय यात्रुको ३०.२८ प्रतिशत हुन आउँछ । कोभिडअघि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा विदेशी वायुसेवा अग्रणी हुने गर्थे भने नेपाल एयरलाइन्स पछाडि हुने गर्थ्यो । 

तीन महिनाको तथ्यांक केलाउँदा सबैभन्दा बढी यात्रु कतार एयरवेजले बोकेको देखिन्छ । तीन महिनामा कतार एयरवेजले एक लाख ४२ हजार दुई सय ९८ यात्रु बोकेको छ । कतारले यी यात्रु बोक्न सात सय २० वटा उडान–अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांकले देखाउँछ । अहिले कतारले नेपालमा दैनिक दुईवटा उडान गर्दै आइरहेको छ ।

सधैँ पछाडि रहने नेपाल एयरलाइन्स धेरै यात्रु बोक्ने वायुसेवाको सूचीमा दोस्रो स्थानमा आएको छ । नेपाल एयरलाइन्सले तीन महिनामा एक लाख आठ सय ७५ यात्रु बोकेको छ । यस्तै, नेपालकै हिमालय एयरलाइन्सले तीन महिनामा ९३ हजार यात्रु बोकेर तेस्रो नम्बरमा परेको छ ।