मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १ आइतबार ०७:१८:००
Read Time : > 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टी दोब्बर मतले अगाडि 

Read Time : > 1 मिनेट
२०७९ जेठ १ आइतबार ०७:१८:००

जेलमा रहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले उनको गृहनगर कैलालीको टीकापुर नगरपालिकामा दोब्बर मतान्तरले अग्रता लिएका छन् । मेयर, उपमेयर, वडाध्यक्षदेखि सदस्यसम्म पूरै प्यानलमा मतान्तर बढ्दै गएको छ । रेशम चौधरीकी श्रीमती अध्यक्ष रहेको उक्त पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारूलाई एमालेका श्याम खत्रीले पछ्याइरहेका छन् । 

त्यस्तै, उपमेयरकी उम्मेदवार उल्कादेवी विश्वकर्मालाई पनि एमालेकी उपमा केसी र गठबन्धनबाट माओवादीका उम्मेदवार खडक साहले पछ्याएका छन् । टीकापुर नगर क्षेत्र नम्बर १ मा पर्छ, जहाँबाट ०७४ मा रेशम चौधरी भारी मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि उनको पार्टीले प्रारम्भिक अग्रता लिएको छ । भजनीको मेयरका लागि केवल चौधरी अग्रस्थानमा छ । एमालेका हर्कबहादुर बुढाले उनलाई पछ्याएका छन् । गठबन्धनका उम्मेदवार माओवादीका शेरबहादुर चौधरी तेस्रो स्थानमा छन् । जोशीपुरमा पनि नागरिक उन्मुक्ति पार्टीका अध्यक्षका उम्मेदवार चितबहादुर चौधरी अगाडि छन् । दोस्रो नम्बरमा राप्रपाका भीमबहादुर बम छन् । यहाँ पनि गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका बन्सराम बडायक तेस्रो स्थानमा छन् । 

सिंगो कैलालीमा १३ मध्ये तीन तहमा प्रारम्भिक अग्रता लिएको चौधरीको पार्टीका उम्मेदवार केही तहमा भने निकट प्रतिस्पर्धामा छन् । खासगरी थारू बाहुल्य पूर्वी क्षेत्रका पालिकामा यो पार्टीका उम्मेदवारलाई राम्रो मत खसेको प्रारम्भिक नतिजाले देखाउँछ । जानकी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार रहेका कांग्रेसका परशुराम महतोलाई नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरीले झिनो मतान्तरमा पछ्याएका छन् । घोडाघोडी नगरपालिका, कैलारी र बर्दगोरिया गाउँपालिकालगायतमा पनि यो पार्टीको प्रभाव देखिएको छ । 

संविधान जारी हुनुअघि ०७२ भदौमा थरुहट प्रदेशको मागसहित भएको प्रदर्शन हिंसात्मक बनेपछि आठ प्रहरीको ज्यान गएको घटनामा चौधरी आजीवन काराबासको सजाय भोगिरहेका छन् । घटनापछि फरार भएका उनी सोही अवस्थामै कैलाली– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसलगत्तै जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । कानुनी रूपमा आफ्नो नाममा दल दर्ता गर्न नपाएपछि रेशमले श्रीमती रञ्जिता श्रेष्ठको नाममा पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । स्थानीय तह निर्वाचनमा कैलालीका चुरे क्षेत्र र मोहन्याल गाउँपालिकाबाहेक सबै तहमा उक्त पार्टीले उम्मेदवारी दिएको छ ।