मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ बैशाख २१ बुधबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणको निर्देशनपछि रोसी दुर्घटनाको अनुसन्धान गर्न डिएसपी खतिवडाको नेतृत्वमा समिति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ बैशाख २१ बुधबार १८:१८:००

गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोसी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भारतीय पर्यटक बोकेको मिनी बस र जिप ठोक्किँदा ५ जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । 

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन्। 

काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्री खाणको निर्देशनपछि प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीनसदस्यीय समिति बनाइएको जानकारी दिइन्। उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्। 

गृहमन्त्री खाणले घटनाका घाइतेलाई तत्काल उचित उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको प्रजिअ पाण्डेले जानकारी दिइन्। 

बुधबार मध्याह्न काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको UP58T8181 नम्बरको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नम्बरको सुमो ठक्कर खाँदा दुई महिला, दुई पुरुष र एक बालक गरी ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकाहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।