१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Sunday, 29 September, 2024
दार्चुलाको दुहु गाउँपालिका ५ का एमालेका वडा अध्यक्षका उम्मेदवार मानसिंह बडाल । गठबन्धनका कार्यकर्ताकाे कुटपिटबाट घाइते भएका उनको जिल्ला अस्पताल दार्चुलामा उपचार हुँदै ।
नवराज मैनाली काठमाडाैं
२o७९ बैशाख २८ बुधबार o६:२४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्वाचन नजिकिँदै, झडपका घटना बढ्दै 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o६:२४:oo

११ वैशाखदेखि मंगलबारसम्म चुनावी हिंसा तथा दुर्घटनासम्बन्धी १६२ घटना, जसमध्ये ६३ वटा झगडा, विवाद तथा कुटपिटका

झडपका धेरै घटना कर्णाली र सुदूरपश्चिममा 

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न दलका कार्यकर्ताबीच झडपका घटना बढ्न थालेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ११ वैशाखदेखि मंगलबारसम्म मात्रै चुनावी हिंसा तथा दुर्घटनासम्बन्धी एक सय ६२ घटना भएका छन् । जसमध्ये ६३ वटा झगडा, विवाद तथा कुटपिटका छन् । 

सबैभन्दा धेरै झगडा र कुटपिट कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएका छन् । कर्णालीमा २४ तथा सुदूरपश्चिममा १० ठाउँमा झडप भएका छन् । त्यस्तै, प्रदेश १ मा एक, मधेसमा आठ, बागमतीमा सात, गण्डकीमा सात, लुम्बिनीमा ६ घटना भएका छन् । १७ दिनमा तोडफोडका १५, तालाबन्दीका ६, चक्काजाममा तीन र विरोध प्रदर्शनका १६ घटना भएको प्रहरी तथ्यांक छ । चुनावी हिंसामा परी १६ प्रहरी तथा २३ म्यादी घाइते भएका छन् । 

मंगलबार मात्रै तनहुँ, प्युठानलगायत जिल्लामा झडप भएको छ । प्युठानको नौबहिनी गाउँपालिका– ८ फोप्लीमा एमाले र सत्तागठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । जसमा दुईजना घाइते भएका छन् । त्यस्तै, तनहुँमा पनि कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । भिमादमा भएको झडपमा सात घाइते भएका छन् । 

दार्चुलाकाे दुहु गाउँपालिका ५ का नेकपा एमालेका वडा अध्यक्षका  उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले कुटपिट गरेका छन्। मंगलबार साँझ प्रचारप्रसारबाट फर्किने क्रममा उनीमाथि कुटपिट भएको हो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

सोमबार पनि विभिन्न ठाउँमा झडप भएका थिए । रुकुम पश्चिममा एक साताअघिदेखि नै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदै आएको छ । सोमबार दुवै पार्टीका जिल्ला अध्यक्षले चुनावी प्रचारका क्रममा विवाद नगर्न संयुक्त अपिल जारी गर्दासमेत झडप रोकिएन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १० मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार चक्र कुमारीले प्रचारमा प्रयोग गरेका मोटरसाइकल माओवादी कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् ।  

त्यस्तै, मकवानपुरको बकैया गाउँपालिका– ७ कत्लेखोलामा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा माओवादीका दुई कार्यकर्ता घाइते भएका छन् । गाउँपालिकामा पाँच दलीय गठबन्धनबीच तालमेल हुन नसकेपछि सुरूमा छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए । पछि सहमति बनेपछि उम्मेदवारी फिर्ता लिएका थिए । त्यही विषयलाई लिएर गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । 

बुटवलमा वडा नम्बर १२ को अध्यक्षका उम्मेदवार देवीप्रसाद रेग्मीको बा.२०च ६७८५ नम्बरको गाडीमा ढुंगा प्रहार भएको हो । गुल्मीमा कांग्रेसका कार्यकर्ताबाट माओवादी कार्यकर्ता कुटिएका छन् । कालीगण्डकीको पुर्तीघाटमा विवाद हुँदा माओवादीका गाउँपालिका कमिटीका अध्यक्ष लिलबहादुर केसी घाइते भएका छन् । 

दैलेखको आठबिस नगरपालिका– ४ खोलीबजारमा एमालेका उम्मेदवारले भाडामा लिएको बा.१९च ५५७९ नम्बरको गाडीमा आगजनी भएको छ । 

महोत्तरीको रामगोपालपुर– ७ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ । माओवादी कार्यकर्ताले भारतीय नम्बरप्लेटको सवारीसाधन प्रयोग गरेको भन्दै एमाले कार्यकर्ताले तोडफोड गरेपछि माओवादी कार्यकर्ताले पनि एमालेको गाडी तोडफोड गरेका थिए । त्यसपछि भएको झडपमा दुवै पार्टीका कार्यकर्ता घाइते भएका छन् । 

बैतडीमा कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ परेका छन् । डिलासैनी गाउँपालिकामा माओवादीको तर्फबाट उम्मेदवार रहेका लोकेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो । उनले स्थानीय पुचौंडी बहुमुखी क्याम्पसका सहायक प्राचार्य रामदत्त जोशीलाई चुनावकै विषयमा कुटपिट गरेका थिए । 

आइतबार बाराको महागढीमाई नगरपालिका, सुर्खेतको गुर्भाकोट नगरपालिका, पश्चिम रुकुमको मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा झडप भएको थियो । महागढीमाईमा जसपा र कांग्रेसबीच झगडा भएको थियो । गुर्भाकोट– ४ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । मुसिकोट– ८ मा कांग्रेस र माओवादी कार्यकर्ताबीच कुटाकुट भएको थियो । जसमा कांग्रेसका पाँच र माओवादीका तीनजना घाइते भएका थिए । त्रिवेणी– ५ मा चुनाव प्रचारमा हिँडेका कांग्रेस कार्यकर्तामाथि माओवादी कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । 

धेरैजसो झडपका घटना सत्तारूढ गठबन्धनकै दलका कार्यकर्ताबीच भएको छ । २३ वैशाखमा बाजुराको बुढीनन्दा नगरपालिका– ९ पाण्डुसैनस्थित अगाउपानीमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच दिनभर झडप भएको थियो । सो घटनामा १० प्रहरी, कांग्रेसका तीन र समाजवादीका दुई कार्यकर्ता घाइते भए । कुकुरलाई हिर्काएको निहुँमा विवाद बढेपछि समाजवादीका जिल्लासचिव पुरबहादुर रावतमाथि खुकुरी प्रहार भएका थियो । झडप रोक्न प्रहरीले १६ राउन्ड हवाई फायर गरेको थियो । 

त्यस्तै, निर्वाचनविरोधी गतिविधि पनि बढ्न थालेका छन् । स्याङ्जाको भिरकोटमा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार विश्वनाथ अर्यालको घर जाने बाटोमा प्रेसरकुकरमाथि रातो तार र कालो टेप लगाएर राखिएको थियो । सैनिक टोलीले डिस्पोज गरेको छ । सुनसरीको इटहरी– ६ मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले चुनावसम्बन्धी विरोध कार्यक्रमको आयोजना गर्न लागेकोमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । 

केन्द्रीय सुरक्षा समितिले पार्टीका कार्यकर्ताबीच हुने झडपलाई मुख्य सुरक्षा चुनौतीका रूपमा राखेर सुरक्षा रणनीति बनाइएको छ । कुनै स्थानमा ठूला झडप भएमा तत्काल सेना र सशस्त्र प्रहरीसमेत परिचालन गर्ने सुरक्षा योजना छ । 

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी विभिन्न जिल्लामा कार्यकर्ताबीच झडप र कुटपिटका घटना भए पनि अहिलेसम्म ठूला चुनावी हिंसा भने नभएको बताउँछन् । साना झडप रोक्न पनि प्रहरीले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ ।