१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख १८ आइतबार १५:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख १८ आइतबार १५:२७:००

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अभिव्यक्तिप्रति नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आपत्ति जनाएका छन् । एक सय ३३औँ श्रमिक दिवसको अवसरमा आइतबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् । प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा छापेकाले चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति कसरी मिल्यो भन्ने प्रश्न गरे ।  कुनै नेताविशेष र पार्टीविशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनको भनाइ छ । 

‘लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यावसायिक, दक्ष हुन्छ, त्यति नै लोकतन्त्र सुदृढ हुन्छ । हिजो उहाँले (प्रमुख निर्वाचन आयुक्त) भन्नुभयो, असाध्यै दुःखका साथ मैले भन्नुपर्छ, हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिँदैन भन्नुभयो । त्यही कुरो केपी ओलीजीले बोलिराख्नुभएको छ । केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ,’ नेता पुनले भने, ‘निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरूप्रति हाम्रो आपत्ति छ ।’ 
कुनै नेताविशेष, कुनै पार्टीविशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनको भनाइ छ ।  हरेक व्यक्ति संविधान र कानुनभित्र रहेको उनले बताए । निर्वाचन आयोग रेफ्रिको भूमिकामा रहेकाले आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आमजनताले देख्ने, मतदाताले देख्नेगरी रेफ्रीको भूमिकामा बसिदिन आग्रहसमेत गरे । ‘रेफ्री जति प्रोफेसनल हुन्छ, त्यो खेल त्यति नै फेयर हुन्छ,’ उनले भने ।  

नेता पुनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरूले निष्पक्ष भूमिका खेल्न नसकेको पनि दाबी गरे ।  उनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धिको रक्षापछि गठबन्धनका दलहरू आपसमा प्रतिस्पर्धा गर्ने बताए । उनले  एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोपसमेत लगाए । उनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमाले भित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको बताए । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरूको वैचारिक रूपमा ध्रुवीकरण हुने पनि उनले बताए ।