मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बीर क्याप्सन : निर्वाचन सामग्रीसहित सोमबार मतदान केन्द्रमा जाने तयारीमा निर्वाचनमा खटिएका कर्मचारी ।
२०७९ बैशाख २८ बुधबार १०:२२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

निर्वाचन सामग्रीसहित दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे कर्मचारी

Read Time : < 1 मिनेट
२०७९ बैशाख २८ बुधबार १०:२२:००

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनाङका मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदल यात्रापछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका हुन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार कर्मचारी र सुरक्षाकर्मीको टोली सोमबार बिहान ५ बजे सदरमुकाम चामेबाट हिँडेर मंगलबार दिउँसो नार्पाभूमिको मतदान केन्द्रमा पुगेका हुन् । मनाङको नार्पाभूमि गाउँपालिकाको पाँचवटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको उनले बताए । 

उनीहरूले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्नेलगायतका गतिविधिहरू गर्नेछन् । मनाङका चारवटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । स्थानीय तहको निर्वाचनका लागि मनाङमा दुई सयभन्दा बढी कर्मचारी र सात सय बढी सुरक्षाकर्मी खटिएका छन् ।

निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ । २८ वडा रहेको मनाङमा प्रत्येक वडामा मतदान केन्द्र छ । मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ । 

मनाङमा नौ हजार मतपत्रलगायत निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको थियो । मतपत्रलाई सुरक्षितसाथ जिल्लाको २८ वटै मतदानस्थलमा पुर्‍याइएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । मनाङमा ६ हजार चार सय ९६ मतदाता छन् । जसमा महिला तीन हजार तीन सय ४८ र पुरुष तीन हजार एक सय ४८ छन् ।