मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
 टेकराज थामी
२०७५ पौष ७ शनिबार ११:५०:००
Read Time : > 1 मिनेट
फिचर

यसरी गर्न सकिन्छ कालिञ्चोक यात्रा

Read Time : > 1 मिनेट
 टेकराज थामी
२०७५ पौष ७ शनिबार ११:५०:००

काठमाडौंबाट एक सय ३३ किमि पार गरेपछि दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटबाट कालिञ्चोक १७ किमिको दूरीमा छ । सडकमा कुनै अवरोध नआए साढे चारदेखि पाँच घन्टाको यात्रामा कालिञ्चोक पुग्न सकिन्छ ।  सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने दर्शनार्थीको हकमा भने यात्राको अवधि केही घन्टा बढ्न सक्छ ।

किनकि, काठमाडौंबाट कालिञ्चोकसम्म सार्वजनिक सवारीसाधनमा जान सक्ने अवस्था छैन । दर्शनार्थीले चरिकोटसम्म सार्वजनिक यातायातमा जान सक्छन् । त्यहाँबाट बोलेरो रिजर्भ गरी करिब दुई घन्टाको यात्रापछि कालिञ्चोकको बेसक्याम्प मानिने कुरी बजारसम्म पुग्न सक्छन् । त्यसपछि केबुलकारमार्फत कालिञ्चोक भगवतीको दर्शन गर्न सक्छन् । 

काठमाडौंमै केबुलकारको टिकट

करिब ४५ करोड रुपैयाँ लागतमा बनेको केबुलकारमा ४ डिब्बा जडान गरिएको छ । स्विस प्रविधिमा बनाइएको प्रत्येक डिब्बामा १० जनाले एकैपटक यात्रा गर्न सक्छन् । केबुलकारबाट प्रत्येक दिन दुई हजार पाँच सयले मन्दिरको दर्शन गर्न सक्छन् ।  कुरीबाट करिब १ किमि लम्बाइको केबुलकार यात्राका लागि शुल्क भने पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।

वृद्धवृद्धा, स्थानीय र विद्यार्थीले भने २० प्रतिशत छुटमै केबुलकार यात्रा गरी मन्दिर दर्शन गर्न सक्छन् । केबुलकारले प्रत्येक दिन आठ घन्टा नियमित सेवा दिन सक्छ । सञ्चालक कम्पनीका अनुसार केबुलकार यात्राका लागि टिकट काठमाडौंसहित पायक पर्ने सबै ठाउँमा उपलब्ध छ । कम्पनीका अनुसार केबुलकार व्यावसायिक रूपमा सञ्चालन हुन भने अझै केही समय लाग्नेछ ।

केबुलकारको सुविधा

कुरी बजार समुद्री सतहबाट करिब तीन हजार चार सय मिटरको उचाइमा छ । कालिञ्चोक भगवतीको मन्दिर भने ३ हजार ८ सय ४० मिटरको उचाइमा छ । पहाड नचढेका पर्यटकलाई यहाँ लेक लाग्न सक्छ । त्यसो हुँदा कुरीबाट कालिञ्चोक मन्दिर पुग्न पैदलमार्गबाट एकदेखि तीन घन्टासम्म लाग्न सक्छ । तर, केबुलकारमार्फत यात्रा गर्दा कुरीबाट साढे चार मिनेटमै मन्दिर पुग्न सकिन्छ । यसबाट लेक लाग्ने र थकान महसुस हुने समस्याबाट यात्रु मुक्त हुन सक्छन् ।

कुरीमा सुविधासम्पन्न होटेल

कुरीमा साना–ठूला गरी ६० होटेल छन् । केहीबाहेक अधिकांश सुविधासम्पन्न छन् । यहाँका होटेलले एक रातमा तीनदेखि चार हजार पर्यटकलाई सुविधा दिन सक्छन् । वास बस्ने गरी जाने पर्यटकका लागि कुरीका होटेल उपयुक्त हुन सक्छ । पछिल्ला दिनमा बनेका केही होटेल वातानुकुलितसमेत छन् । चिसो मन नपराउने पर्यटकका लागि यी होटेल उपयुक्त हुन्छन् । वास बस्न नचाहने पर्यटक भने त्यहाँबाट फर्कन सक्छन् ।

पर्यटकलाई स्थानीय खानाको स्वाद 

वास बस्ने गरी मन्दिर दर्शन गर्न जाने पर्यकट कुरीमै बस्न सक्छन् । उनीहरूका लागि उपयुक्त वासको व्यवस्था त छ नै, खाना पनि स्थानीय स्वादकै उपलब्ध हुन्छ । होटेलहरूमा स्थानीय चामलकै भात खान पाइन्छ । मांशहारी पर्यटकका लागि भने स्थानीय खसी–कुखुरादेखि चौँरीका परिकारसमेत उपलब्ध छन् । स्वाद फेर्न चाहने पर्यटकले फापर, कोदो, मकै र गहुँको ढिँडो पनि खान पाउनेछन् ।