१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रत्येक अवाले
२०७५ फाल्गुण ३० बिहीबार १०:५२:००
Read Time : > 2 मिनेट
सेयर बजार

प्रोफिट बुक गर्दै लगानीकर्ता बजारमा करेक्सन

Read Time : > 2 मिनेट
प्रत्येक अवाले
२०७५ फाल्गुण ३० बिहीबार १०:५२:००

अघिल्लो दिन २० अंक बढेर बन्द भएको बजार बुधबार १३ अंक घटेको छ । लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजारमा करेक्सन भएको हो । बजार खुलेको केही समयपछि नै ओरालो लागेको बजार, १ हजार १ सय ५५ बिन्दुमा टेवा पाएर उकालो लागेको थियो । सो बिन्दु नेप्सेको ६० दिने मुभिङ एभरेज बिन्दु हो । तर, नेप्से १ हजार १ सय ६६ मा पुगेर पुनः ओरालो लागेको थियो । कारोबारको अन्तिम समयमा भने बजारमा बिक्री चाप बढेपछि नेप्से ओरालो लागेको हो । बजार बढेपछि करेक्सन हुनु सामान्य कुरा हो । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम पनि घटेको छ । मंगलबार कारोबार रकम ५० करोड नाघेको थियो । बजार घटे पनि खरिदबिक्रीको चाप सन्तुलनमा रहेकाले भोलि बजार बढ्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । 

बजार सारांश
नेप्से परिसूचक यस दिन १३ दशमलव १६ अंक घटेर १ हजार १ सय ५० दशमलव १० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ७२ अंक घटेर २ सय ४४ दशमलव ७५ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन १ दशमलव शून्य १ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९१ अंक घटेको छ । यस दिन १ सय ७४ कम्पनीको ६ हजार ४ सय २० पटकको कारोबारमा ४१ करोड ३४ लाख ८८ हजार रुपैयाँबराबरको १४ लाख ४८ हजार ३ सय १ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ५८ दशमलव ४८ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २५ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ७४ कम्पनीमध्ये ३२ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय २८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ४३ दशमलव ३४ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ३६ दशमलव ५८ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ६१ दशमलव ५६ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ७३ दशमलव शून्य २ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

एनसिसीको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ करोड ५ लाख रुपैयाँबराबरको ९५ हजार ९ सय ९७ कित्ता सेयर खरिदबिक्री भएको छ । २२ प्रतिशत बोनस सेयर घोषणा गरेको नागरिक लगानी कोषको यस दिन १ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा यस दिन पनि अपर तामाकोसी अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ६ सय ६० पटक सेयर खरिदबिक्री भएको छ ।

सर्वाधिक कमाउने युनाइटेड फाइनान्स
यस दिन युनाइटेड फाइनान्सको सेयरमूल्य ९ दशमलव ४६ प्रतिशत बढेको छ । त्यसैगरी, यसै हप्ता सूचीकृत भई कारोबार सुरु भएको आशा लघुवित्तको सेयरमूल्य यस दिन ८ दशमलव ७२ प्रतिशत बढेको छ । कारोबारमा आएको हाथवे फाइनान्स र अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ । त्यसैगरी, हिमालयन डिस्ट्रिलरी र नेसनल हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । 

९ समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका १० समूहमध्ये ९ समूहको परिसूचक घटेर रातो भएको छ । वित्त समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको हो । सो समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत बढेर ६ सय ५ दशमलव ८४ बिन्दुमा पुगेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ४२ प्रतिशत घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक यस दिन १ दशमलव ९१ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ७७ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव ६ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ५१ प्रतिशत, जीवन बिमा समूहको १  दशमलव २२ प्रतिशत, विकास बैंक समूहको १ दशमलव २ प्रतिशत र वाणिज्य बैंक समूहको १ दशमलव शून्य ५ प्रतिशत घटेको छ । कारोबारमा आएको अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ३४ प्रतिशत घटेको छ ।