१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २९ बिहीबार
  • Sunday, 29 September, 2024
२o७९ बैशाख २९ बिहीबार १८:४४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

१० घण्टा पैदल हिँडेर मतदान केन्द्रमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २९ बिहीबार १८:४४:oo

हुम्लाको ताजाँकोट गाउँपालिका-३ दुर्गम मासपुर गाउँबाट १० घण्टा पैदल हिँडेर ४५ जना मतदाता मतदान केन्द्र  पुगेका छन्। उनीहरू आफ्नो मताधिकारका लागि बिहान ६ बजे घरबाट हिँडेर  दिउँसो ४ बजे मतदान केन्द्र पुगेका हुन्। 

राजनीतिक पहुँच कम भएकाले पायक पर्ने ठाउँमा मतदान केन्द्र नहुँदा गाउँबाट मतदान केन्द्र पुग्न १० घण्टा हिँड्नुपरेको मासपुर गाउँका स्थानीयवासी केशबहादुर रोकायाले जानकारी दिए। अहिलेसम्म आफूहरूको आवाज कसैले पनि नसुनेको रोकायाले दुखेसो गरे। ‘मतदान गर्न दिन खर्चनुपर्‍यो। आज नहिँडे भोट हाल्न भ्याउँदैनौँ’,अर्का स्थानीय सुरबहादुर बुढाले भने। 

कैलाश आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको छ। घरबाट बिहानै हिँडेर बल्ल तल्ल मतदान केन्द्र पुगेको र शुक्रबार बिहान भोट हालेर पर्सी घर फिर्ता हुने बुढाले बताए। 

राज्यले सुनेन हाम्रा कुरा
मासपुर गाउँका ९२ वर्षीय दलवीर रोकायाले गाउँलेका कुरा राज्यले नसुनेको गुनासो गरे। ‘मलाई भोट हाल्ने इच्छा हुँदाहुँदै पनि यो वर्ष भोट हाल्न पाइएन,’ रोकायाले भने। २३ घरधुरी रहेको गाउँको जनसंख्या १०३ छ। गाउँमा मतदान केन्द्र नहुँदा टाढा जान नसकेको उनले बताए।

गाउँकै बानादेव प्राथमिक विद्यालयमा भोट हाल्ने व्यवस्था गरिदिएको भए दिनभरि पैदल हिँड्नुपर्ने बाध्यता नपर्ने उनको भनाइ छ। ०७४ सालको निर्वाचनमा पनि भोट गर्ने मन हुँदाहुँदै मतदान केन्द्रसम्म पुग्न नसकेको र यसपालि पनि जान नसकेको उनले गुनासो गरे।

६१ वर्षका जोख्या बुढा र ७० वर्षीया भिरकला रोकाया, ६० वर्षीय गुरुचन्द बुढालाई बोकेर पनि भोट हाल्न ल्याएको मासपुर गाउँका स्थानीय शिवबहादुर बुढाले बताए।  गाउँमा वृद्धा ९२ वर्षीय दलवीर रोकाया, ७० वर्षीया बेरूकला बुढासहित १० जना मतदाता भोट हाल्नबाट वञ्चित भएको उनले बताए।