मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २० मंगलबार १९:०३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हेटौँडामा गठबन्धनको प्रतिबद्धता : सबै वडामा स्वास्थ्यचौकी, खानेपानी निःशुल्क 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २० मंगलबार १९:०३:००

पाँचदलीय गठबन्धनले हेटौँडा उपमहानगरपालिकाका लागि प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले संयुक्त प्रतिबद्धता सार्वजनिक गरेको हो । 

प्रतिबद्धतामा गठबन्धनले मेयर मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँ निर्वाचित भएमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क, वार्षिक ३ सय युनिट विद्युत् निःशुल्क र सबै वडामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा समेटेको छ ।

ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइने मेयरकी उम्मेदवार मीना लामाले घोषणा गरिन् । उनले एक घर एक रोजगारीलाई प्राथमिकता राख्नुका साथै न्यून मध्यम व्यावसायिक कार्यका लागि सीप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

हेटौँडा विकास प्राधिकरण गठन गर्ने र नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ । हरेक वर्ष कम्तीमा ५ जनालाई एमबिबिएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् । 

नगरमा सुविधासम्पन्न सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने गठबन्धनले जोड दिएको छ । भोकाहरूकोे खानाको व्यवस्थापन गर्ने पनि प्रतिबद्धता जनाइएको छ । नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रबर्धन र विकासका कार्यक्रम गर्ने प्रतिबद्धता पनि गठबन्धन दलका उम्मेदवारले जनाएका छन् । नगरस्तरीय नाट्याशाला निर्माण गर्ने योजना पनि गठबन्धनले अघि सारेको छ ।

पत्रकार सम्मेलनमा उपमेयर पदका उम्मेदवार राजेश बानियाँ“ले प्रत्येक वडामा मिनी रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरू निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना अघि सारिएको बताए । 

धार्मिक क्षेत्रहरूको सुधार तथा प्रबर्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैँचा बनाउने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ ।