मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १०:३५:००
Read Time : > 3 मिनेट
विश्व

विश्वका कुन नेताकाे तलब कति ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १०:३५:००

डिसेम्बर पहिलो साता कार्यभार सम्हालेपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रिज म्यानुअल लोपेज ओब्रादोर अर्थात् अम्लोले आफूले पाउने तलबको ६० प्रतिशत रकम नलिने घोषणा गरे । वामपन्थी नेता एन्ड्रिजले तलबबापत मासिक पाँच हजार सात सय सात डलर पाउनेछन् । उनले तलब कटौतीको घोषणा गरिरहँदा कुनै पनि प्रधानमन्त्री वा राष्ट्रपतिले कति कमाउँछ भन्ने महत्वपूर्ण विषय हो । तर, राष्ट्रप्रमुख र सरकारप्रमुखको कुल आम्दानी कति हुन्छ भन्ने थाहा पाउन त्यति सजिलो पनि छैन । किनकि, उनीहरूले तलबभन्दा दोब्बर–तेब्बर रकम भत्तालगायत अन्य शीर्षकमा लिन्छन् ।

 ली सिन लुङ
प्रधानमन्त्री, सिंगापुर
वार्षिक २० लाख अमेरिकी डलर

सिंगापुरका प्रधानमन्त्री ली सिन लुङ विश्वमै सबैभन्दा बढी तलब लिने नेता हुन् । उनले तलबबापत वार्षिक २० लाख डलर लिन्छन् । उनले पाउने सुविधा देशका निजी क्षेत्रमा काम गर्ने व्यक्तिहरूले कमाउनेभन्दा पनि धेरै भएको बताइन्छ । 

डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति
वार्षिक एक अमेरिकी डलर

राष्ट्रपतिमा निर्वाचित हुनुअघि ट्रम्पले तलब नलिने घोषणा गरेका थिए । उनले यो वाचा पूरा गरेका छन् । ट्रम्पले राष्ट्रपतिको तलबबापत बर्सेनि एक डलर लिन्छन् । हर्वट हुवर र जोन अफ केनेडीले पनि ट्रम्पले जस्तै तलब लिएनन् । अमेरिकी राष्ट्रपतिको वार्षिक तलब चार लाख डलर हुन्छ । आफूले प्राप्त गर्ने तलब कसलाई दान गर्ने भन्नेबारे ट्रम्पले गत वर्षको मार्चमा सञ्चारमाध्यमको समेत सुझाब लिएका थिए । 

नरेन्द्र मोदी प्रधानमन्त्री, भारत
वार्षिक दुई लाख ७६ हजार अमेरिकी डलर, मासिक भत्ता आठ सय ८३ अमेरिकी डलर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिवर्ष दुई लाख ७६ हजार डलर लिन्छन् । उनी विभिन्न शीर्षकमा अन्य सुविधा पनि लिन्छन् । मोदीको मासिक भत्ता आठ सय ८३ डलर छ ।

थेरेसा मे
प्रधानमन्त्री, बेलायत
वार्षिक १ लाख ७० हजार अमेरिकी डलर

बेलायती प्रधानमन्त्री थेरेसा मे पनि धेरै तलब लिने नेतामा पर्छिन् । उनले तलबबापत बर्सेनि एक लाख ७० हजार डलर लिन्छिन् । यो रकम जर्मन चान्सलर एन्जिला मर्केलको भन्दा कम हो ।

एन्जिला मर्केल
जर्मन चान्सलर
वार्षिक २ लाख २७ हजार अमेरिकी डलर

जर्मन चान्सलर एन्जिला मर्केल पनि धेरै तलब लिने नेतामा पर्छिन् । उनले वार्षिक दुई लाख २७ हजार डलर हाराहारीमा कमाउँछिन् । 

उदार बन्दै दक्षिण अफ्रिकी राष्ट्रपति साइरिल रामाफोसा
दक्षिण अफ्रिकाका नयाँ राष्ट्रपति साइरिल रामाफोसाले पनि आफ्नो तलबको आधा कटौती गर्ने मनसाय देखाएका छन् । यसको अर्थ एक लाख युरो नेल्सन मन्डेला फाउन्डेसनबाट वितरण हुनेछ । पूर्वव्यापारी तथा दक्षिण अफ्रिकाका धनाढ्य कहलिएका रामाफोसासँग ४० करोड डलर सम्पत्ति छ ।

सि जिन पिङ प्रधानमन्त्री, चीन
वार्षिक २२ हजार
अमेरिकी डलर

चीनका राष्ट्रपति सी जिन पिङको आम्दानी भने अन्य नेताहरूको भन्दा तुलनात्मक रूपमा थोरै छ । सीको वार्षिक तलब २२ हजार डलर छ । 

 भ्लादिमिर पुटिन
रसियाली राष्ट्रपति
वार्षिक एक लाख १२ हजार अमेरिकी डलर

लगातार चौथोपटक राष्ट्रपतिमा निर्वाचित रसियाका वर्तमान नेता भ्लादिमिर पुटिन पनि तलब कटौतीको मामिलामा त्यति उदार छैनन् । खाद्यान्नको चर्को मूल्यवृद्धि र पश्चिमा राष्ट्रहरूको प्रतिबन्धबीच सन् २०१५ मा पुटिनले आफ्नो तलबमा १० प्रतिशत कटौती गर्ने घोषणा गरे । पुटिनले आफ्नो कार्यालयका कर्मचारीलाई पनि यो बाध्यकारी नियम बसालेका थिए । तलबबापत पुटिनले बर्सेनि एक लाख १२ हजार डलर लिन्छन् । पुटिनले सन् २०१७ मा घोषणा गरेको सम्पत्ति विवरणमा उनले सन् २००१ देखि सन् २०१६ को अवधिमा राष्ट्रपतिको तलबबापत ६ लाख ७३ हजार डलर लिएको बताएका थिए । 

यी नेता तलब लिँदैनन्

स्लोभानियाका वर्तमान राष्ट्रपति एन्ड्रेज किसाले आफ्नो आम्दानीको सम्पूर्ण रकम च्यारिटीलाई दिन्छन् । किसा स्लोभानियाकै धनाढ्यमध्येका एक हुन् । धनाढ्य मालिककै पृष्ठभूमिबाट राजनीति प्रवेश गरेका थिए । सन् २०१३ मा स्लोभानियाका राष्ट्रपतिले मासिक नौ हजार डलर पाउँथे । त्यतिवेला यो रकममध्य र पूर्वी युरोपमा नै उच्च थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो तलबको अधिकांश रकम दातृसंस्थालाई उपलब्ध गराएर आफ्ना अग्रजहरूको पथमा हिँडेका छन् । 

कुन नेताले तलब कटाए ?
सन् २०१५ सम्म शक्तिमा रहेका उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिका विश्वकै गरिब राष्ट्रपति कहलिएका थिए । उनले आफ्नो आम्दानीको ९० प्रतिशत रकम गरिबलाई दिएका थिए । त्यतिवेला उनको आम्दानी जम्मा ७५ सय युरो थियो ।

विश्वका अधिकांश नेताले आफूले पाउने तलबको ठूलो हिस्सा नलिने, गरिबलाई दान दिने घोषणा गरेका छन् । तैपनि, उनीहरूले तलबभन्दा बाहिरबाट कति हो कति सुविधा लिएका छन् । ९० प्रतिशत रकम दान दिएका पूर्वराष्ट्रपति मुजिकाले एउटा पुरानो भोल्कवेगन बिटल चढ्थे । राष्ट्रपतिको सरकारी निवासको सट्टा उनी सामान्य झुप्रोमा नै बस्थे । बहालवाला राष्ट्रपति हुँदा पनि फुर्सदको समयमा कुटो–कोदालो लिएर बारीतिर टहलिन्थे । आफ्नै बारीको उन्नत तरकारी तथा सागसब्जी उपभोग गर्थे ।

उरुग्वेकै छिमेकी मुलुक बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरल्सलाई पनि आम्दानी कटौती गर्ने होडले गाँजेको थियो । सन् २००५ मा शक्तिमा पुगेपछि उनले मासिक तलब एक हजार युरो मात्र लिने घोषणा गरे । यद्यपि, निर्वाचन प्रचार अभियानमा उनले तलब नै नलिने वाचा गरेका थिए ।

बोलिभियामा सार्वजनिक क्षेत्रमा काम गर्ने कुनै पनि कर्मचारीले राष्ट्रपतिको भन्दा बढी तलब नपाउने प्रावधान छ । मोरल्सले आफ्नो तलब कटौती गरेसँगै देशभरका सरकारी पदाधिकारीहरूको पनि तलब सुविधा स्वतः कटौती भएको थियो । यसले एउटा वर्गमा चरम असन्तुष्टि निम्त्याएको थियो ।

सन् २०१५ मा ब्राजिलकी पूर्वराष्ट्रपति डिल्मा रुसोफ देशको आर्थिक संकटको मुख्य कारक भएको आरोप लाग्यो । उनी पनि के कम ? डिल्माले सरकारी जागिरमा भारी कटौती गरिन् । देखाउनकै लागि आफैँले पाउने आम्दानीको १० प्रतिशत रकम कटौती गरिन् र वार्षिक ९० हजार डलरमै चित्त बुझाएकी थिइन् ।